coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्यालय शिक्षा : वातावरणले बिगार

काठमाडौं- राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यस वर्ष चैतमा कक्षा १० को परिक्षा दिने तयारी गर्दैछिन्। तर, उनलाई आफ्नो स्कुलवरिपरिको वातावरणले सताइरहेको छ। स्कुलवरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन्।

'स्कुलभित्र सर–मिसले अनुशासन, नैतिक शिक्षा सिकाउनुहुन्छ,' कुसुमले नागरिकसँग चिन्ता व्यक्त गरिन्, 'तर हाम्रो स्कुलसँगैको तरकारी बजारभित्र र आसपासमा पाइलैपिच्छे मदिरा र चुरोट पसल छन्। त्यहाँ हाम्रो स्कुलका विद्यार्थी पनि जाने गर्छन्।' उनलाई आफू १० कक्षा पास गरेर स्कुलबाट निस्केपछि कतै बहिनीले नराम्रा कुरा सिक्ने त होइन भन्ने चिन्ता छ। कुसुमकी कान्छी बहिनी सपना त्यही स्कुलमा कक्षा ६ मा पढ्दैछिन्।

'सरकारले स्कुलवरिपरि मदिरा, चुरोटजस्ता लागूपदार्थ बिक्री गर्नेलाई कारबाही गर्न नसकेका कारण स्कुले नानीहरू कुलतमा फस्दै गएका छन्,' जानुका नेपाल, प्रधानाध्यापक, नीलवाराही स्कुल।

'यतिमात्र होइन, स्कुलसँगै रहेको नन्दीकेश्वर महादेव मन्दिर परिसरमा मान्छे बसेर तास र जुवा खेल्छन्, चुरोट, गाँजा तान्छन्, स्कुले नानीहरू हेरी बस्छन्', कुसुमले भनिन्, 'प्रहरी अंकलहरूले हाम्रो स्कुलको वातावरण सुरक्षित बनाइदिनुपर्‍यो।'

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ कार्यान्वयनमा ल्याएर स्कुलवरिपरि ५ सय मिटरको दूरीसम्म सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक स्थानमा धूमपान गर्नेलाई सय रुपैयाँ जरिवानासमेत तोकिएको छ। कानुनी व्यवस्था कार्यान्वयन हुन नसक्दा उपत्यकाकै सहरी क्षेत्रमा रहेका सरकारी स्कुलवरिपरिको वातावरण खराब छ।

उपत्यकाका विभिन्न सरकारी विद्यालयमा पुगेर सोधपुछ गर्दा वरिपरिको वातावरण पठनपाठनमैत्री नभएको विद्यार्थीले गुनासो गरे। विद्यालयभित्र शिक्षकले अनुशासन, नैतिक शिक्षा, राम्रो आचरणबारे ज्ञान बाँडे पनि वरिपरिको वातावरण भने नकारात्मक भेटियो।

विद्यार्थीले बाहिरका मान्छे मदिरा सेवन गरेर आई छात्रालाई अश्लील शब्द प्रयोग गरेको गुनासो गरे। कालीमाटीमा रहेको नीलवाराही स्कुलमा कक्षा १० मा अध्ययनरत मनिष राईले स्कुलवरिपरि पर्खाल नहुँदा मदिरा सेवन गरेका मान्छे स्कुलभित्रै आई छात्रालाई अश्लील शब्द प्रयोग गर्ने गरेको गुनासो गरे। 'केही महिनाअघि हाम्रो स्कुलमा प्रहरी अंकलहरूले लागूपदार्थ सेवनविरुद्ध चेतनामुलक कक्षा सञ्चालन गरिरहनुभएको थियो। त्यही दिन तल गाँजा बेच्नेहरूले साना कक्षाका भाइहरूलाई चुरोटमा गाँजा हालेर बेचिरहेको भेटियो,' मनिषले भने, 'पछि प्रहरी अंकलले गाँजा बेच्नेलाई पक्राउ गरे। भाइहरूलाई मिसले सम्झाएर कक्षामा लानुभयो।' उनले थपे, 'साना कक्षाका बहिनीहरूलाई समेत जँड्याहरू स्कुलभित्रै आएर अश्लील शब्द प्रयोग गर्छन्।' नीलवाराही स्कुलको वरिपरि थुप्रै मदिरा तथा चुरोट पसल छन्।

पुतलीसडकको पद्मोदय माविका विद्यार्थीको गुनासो पनि उस्तै छ। नजिकै टुकुचा पुलमुनि रहेको बजारभित्र चुरोट र मदिरा पसल छ। कक्षा ७ देखि माथिका विद्यार्थी त्यहाँ पुग्ने गरेका छन्।

