coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पुनर्निर्माण प्राविधिक पुनः आन्दोलित

सिन्धुपाल्चोक-भूकम्पले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको आवास पुनर्निर्माणमा सघाउन खटिएका प्राविधिक माग पूरा नभएको भन्दै दोस्रोपटक आन्दोलनमा उत्रिएका छन्। पूर्ववत ६ बुँदे माग अघि सार्दै उनीहरूले काम ठप्प पारेका छन्।

यसअघि उनीहरू गत भदौ–असोजमा काम ठप्प पारेर झन्डै १० दिन आन्दोलित भएका थिए ।

दुई दिनदेखि आन्दोलित उनीहरूले योपटक पनि माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका हुन् ।

भूकम्पपछिको महŒवपूर्ण चरण पुनर्निर्माणमा खटिने प्राविधिकको माग बेवास्ता गर्दै सरकारले भूकम्पपीडितलाई समेत उपेक्षा गरेपछि बाध्य भएर आन्दोलित हुनुपरेको पुनर्निर्माण इन्जिनियर समितिका जिल्ला अध्यक्ष सुरेन्द्र सुब्बाले बताए । ‘गाउँमा भूकम्पपीडितको जस्तै प्राविधिकको पनि कन्तबिजोग छ,’ उनले भने ।

आन्दोलन घोषणासँगै प्राविधिकले कार्यक्षेत्र छोडेका छन् ।

सिन्धुपाल्चोकको पुनर्निर्माणमा सघाउन तीन सय ६ प्राविधिकको दरबन्दी कायम गरिए पनि सुरुदेखि नै सबै कार्यरत छैनन् । इन्जिनियर, सब–इन्जिनियर र असिस्टेन्ट सब–इन्जिनियर गरी दुई सय ५३ मात्र कार्यरत छन् । बाँकी प्राविधिक अझै पूर्ति हुन सकेको छैन ।

नेपाल इन्जिनियर्स एसोसिएसनको मध्यस्थतामा सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसमेतको त्रिपक्षीय वार्तापछि अघिल्लोपटक आन्दोलन फिर्ता लिएर प्राविधिकहरू काममा फर्केका थिए। प्राविधिकले दिएको कात्तिक मसान्तसम्मको अल्टिमेटममा माग पूरा गर्न एकाइ प्रमुख शिवहरि शर्माले प्रतिबद्धता जनाएका थिए ।

                त्यसको तीन साता बितिसक्दा माग पूरा गर्न चासो नदेखाएकाले फेरि आन्दोलित हुनुपरेको समिति अध्यक्ष इन्जिनियर सुब्बाले बताए । प्राविधिकले भूकम्पपीडितलाई तत्काल पहिलो र दोस्रो किस्ता उपलब्ध गराउन माग गरेका छन् । जिल्लामा झन्डै ८० हजार लाभग्राही रहेकामा करिब पाँच हजारसँग अझै अनुदान सम्झौता हुन सकेको छैन । उनीहरू पहिलो किस्ताको ५० हजार रुपैयाँ पाउनबाट वञ्चित छन् ।

जारी विज्ञप्तिमा पीडितका गुनासा तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराइएको छ । जिल्लामा १५ हजार गुनासा संकलन भए पनि त्यसको सम्बोधन अझै हुन सकेको छैन । गाविसमा तत्काल डकर्मी तालिम सञ्चालन गर्दै भूगोल सुहाउँदो वैकल्पिक अन्य घरका डिजाइन उपलब्ध गराउन प्राविधिकले माग गरेका छन् ।

असारमा करार अवधि सकिएपछि प्राविधिक दुई महिनासम्म बिनानियुक्ति र बिनातलब काम गर्न बाध्य थिए । आन्दोलनपछि बल्ल उनीहरूको करार अवधि थप्दै नियुक्तिपत्र दिइएको थियो । सम्बन्धित गाविसमै कार्यालय खडा गरेर काम गर्ने वातावरण सुनिश्चित हुनुपर्ने भन्दै उनीहरूले पर्वभत्ता, सञ्चार, यातायात खर्च र अतिरिक्त भत्ताको समेत माग गरेका छन् । ‘गाउँमा तलबले खाना खानै पुग्दैन,’ इन्जिनियर सुब्बा भन्छन्, ‘विशेष सुविधा माग गरेका होइनौँ । भौगोलिक दुर्गमताका आधारमा थप सेवा, सुविधा मात्र माग गरेका हौँ ।’

भवन निर्माण तथा सहरी विकास डिभिजन कार्यालयका अनुसार जिल्लामा अहिले एक हजार ६ सय २३ घर निर्माणाधीन छन् । पाँच सय ९३ घर पुनर्निर्माण भइसकेको छ । जमिन तहको संरचना तयार गरेका दुई सय १९ ले दोस्रो किस्ता माग गरेका छन् । प्राविधिकले गाउँ छाडेपछि प्राविधिक परीक्षण रोकिएको छ। डिभिजनका निमित्त प्रमुख इन्जिनियर टंक गौतम प्राविधिकको आन्दोलनले पुनर्निर्माणमा असर पुग्ने बताउँछन् । ‘उनीहरूको माग सम्बन्धित निकायमा जानकारी गराइएको छ,’ उनले भने।

               

प्रकाशित: २२ मंसिर २०७३ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App