७ वैशाख २०८१ शुक्रबार
विचार

सत्याग्रहको मूल्य

एउटा सत्याग्रहीको तीन साता लामो अनशन समाप्त भयो। धेरैले खुइ्यय सास फेरेका छन्। तर ती बीस–बाइस दिनभित्र पनि पर्दापछाडि अन्धकारमा सत्ताधारीहरूबाटै जेजे षड्यन्त्रात्मक गतिविधि भए भन्ने समाचार आइरहेको छ, त्यो हेर्दा लाग्छ– कतिले सत्याग्रहलाई फगत एउटा असहज नाटकका रूपमा मात्रै लिएका रहेछन्! तर, अलि गहिराइमा हेर्न चाहने र सक्ने जोकोहीले पनि देख्न सक्छ, यो कुनै एकांकी नाटक हैन– पर्दा खसेर सिद्दिने। सत्यप्रतिको समर्पणमा सत्यको आग्रह कहिल्यै सिद्दिँदैन। यथास्थितिप्रतिको असन्तुष्टि र जीवनलाई अझ सुन्दर र परिपूर्ण बनाउने मानिसको चाहना कहिल्यै सिद्दिँदैन। यथास्थितिप्रतिको निषेधभावले इतिहासको हरेक कालखण्डमा नयाँ क्रान्तिकारीहरू जन्माइरहेको हुन्छ। ती कुनै बेला देखिन्छन्, कुनै बेला अदृश्य रहन्छन्। देखिने हुनका लागि धेरै परिस्थितिको आवश्यकता पर्छ। त्योमध्ये एक हो– आफूले सम्मान र माया गर्ने सक्ने कुनै व्यक्तिको उपस्थिति। यतिबेला डा. गोविन्द केसीको उपस्थितिले इतिहासको त्यही आवश्यकता पूरा गरिरहेको छ। उनको उपस्थितिले, उनको सत्याग्रहले नयाँ पुस्ताका क्रान्तिकारीका निम्ति विशाल मैदान तयार पारिदिएको छ। इतिहासमा सम्भि्कन लायक क्रान्तिका नेता, योद्दा र गुरुहरूले निर्वाह गर्ने भूमिका पनि त्यस्तै–यस्तै नै हो। तर, कुनै एउटा युगका क्रान्तिकारी सधैँ 'क्रान्तिकारी' नै रहिरहन सक्दैनन्। समयको प्रवाह र समाजको परिवर्तनसँगै, आफ्ना सोचमा परिवर्तन ल्याउन नसक्ने पुराना 'क्रान्तिकारी'मा त्यो क्रान्ति तŒवको ह्रास हुन्छ र बदलिएको परिस्थितिमा उनीहरू नै यथास्थितिवादी बन्न र देखिन पुग्छन्।

सत्याग्रह कहिल्यै समाप्त हुँदैन। सत्य, न्याय, समानता, प्रगति, स्वतन्त्रताप्रतिको समर्पण हो सत्याग्रह। कहिले अन्त्य हुन्छ र त्यसको? एकचोटि सगरमाथा चढेर कीर्तिमान राख्नेजस्तो कुरा हुँदै हैन सत्याग्रह।

गणतन्त्र प्राप्तिपछि एउटा अचम्मको स्थिति सृजना भएको छ। एकातिर जनताले सगर्व पछ्याउन सक्ने क्रान्तिनायकको अभावमा पीडादायी शून्यता छ अर्कोतिर त्यही शून्यताका कारण विचारविहीनता र अराजकताको अनौठो कोलाहल सुनिन्छ। एउटा अर्थोपिडिक सर्जनले नयाँ क्रान्तिबीजहरूलाई यसरी आकर्षण गर्नुको कारण नेता र गुरुको यो खडेरीमा साँच्चैको सत्याग्रही भएर देखाउन सक्नु हो। उनको वरिपरी ‰याम्मिएका नयाँ पुस्ताका विद्रोहीहरूमा देखिने विशेषताहरू हुन्– ती आमूल परिवर्तनका पक्षधर वा 'र्‍याकडिकल' लाग्छन्, तर तिनको आन्दोलन अहिंसात्मक छ। समयले दिएको सूचनाप्रविधिलगायतका सुविधाका कारण ती विश्वको यथार्थबारे सुसूचित छन्, तर आफ्नो देशको यथार्थबाट पटक्कै अलग्गिएका छैनन्। परम्परागत राजनीतिका खेलाडीका तुलनामा ती पूर्वाग्रहरहित छन् र कुनै बनिबनाउ विचारधाराप्रतिको आस्थामा भन्दा सत्यप्रतिको समर्पणमा बढी लागेका देखिन्छन्। तिनमा आक्रोश छ, तर अनुशासित छन् र बाहिरबाट लादिएको अनुशासनमा भन्दा आफैभित्र सृजित स्वअनुशासनबाट निर्देशित देखिन्छन्। तिनका बीचमा अवसरवादी प्रवृत्तिले पटक्कै प्रवेश पाएको छैन भन्न अहिल्यै नसकिएला, तर झट्ट हेर्दा यी नयाँ पुस्तामा देखिने मूल सकारात्मक प्रवृत्ति भने यिनै हुन् भन्ने मलाई लाग्छ।   

