७ वैशाख २०८१ शुक्रबार
खेल

सेनालाई तेक्वान्दोमा ११ स्वर्ण

इटहरी- नेपाल प्रहरीका निश्चलमान श्रेष्ठ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुँदा स्वास्थ्यले साथ नदेला र खेल्नै नपाइने हो कि भनेर चिन्तित थिए। स्वास्थ्यमा कुनै समस्या नआएपछि उनले स्वर्ण पदक ताकेर पुरुषतर्फको ७४ केजीमुनि तौल समूहमा सहभागी भए। नभन्दै उनले चिताए अनुसार स्वर्ण पदक नै जितिछाडे।

बुधबार सुनसरीको इटहरीमा भएको तेक्वान्दोको फाइनलमा उनले स्वर्ण पदक जिते। उनले छैटौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक नै जितेका थिए। त्यसलगत्तै उनी ढाडको दुखाइले एक वर्ष खेल्न नसक्दा खेल जीवनमै पूर्णबिराम लाग्ने हो कि भनेर चिन्तित भए। तर, पछिल्लो समय उनले नियमित शारीरिक व्यायाम गर्दा ढाडको दुखाइ हट्यो। 'केही वर्षअघि ढाडको समस्याले खेल्नै नसकिने हो कि भन्ने चिन्ताले सताउँथ्यो। तर अहिले कुनै समस्या नआकाले स्वर्ण पदक जित्न सफल भएँ,' उनले भने।

पुरुषतर्फ ७४ केजी तौल समूहमा आर्मीका ज्ञानेन्द्र हमालले रजत पदक पाए। सुदूरपश्चिमाञ्चलका इन्द्रबहादुर सिंह र सशस्त्र प्रहरी एपिएफका भरत बोहराले कांस्य पदक पाए।

तेक्वान्दोमा आर्मीले सबैभन्दा बढी ११ स्वर्ण पदक जितेकोमा पुरुष ८० केजीमुनि तौल समूहमा रामदत्त भट्टले स्वर्ण पदक जिते। यो तौल समूहमा मध्यमाञ्चलका विवेक श्रेष्ठले रजत पदक तथा पूर्वाञ्चलका राजकुमार माझी र मध्यपश्चिमाञ्चलका जयप्रकाश खत्वेले कांस्य पदक पाए।

पुरुष ६३ केजीमुनि तौल समूहमा नेपाल प्रहरीका थीरबहादुर महराले स्वर्ण जिते। पश्चिमाञ्चलका किरणबहादुर आलेले रजक जिते। आर्मीका नौबालक चौधरी र सशस्त्र प्रहरी एपिएफका हिरामान चौधरीले कांस्य पदक पाए।

पुरुष ६८ केजीमुनि तौल समूहमै आर्मीका महमद वैयसले स्वर्ण पदक जिते। नेपाल प्रहरीका जेम्स प्रधानले रजत जिते भने सशस्त्र प्रहरी एपिएफका अनिल मोक्तान र पूर्वाञ्चलका निशान्त श्रेष्ठले कांस्य पदक हात पारे।

बुधबार भएका पाँचवटा इभेन्टमध्ये महिला ७३ केजीमुनि तौल समूहमा आर्मीकी मिरा काफ्लेले स्वर्ण पदक हात पारिन्। पूर्वाञ्चलकी मौसम कार्कीले रजत जितिन् भने मध्यमाञ्चलकी अस्मिता रिजाल तथा सशस्त्र प्रहरी एपिएफकी अप्सरा कार्कीले कांस्य पदक पाए।

प्रकाशित: १४ पुस २०७३ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App