८ वैशाख २०८१ शनिबार
खेल

ब्याडमिन्टनमा आर्मीलाई ६ स्वर्ण

झापा- ६ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थान ओगट्दै विभागीय टोली  त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदअर्न्तगत ब्याडमिन्टनमा बर्चश्व कायम गरेको छ। झापाको काँकडभिट्टामा बुधबार सकिएको ब्याडमिन्टन प्रतियोगितामा ७ स्वर्णमध्ये आर्मी एक्लैले ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्यो। ब्याडमिन्टनको दोस्रो स्थान अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले ओगट्यो। सशस्त्रले १ स्वर्णसहित ४ रजत र २ कांस्य पदक जितेको छ। समान ३/३ कांस्य पदकसहित  सुदुरपश्चिमाञ्चल र विभागीय टोली नेपाल पुलिस संयुक्त रुपमा तेस्रो भएका छन्। क्षेत्रीय टोलीमध्ये पूर्वाञ्चलले एक मात्र कांस्य जित्यो। पश्चिमाञ्चल, मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले पदकविहीन हुँदै सातौं राष्ट्रिय खेलकुदको ब्याडमिन्टन टुंग्याएका छन्।

बुधबार नेपाल आर्मीका रत्नजित तामाङले पुरुष एकलतर्फ आफ्नै क्लबका दिपेश धामीलाई पराजित गर्दै स्वर्ण हात पारे। सुदूरपश्चिमाञ्चलका संजीव खड्का र नेपाल प्रहरीका विष्णु कटुवालले कांस्य पदक पाए। महिला एकलतर्फ आर्मीकी चर्चित खेलाडी नङसलदेवी तामाङले एपिएफकी शिक्षा श्रेष्ठलाई पराजित गरी स्वर्ण जितिन्। आर्मीका अनुमाया राई र अमिता गिरीले कांस्य पदक पाए।

पुरुष डबल्सतर्फको स्वर्ण पनि आर्मीकै खेलाडीले जिते। आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले आर्मीकै दिपेश धामी र सुरोज महर्जनको जोडीलाई पराजित गर्दै स्वर्ण जित्यो। पुलिसका विष्णु कटुवाल र दीपक बोहराको जोडी दोस्रो तथा एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बूको जोडी तेस्रो भयो।

महिला डबल्सतर्फ एपिएफकी पूजा श्रेष्ठ र शिक्षा श्रेष्ठले आर्मीका मेघा चन्द र अनुमाया राईलाई  पाखा लगाउँदै स्वर्ण जिते। सेनाका जेसिका गुरुङ र सुनैना मुखिया तथा नङसलदेवी तामाङ र अमिता गिरीले कांस्य पदक पाए।

मिक्स डबल्सतर्फ पनि आर्मीका दिदीभाइ जोडीले नै स्वर्ण जिते। दिदीभाइ नङसलदेवी र रत्नजितले एपिएफका शिक्षा श्रेष्ठ र सुदीप सेढाईंलाई हराएर स्वर्ण जिते। एपिएफका शोभा गौचन र विजित थापामगर तथा अनुमाया राई र नविन श्रेष्ठको जोडी कांस्यमा खुम्चिए।

प्रकाशित: १४ पुस २०७३ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App