देश अहिले जुन अप्ठेरो ऐतिहासिक चरणबाट गुजि्ररहेको छ, त्यसलाई ध्यानमा राख्दा नागरिकको नयाँ सृजनात्मक आन्दोलनको आवश्यकता देखिन्छ। यस्तो आन्दोलन परम्परागत राजनीतिभन्दा पृथक हुँदामात्र सार्थक हुनसक्छ। चिकित्सा शिक्षा तथा स्वास्थ्यसेवाका विषय त केवल प्रवेशद्वार हुन् नयाँ आन्दोलनका। गोविन्द केसीको सत्याग्रहले नयाँ पुस्ताका क्रान्तिकारीहरूका निम्ति एउटा विशाल संगमस्थल बनाइदिएको हो। उनी नै सधैँभरि यो आन्दोलनका कमान्डर नै रहिरहन्छन् कि रहँदैनन्, समयले देखाउने कुरा हो। तर, उनले बनाइदिएको संगमस्थलमा जसरी युवा पुस्ताका होनहार मानिस जम्मा भइरहेका छन्, त्यसले एउटा बिल्कुलै नयाँ अध्यायको सुरुवातलाई भने जनाउँछ। भ्रष्टाचार, परनिर्भरतालगायत राष्ट्रलाई ध्वस्त पार्न सक्ने सबैखाले विकृति, मूर्खता, अल्पदृष्टि आदिका विरुद्ध अभियानको बीजारोपणमात्रै भएको छ। बारीमा सुकेका ढोडका घोच्ने ठुटाहरूजस्तो लाग्ने बासी क्रान्तिका स्मारकहरू अझै देखिन्छन् समयको जमिनमा। त्यही जमिनमा रोपिएका छन् नयाँ क्रान्तिका यी बीउहरू। तिनै सुकेका ढोडलाई थाक्रो बनाएर यी नयाँ बिरुवा हुर्कने खतरा नभएको हैन। तिनलाई टुसाउनै नदिई उखेल्ने, निमोठ्ने, फ्याँक्ने प्रयत्न पनि  भइरहने छन्। त्यसैले नयाँ पुस्ताका क्रान्तिकारीहरूमा चनाखोपनको अझ बढी आवश्यकता भएको छ।

कुनै पनि परिवर्तनको निश्चित मूल्य हुन्छ। कुनै बेला हजारौँ, लाखौँ मानिसको जीवनको मूल्यमा कुनै 'क्रान्ति' सम्पन्न हुन्छ। तर, त्यो क्रान्तिले सामान्य मानिसको जीवनमा ल्याएको परिवर्तन भने नगण्य हुन सक्छ। कतिपय ठाउँमा त त्यस्ता 'क्रान्ति'पछिको जीवन अझ कष्टसाध्य पनि हुने गरेको छ। यी अत्यन्त महँगा 'क्रान्ति' हुन्। यस्ता महँगा क्रान्तिहरू मानवसमाजले सधैँ थेगिरहन सक्दैन। तिनको तुलनामा आमरण अनशन वा आत्मदाहजस्ता तरिका अहिंसात्मक लागे तापनि तिनको मूल्य भने पटक्कै कम हुँदैन, बरु अझ चर्को हुन सक्छ। अहिंसात्मक क्रान्तिकारीहरूले कस्तो रणनीति अपनाउने भन्ने कुरामा पनि अब सधैँ भन्दा बढी गम्भीर हुनु जरुरी छ। खेलहरूमा समेत एउटै रणनीति अपनाइरहने हो भने एउटा अब्बल टिमलाई अर्को कमजोर टिमले हराइदिन सक्छ। खेल त खेलमात्रै हो, समाजको आमूल परिवर्तनका लागि लड्ने सत्याग्रहीले त यथास्थितिवादीहरूको सातो लिइरहेको हुन्छ। यथास्थितिमा परिवर्तन हुनु भनेको उनीहरूका लागि जीवन–मरणको कुरा हुन्छ। सत्याग्रहीलाई पराजित गर्न आफ्नो चतुर्‍याइँ, धोकाधडी, बलप्रयोग जे गर्न पनि उनीहरू पछि पर्दैनन्। परिवर्तनकामी सत्याग्रहीले सधैँ उही तरिकाको मात्र अभ्यास गरिरहँदा यस्ता प्रगतिविरोधी यथास्थितिवादीहरूले अनेक हथकण्डाको प्रयोग गर्छन् नै। यो आलोकमा हेर्ने हो भने अहिले चर्चामा आएको सरकार र काठमान्डु विश्वविद्यालयको गतिविधि पटक्कै अनौठो लाग्दैन।

