coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चर्चमा हमला, २६ ले ज्यान गुमाए

इजिप्टको कायरोमा आइतबार बम विस्फोटमा परेको चर्चको निरिक्षण गर्दै सुरक्षा अधिकारी । तस्बिर ः रोयटर्स

कायरो–  इजिप्टको राजधानी कायरोस्थित मुख्य गिर्जाघर कप्टिक क्रिस्चियन कथेड्रलको हातामा भएको विष्फोटनमा परि कम्तिमा २६ जना मारिएका छन् । आक्रमणले थप ३५ घाइते भएको इजिप्टका प्रहरी अधिकारीले जानकारी गराएका छन् ।
आइतबारको प्रार्थना समयमा मुख्य गिर्जाघरको छेउमा रहेको अर्को गिर्जाघरमा विष्फोट भएको थयो । इजिप्टका ईशाइ अल्पसंख्यकहरु बारम्बार इश्लामवादी लडाकुहरुको निशानामा पर्दै आएका छन् ।

कप्टिक इसाई भनिने उनीहरुको जनसंख्या इजिप्टमा १० प्रतिशत रहेको बताइएको छ र उनीहरुले त्यहाँका शासकबाट तिरस्कार खप्दै आएको बताएका छन् ।
वर्षौँ यताको यो नराम्रो आक्रमण भएको बताइएको छ । इजिप्टमा ८ करोडमा मानिस क्रिस्चियन छन् । सन् २०१३ मा भएको सैन्य ‘कू’ पछि इजिप्टमा हिंसाका घटना बढेका छन् । मुस्लिम ब्रदरहुडका मुख्य नेता मोहम्द मोर्सीलाई अपदस्थ गर्दै वर्तमान राष्ट्रपति अब्देल फताह एल सिसीले शासन सत्ता हातमा लिएका थिए । सेनाको पृष्ठभूमिबाट आएका उनले ‘कू’को बेलामा शान्ति सुरक्षा कायम गर्ने आश्वासन दिएका थिए । तर उनले आफ्नो वाचा पूरा गर्न नसकेको आम नागरिकको आरोप छ ।

आक्रमणको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन तर आइएसले सामाजिक सञ्जालमा आक्रमणको खुशी व्यक्त गरिरहेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मुख्य गिर्जाघर नजिकैको सेन्ट पीटर्स चर्चमा विष्फोटले असर पारेको छ । फोटो र भिडियो दृष्यहरुमा गिर्जाघरको बाहिरी भागमा क्षति पुगेको देखाएको छ ।  आक्रमणकारीले भवनको भित्र नै बम राखेर बिस्फोट गराएको समाचार संस्था एपीले जनाएको छ ।

विष्फोट स्थानीय समय अनुसार बिहान दश बजे भएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार कायरोका खालीद अबदेल अल निरिक्षणका लागि घटनास्थल पुगेका थिए । सेन्ट मार्क्स कथेड्रल देशको अर्थोडक्स चर्चको मुख्यालय हो र पोप टावाड्रोस दोश्रोको बासस्थान पनि ।

शुक्रबार पनि गीजा पीरामीड जाने मुख्य सडकमा भएको विष्फोटनमा परेर ६ जना प्रहरीको मृत्यु भएको थियो । प्रहरी जाँचकेन्द्रमा भएको उक्त आक्रमण कायरोमा ६ महिना यता भएको सबभन्दा घातक आक्रमण हो । हालै गठित लडाकु समूह हाजमले आक्रमणको जिम्मेवारी लिएको छ ।

मर्नेहरुमा महिला र बालबालिका पनि रहेको बताइएको छ । प्रत्यक्षदर्शीले क्षतविक्षत महिलाको शरीर पुलिसले लैजाँदै गरेको देखिएको बताएका छन् ।
एक जना महिलाले बच्चाको ठाउँमा बरु आफू परेको भए हुन्थ्योे भन्ने आसय व्यक्त गरेकी थिइन् ।
‘तिनीहरु भर्खर संसार हेर्दै थिए । उनीहरुको के दोष थियो र यो सजाय खप्नु प¥यो । यो सब हेर्नुभन्दा त उनीहरुसँगै मर्न पाएको भए हुन्थ्यो,’ एक महिलाले बिबिसीसँग भनिन् ।

इजिप्टमा भएका अधिकांश आक्रमण सिनाई प्रान्तमा हुँदै आएका छन् । यो क्षेत्रमा आइएससँग सम्बन्ध जोडिएका विद्रोहीको राम्रो संगठन रहेको छ । तर राजधानी कायरोपनि बारम्बरको आक्रमणको निसाना बन्दै आएको छ ।

 

 

प्रकाशित: २७ मंसिर २०७३ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App