६ वैशाख २०८१ बिहीबार
समाज

गाउँ पुगेका सांसदलाई ब्रुसबाङका चेपाङले भने-‘हामीलाई अन्तै सारिदिनुस्’

सांसद पाण्डेसंग बस्ती सारिदिन आग्रह गर्दै ब्रुरसबाङका चेपाङ अगुवा। तस्विर: शंकर श्रेष्ठ

धादिङ–दक्षिणी धादिङको विकट गाउँ ब्रुसबाङका चेपाङले आफूहरुको बस्ती सारिदिन आग्रह गरेका छन्।     पुस्तौंदेखि खानेपानीको चरम समस्या झैल्दै आएको र भूकम्पपछि जमिन चिराचिरा परेर भासिएकोका कारण गाउँमा घर बनाएर बस्न सक्ने अवस्था नभएकोले पानी भएको ठाउँमा बस्ती सारिदिन आग्रह गरेका हुन्।

भूकम्प पछिको अवस्था बुझ्न गाउँ पुगेका सांसद राजेन्द्र पाण्डेलाई चेपाङहरुले हात जोडेरै भने, ‘हामी यहाँ बस्न सक्दैनौं, अन्तै कतै सारिदिनुस्।’ पानी र खेती गर्ने जमिन नभएकोले गाउँमा बस्न नसकिने अवस्था आएको गाउँका अगुवा टेक बहादुर चेपाङले बताए।

जिल्लाको महादेवस्थान गाविसमा पर्ने ब्रुसवाङ गाउँ समुन्द्री सतहको १८ सय ४५ मिटर उचाइमा पर्छ। यहाँ ३५ घरधुरी चेपाङ छन्। गाउँमा खानेपानीको समस्या त छँदैछ स्थानीयलाई मुस्किलले ३ महिना खान पुग्दैन। पानीको एक मात्र मुहान गाउँदेखि दुई घण्टा तल बाङ्कुतिर्को भीरमा छ।

गाउँमा विद्यालय छ पढाउने मान्छे जाँदैनन्। विरामी पर्दा उपचार गर्ने ठाउँ छैन्। टाउको दुख्ने, पखाला लाग्ने जस्ता सामान्य विरामी पर्दा त घरेलु जडिबुटीले नै निको पार्छन्। भीरमा गिठ्ठा खोज्न जाँदा लडेर हात भाँचियो भने पनि कत्तिपय त अझै लोक्ताले बेरेर उपचार गर्न बाध्य छन् ब्रुसबाङका चेपाङ। अगुवा चेपाङ टेक बहादुर भन्छन्, ‘सुविधा नभएकै कारण हाम्रो ज्यान अकालमा जाने भयो, त्यसैले काम गरेर खान मिल्ने र छोराछोरी पढाउन मिल्ने ठाउँमा हामीलाई सारिदिनुस्।’

सरसरती नेपाली अक्षर फुटाउन सक्ने गाउँ कोही छैन । जेनतेन ३ कक्षा पढेकाले पनि राम्रो लेख्न र बोल्न सक्दैनन्। विरामी परेको बेला औषधि उपचार गर्ने ठाउँ नभएपनि सक्दाबेला ज्याला मजदुरी गरेर खाने ठाउँ पनि छैन। हरेका वर्ष कार्तिक देखि पुषसम्म नयाँ खोरिया खनेर मकै खेती लगाउने गरेका पूर्णबहादुर चेपाङले बताइन् ।

‘खोरिया खनेर मकै लगायो, पाक्न आठ महिना लाग्छ, खान तीन महिना पुग्छ म अपाङ्गले कसरी बालवच्चा पालौं,’ गैइच बहादुरले गुनासो पोखे। गैचबहादुर अरुसरह ड्नि सक्दैनन्। दुबै खुट्टा लंगडो छ।

ब्रुसबाङदेखि अर्को गाउँ टाढा भएकाले ज्याला मजदुरी गर्ने ठाउँ पनि छैन। ‘अर्काे गाउँ पुग्न दिनभरजस्तो हिड्नु पर्छ। कुनबेला जाने, कुनबेला काम गर्ने। विहान बेलुका बालबच्चालाई पेटभरी खुहाउन गारो छ’, जुनीमायाँले भपिन्। गाउँमा पानी नभएका कारण खाद्यन्न संकट भोग्नुपरेको छ। उत्पादन भएको अन्नबालीले ३ महिनासम्म जेनतेन पुग्छ। बाँकी ९ महिना सिस्नु, गिठ्ठा, च्याउ, टाँकी र सिस्नु खोजेर पेट भर्ने गरेको जुनीमायाँले सुनाइन्।

स्थानीयको कुरा सुनिरहेका सांसद पाण्डेलाई पूर्व जनप्रतिनिधि सिद्धिबहादुरले ब्रुसबाङको विकल्पमा सुविधायुक्त ठाँउ खोजिदिन आग्रह गर्दै भने, ‘हाम्रो गाउँ सार्न माननीय ज्यूले सहयोग गरिदिनु पर्यो ।’

एकसाता अघि बु्रसवाङवासीले धादिङका सांसदहरुलाई बस्ती सारिदिन माग गर्दै ७ बुँदे मागपत्र बुझाएका थिए । ब्रुसबाङबासीको माग पत्र बुझेका पाण्डेले केही जग्गासहित आवास, शौचालय,  खानेपानी, विजुलीवत्ती, स्कुल र स्वास्थ्य सेवाको व्यवस्था सहित बस्ती स्थानान्तरण गर्न पहल गर्ने बताए। व्रुसवाङ गाँउमा पानी पु¥याउने खर्चले सवै सुविधायुक्त ठाँउमा वस्ती बसाउन सकिने पाण्डेले आश्वासन दिए ।

ब्रुसबाङबासीको समस्या र बस्ती स्थानान्तरण गर्ने विषयमा संसदमा कुरा राख्ने बताए ।     सरकारले उपलब्ध गराउने सेवासुविधाबाट समेत बञ्चित भइरहेका ब्रुसबाङबासीले ढुक्कसंग काम गरेर खान सकिने, विरामी भएको बेला उपचार पाउने र बालबच्चालाई पढाउन मिल्ने (सुविधानयुक्त) ठाउँमा बस्ती सारिदिन सबैसंग गुहार गरिरहेका छन् ।
 

प्रकाशित: २ पुस २०७३ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App