८ वैशाख २०८१ शनिबार
खेल

रत्नजित र शिक्षा विजयी

काठमाडौं-  नेपालका रत्नजित तामाङबुधबार भारतका अमन कुमारलाई सोझो सेटमा पराजित गर्दै नेपाल इन्टरनेसनल सिरिज ब्याडमिन्टनको क्वार्टरफाइनलपुगेका छन्। शिक्षा श्रेष्ठले एलिना सुल्तानालाई पराजित गर्दै महिला एकलमा क्वार्टरफाइनल स्थान बनाएकी छन्।

पाकिस्तानका मोहम्मद इरफान सैयद भाटीलाई पराजित गरेका रत्नजितले अमनलाई २३–२१, २१–१० को सोझो सेटमा हराएका थिए। अब सेमिफाइनलका लागि रत्नजितले भारतकै सिद्धार्थ ठाकुरसँग प्रतिस्पर्धा गर्नेछन्। सिद्धार्थले भियतनामका क्वाङ हु दङलाई २१–८, २१–१३ को सेटमा हराएर अन्तिम ८ मा स्थान बनाएका हुन्।

यसअघि रत्नजितले ठाकुरविरुद्ध सुखद नतिजा निकाल्न सकेका छैनन्। ठाकुर र रत्नजित दुईपटक आमनेसामने भएका छन्। दुवै भेटमा रत्नजित पराजित भएका थिए। दुबई बिच टाटा ओपन इन्डिया इन्टरनेसनल च्यालेन्ज र सेद मोदी इन्टरनेसनल च्याम्पियनसिपमा भिडेका थिए। यसपल्ट रत्नजितलाई घरेलु मैदानमा ठाकुरसँग बदला लिने राम्रो अवसर जुटेको छ।

‘मैले सोचेजस्तो प्रदर्शन गर्न सकेको छैन तर उनीविरुद्धको पछिल्लो दुई भेटभन्दा यसपालि मेरो मनोबल उच्च छ,’ रत्नजितले भने, ‘घरेलु मैदानमा उनलाई पराजित गर्नेमा म विश्वस्त छु।’

बुधबारै रत्नजितले दिपेश धामीसँगमिलेर पुरुष डबल्समा बंगलादेशका मोहम्मद अनमुल हाक्वे र मोवाज्जम हुसैनको जोडीलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। उनीहरूकोजोडीले पहिलो सेट गुमाए पनि दोस्रो सेटबाट पुनरागमन गरेका थिए। रत्नजितको जोडी १८–२१, २१–१६, २१–६ को सेटमा विजय पाउन सफल भयो। रत्नजित र दिपेशको जोडीले सेमिफाइनल पुग्न पाकिस्तानका रिजवान अजम र सुलेरी कसिफ अलीको जोडीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालका विष्णु कटवाल र दिपेश धामी बुधबार पराजित भएका छन्। विष्णु भारतका अभिषेक एलेगरसँग २१–१६, २१–११ र दिपेश भियतनामका डुक फेट लीसँग २१–१३, २१–१२ को सेटमा पराजित भएका हुन्।

महिला एकलतर्फशिक्षाले एलिना सुल्तानालाई २२–२०, १९–२१, २१–१७ को सेटमा पराजित गरेकी हुन्। एलिनाले पहिलो चरणमा नेपालकी सनैना मुखियालाई सोझो सेटमा पन्छाएकी थिइन्। शिक्षाले अब सेमिफाइनल पुग्न थु लिन नेग्येनसँग प्रतिस्पर्धा गर्नेछिन्।

महिला एकलतर्फ नेपालका नङसलदेवी तामाङ भने पाकिस्तानी मसुर साजदसँग २१–१८, २१–१९ र अमिता गिरी इरानकी अघाई हाजिघा सोराएसँग २१–६, २१–१३ को सोझो सेटमा पराजित भए।

पुरुष डबल्सतर्फको खेलमा इरफान अन्सारी र सन्जिव खड्काको जोडी भारतका अरुण जर्ज र सौरभ शर्माको जोडीसँग २१–९, २१–१० को सेटमा पारजित भयो। विजित थापामगर र विष्णु कटवालको जोडी भियतनामका क्वाङ हु दङ र डुक जियाङ नेग्येनको जोडीसँग २१–१४, २१–१० को सेटमा पराजित भएको थियो।

महिला डबल्सतर्फ भने मेघा चन्द र सुनैनाको जोडी बंगलादेशको अकतार सप्ला र एलिना सुल्तानाको जोडीसँग २१–८, २१–११ को सेटमा पराजित हुँदा भने अमिता र शिक्षाको जोडीले पनि पराजय टार्न सकेन। उनीहरू भारतका अनुष्का पारिख र हरिका भेलुदुर्थीको जोडीसँग २१–७, २१–८ को सेटमा पराजित भए।

महिला एकलमा भियतनामकी थुई लिन्ह ङयुयेन पनि क्वार्टरफाइनल पुगेकी छन्।नेपालकी पूनम गुरुङले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनी स्वतः क्वार्टरफाइनल पुगेकी थिइन्।

प्रकाशित: ३० मंसिर २०७३ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App