४ वैशाख २०८१ मंगलबार
विचार

कुरा धर्म परिवर्तनको

२०६२।०६३ सालको राजनीतिक आन्दोलनपछि नेपालमा पनि युगौंदेखि रहेको हिन्दुसापेक्ष धर्म विस्थापित गरी धर्म निरपेक्षता कायम गरियो। त्यसपछि देशमा व्यक्ति स्वयंको स्वविवेकले धर्म परिवर्तन गर्न पाउने त उसको अधिकार होला तर अनेक प्रकारका डर, त्रास वा प्रलोभन देखाएर जबर्जस्ती धर्म परिवर्तन गराउने होड नै चलेको छ। खासगरी विपन्न समुदायमा विभिन्न प्रलोभन देखाएर रातारात धर्म परिवर्तन गराउने क्रम चल्दै आएको छ। छोराछोरी पढाइदिने, उपचार गराइदिने, जागिर लगाइदिने जस्ता प्रलोभन गरिब समुदायमा बिक्ने नै भयो। अहिले यही कारण पनि सनातनी धर्मविरुद्ध लाग्ने क्रम दिनानुदिन बढ्दो छ।

हिन्दु धर्म कहिल्यै कठोर थिएन र छैन पनि। न यसले अरुलाई यो धर्ममा ल्याउ भनेर जोड दिएको छ न त जबर्जस्ती गर्ने निर्देशन नै। हिन्दु धर्मको यही उदारपनाको फाइदा उठाएर यतिबेला यो धर्मको उछितो काड्ने काम हुनु दुःखद् छ। आइतबार (हिजो) को मात्र कुरा गर्ने हो भने पनि सरकारले क्रिश्चियनहरुले मनाउने इसाई धर्मका लागि सार्वजनिक बिदा दिएको छ। यसलाई उत्सव मानेर मनाउनेहरुलाई यो बिदाले निकै राहत पुर्‍याएको पनि छ। तर यस्ता विषयमा न हिन्दु धर्मलाई न त यसका अनुयायीहरुलाई नै टाउको दुखाइ छ। जे भएको छ ठीकै भएको छ भन्नेहरु नै यो धर्ममा बढी छन्। त्यसैले पनि यति उदार मन भएको धर्ममाथि अहिले सबैतिरबाट आक्रमण हुनु अर्थात धर्मविरुद्ध विभिन्न भ्रम सिर्जना गर्नु न्यायोचित हुन सक्दैन।

हुन त हिन्दु धर्म पनि विकृतिरहित छैन। जस्तो दान दिने चलनबारे कुरा गरौँ। यो धर्ममा जताजतै दानको महिमा उल्लेख छ तर त्यो गरिब निमुखालाई हैन। मात्र ब्राह्मणलाई, त्यो पनि पुस्तौंदेखि एउटैको परिवारलाई दिनुपर्ने। दिएर कहिल्यै नसकिने। जबकि अन्य धर्म मान्ने मुलुकमा दिइने दान गरिबकेन्द्रित हुन्छन्। त्यसैगरी कतिपय अन्धविश्वासयुक्त परम्परा पनि धर्मकै आडमा मौलाएका छन्। जस्तो– देवीका नाममा दिइने बली। यस्ता कारणले पनि अरु धर्म खासगरी इसाईहरुलाई हिन्दु धर्मविरुद्ध प्रचार गर्न र आफ्नो धर्ममा मान्छे तान्न सहज भएको छ।

संसारका प्रायः देशमा आआफ्नै धर्म छन्। १२ वटा राष्ट्रले बुद्ध धर्मलाई आफ्नो औपचारिक धर्म मानेका छन् भने २५ वटा राष्ट्रले क्रिश्चियन धर्म अंगालेका छन्। त्यस्तै खाडीका ३० राष्ट्र इस्लाम धर्म मान्दै आएका छन्। नेपालमात्र एउटा यस्तो देश हो जहाँ पृथ्वीको जन्मकालदेखि नै हिन्दु धर्म मानिन्छ। त्यसैले यो धर्ममात्र नभएर नेपालको सन्दर्भमा संस्कृति र हरेक नेपालीको रगतसँग जोडिएको सम्बन्धसमेत मान्न सकिन्छ। यही कारण यो नेपालको गौरव पनि हो र विश्वका अरु राष्ट्रभन्दा पृथक विशेषता वा पहिचानयुक्त सवाल पनि हो।

तर अचम्म र चिन्ता यस कुरामा छ कि नेपाल र नेपालीको पर्यायका रूपमा रहेको यो धर्मप्रति यतिखेर चौतर्फी प्रहार भइरहेको छ। आखिर किन? के यो धर्मले अरु धर्मावलम्बीलाई हेपेको छ? के यो धर्मले कसैलाई दुर्व्यवहार गरेको छ? के यो धर्ममा कसैलाई निषेध छ? के यो धर्मले कसैको नाशबिगार गरेको छ? धर्मका नाममा खान पल्केका केही मानिसले चलाएका चलनलाई लिएर यसको कटाक्ष गर्न पाइन्छ? विकृतिलाई भर्‍याङ बनाएर यो धर्म नै नाश हुने गरी वा यसलाई पूरै बेकम्बा बनाउने गरी अभियानकै रूपमा आपराधिक खेल खेल्न पाइन्छ? त्यसैले यतिबेला हिन्दु धर्ममाथि भइरहेको चौतर्फी आक्रमणलाई रोक्नुपर्छ र मुलुकको वैभव बचाउन प्रत्येक सचेत नागरिकले अहं भूमिका खेल्नुपर्छ।  

प्रकाशित: ११ पुस २०७३ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App