आमरण अनशनजस्तो अस्त्र बारम्बार प्रयोग गरिरहने चिज हैन भन्ने कुरामा धेरैको सहमति होला भन्ने ठानेको छु। झन् यति महŒवपूर्ण अन्तिम अस्त्रलाई 'सस्तो' बन्न दिनु त कदापि हुँदैन। जोकोहीले पनि जस्तोसुकै मागका निम्ति आमरण अनशन बस्ने 'चलन' चल्यो भने त्यसले सिंगै समाजका निम्ति अप्ठेरो निम्त्याउने छ। 'सहिद' जस्तो गरिमामय शब्दलाई, 'शहादत' जस्तो महान् अवधारणालाई अचेल राजनीतिका जोकरहरूले कति सस्तो बनाइदिएका छन्, हाम्रै आँखाअगाडि छ। सशस्त्र क्रान्तिको आकर्षणलाई दुरुपयोग गर्दा यही देशमा केके सम्म भयो, हाम्रै आँखाअगाडि छ। अहिंसात्मक सत्याग्रहका तरिकाहरूमा पनि विविधता नल्याउने हो भने, कुनै पनि अब्बल तरिकासमेत पुरानो र निष्प्रभावी हुन सक्छ। गोविन्दका हरेक अनशनलाई पुनरवलोकन गर्दा, अनशन सुरु भएको कति दिनमा राज्यले सम्बोधन गर्न थाल्यो त भनी हेर्ने हो भने त्यो समय झन्झन् ढिलो हुँदै गएको प्रतीत हुन्छ। त्यो समयमा यथास्थितिवादीहरूले केके तयारी गरे त भनी हेर्दा पनि यथार्थ प्रष्ट हुन्छ। त्यसैले फेरि पनि विनम्र अनुरोध गर्दैछु, आमरण अनशनजस्तो अन्तिम अस्त्रलाई सत्याग्रही गोविन्दले बारम्बार उपयोग नगरे हुन्थ्यो। अनुभवले नै देखाएको छ– व्यस्त सडकमा आवागमनसमेत अवरुद्ध नगरी, बाटो फोहोर नपारी, हजारौँको संख्यामा परिवर्तनकामी युवा सडकमा निस्कन सक्दा रहेछन्, आन्दोलनको अभूतपूर्व सभ्य अनुशासित रूपको प्रदर्शन गर्न सक्दा रहेछन्। सूचनाप्रविधिले नयाँ आन्दोनलनका निम्ति अझ ठूलो स्थल सृजना गरिदिएको छ, नयाँ पुस्ताका क्रान्तिकारीहरूमा सृजनात्मकताको प्रशस्त सम्भावना छ।

सत्याग्रह कहिल्यै समाप्त हुँदैन। सत्य, न्याय, समानता, प्रगति, स्वतन्त्रताप्रतिको समर्पण हो सत्याग्रह। कहिले अन्त्य हुन्छ र त्यसको? एकचोटि सगरमाथा चढेर कीर्तिमान राख्नेजस्तो कुरा हुँदै हैन सत्याग्रह। त्यसैले, नयाँ क्रान्तिको अटूट सिलसिलालाई आत्मसात गर्ने हो भने, सत्याग्रहका नयाँ तरिकाहरू नअपनाइ हुन्न। अनशनजस्तो अन्तिम अस्त्रको पुनर्प्रयोगलाई न्यूनीकरण गरौँ। नयाँ पुस्ताका क्रान्तिकारीहरूसामु अनेक चुनौती छन्। तीमध्ये अलि अप्ठेरै चुनौती होला– परिवर्तनको मूल्यलाई कसरी न्यूनीकरण गर्ने काम।

डा. गोविन्द यिनै विषयको वरिपरी हाम्राबीच कुरा हुँदा तपाईंले वचन दिनुभएको थियो 'तपाईंका कुरालाई म गम्भीरतापूर्वक लिन्छु' भनेर। म फेरि आग्रह गर्छु, अझै गम्भीरतापूर्वक लिइदिनुस्। तपाईंलाई माया गर्ने कति धेरै छन्! तपाईंलाई सम्मान गर्ने कति धेरै छन्! मलाई थाहा छ, तपाईं पनि ती सबैलाई उत्तिकै माया र सम्मान गर्नु हुन्छ। त्यो माया र सम्मान अब छर्लंग देखियोस्। सकारात्मक जीवनमुखी परिवर्तनका निम्ति, यो राष्ट्रलाई नै निल्नै आँटिसकेको भ्रष्टाचार र परनिर्भरताविरुद्धको लडाइँ अझ सशक्त बन्नुपर्छ। शारीरिकरूपले पनि तन्दुरुस्त गोविन्दसँग काँधमा काँध मिलाएर अग्रिम मोर्चामा लड्न चाहने धेरै छन्।

प्रकाशित: २४ मंसिर २०७३ ०५:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App