उपत्यकाकै कालीमाटीमा रहेको जनप्रभात, भीमसेनस्थानमा रहेको परोपकार र मध्यबानेश्वरमा रहेको रत्नराज्य माविवरिपरिको वातावरण पनि विद्यार्थीलाई असर पार्ने खालको पाइयो।

नन्दी माविका कार्यालय सहायक सानु तामाङले वरिपरिको नकारात्मक वातावरणले नानीहरूलाई गलत बाटोमा लैजान सक्ने चिन्ता व्यक्त गरे। 'स्कुलवरिपरि पाँच सय मिटरसम्म लागूपदार्थ बिक्रीवितरण गर्न नपाइने, मदिरा पसल राख्न नपाइने नियम पटक्कै पालना भएको छैन,' उनले भने, 'मैले विद्यार्थीलाई धेरैपटक  लखेटेर स्कुलभित्र पठाएको छु।' स्कुल वरिपरिका भट्टीपसल सरकारले 'जसरी भए पनि हटाउनुपर्ने' उनले बताए।

पद्मोदय स्कुलमा भेटिएका नैतिक शिक्षाका विषय शिक्षक नारायण गौतमले कक्षाभित्र विद्यार्थीलाई नैतिक शिक्षा सिकाए पनि विद्यालयवरिपरिको नकारात्मक वातावरणले गलत बाटोमा लाने सम्भावना बढी भएको बताए।

नीलवाराही स्कुलकी प्रधानाध्यापक जानुका नेपालले स्कुलको वातावरण सुरक्षित र स्वच्छ बनाउन लागिपरेको दाबी गरिन्। उनले स्कुलभित्र वातावरण असल भए पनि स्थानीयको असहयोगका कारण वरिपरिको वातावरण बिग्रँदै गएको बताइन्। 'स्कुल परिपरिका मदिरा र चुरोट पसल हटाउन हामीले प्रहरी कार्यालयमै गएर अनुरोध गरेका छौं,' उनले भनिन्, 'तर सरकारले स्कुलवरिपरि मदिरा, चुरोटजस्ता लागूपदार्थ बिक्री गर्नेलाई कारबाही गर्न नसकेका कारण स्कुले नानीहरू कुलतमा फस्दै गएका छन्।'

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सुनील पोखरेलका अनुसार लागूपदार्थ औषध नियन्त्रण ऐन २०३३ ले नाबालकलाई आपराधिक क्रियाकलापमा संग्लन गराए कडा कारबाहीको व्यवस्था गरेको जनाए। ऐनअनुसार शैक्षिक, सामाजिक, सांस्कृतिक संस्थालाई माध्यम बनाई नाबालकलाई लागूऔषध बेचबिखन, सेवन, ओसारपसार तथा सञ्चय गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय वा ५ लाखदेखि १५ लाखसम्म जरिवाना तोकेको छ।

'यसमध्ये पनि विद्यालय केन्द्रित रहेमा अपराधको दायित्व थपिनेछ,' अधिवक्ता पोखरेलले नागरिकसँग भने, 'हाम्रा कानुन, निर्देशिका र नियमहरू अन्तर्राष्ट्रिय स्तरमै निकै राम्रा छन् तर कार्यान्वयन पाटोे कमजोर छ।' उनले थपे, 'कार्यान्वयन गराउने निकाय धेरै भएकाले एकले अर्कालाई थोपरेर जिम्मेवारीबाट पन्छिने गर्नाले समस्या देखिएको हो।'

लागूपदार्थ बिक्री गर्ने गिरोहले स्कुल कलेजकै नानीहरूलाई लक्षित गरी कारोबार गरिरहेकाले प्रहरीले स्कुल केन्द्रित कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले बताए।

'हाम्रो कार्यालयमा पनि विद्यालयवरिपरिको वातावरण निकै नकारात्मक भएको गुनासा आएका छन्,' एसपी कार्कीले भने, 'विद्यालयवरिपरि मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण नियन्त्रण गर्न कार्यक्रम तय भइसकेको छ।'

लागूऔषध नियन्त्रण रणनीति २०६६ अनुसार नेपालमा कडाखाले लागूऔषध प्रयोगकर्ता ४६ हजारभन्दा बढी छन्। प्राप्त तथ्यांकमध्ये तीनचौथाइ हिस्सा २० वर्षमुनिका किशोरकिशोरीको छ।

सबैभन्दा बढी दुर्व्यसनी काठमाडौं उपत्यकामा छन्। त्यसपछि पोखरा र झापामा छन्। विराटनगर, बुटवल, वीरगन्ज, धरान, नेपालगन्जजस्ता सहरी क्षेत्रमा पनि दुर्व्यसनी बढ्दै गएको देखिएको छ।

प्रकाशित: २ पुस २०७३ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App