८ वैशाख २०८१ शनिबार
समाज

डेढ अर्बमा सिँगारिँदै बागमती किनार

काठमाडौं-अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको किनार सिँगार्न १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्दैछ । प्राचीन सभ्यताको मुहान बागमती वरपरको दुर्गन्धित क्षेत्र सुन्दर बनाउन समितिले यो रकम खर्चिन लागेको हो ।

एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोग र सरकारी लगानीमा पाँचवर्षे ‘बागमती रिभर बेसिन इम्प्रुभमेन्ट प्रोजेक्ट’ अन्तर्गत पहिलो चरणमा गोकर्ण ब्यारेजदेखि सिनामंगल भत्केको पुल सम्म ७.२ किलोमिटर बागमती किनार सुन्दर बनाउन विभिन्न काम भइरहेको समितिका आयोजना उपप्रमुख योगेन्द्र चित्रकारले जानकारी दिए ।

समितिले पहिलो चरणमा गोकर्ण–सिनामंगल क्षेत्रमा बागमती किनार सुन्दर पार्न ठेक्का दिइसकेको छ । ‘बागमती किनार सौन्दर्यीकरणका लागि ठेक्का दिइसकिएको छ,’ उनले भने, ‘काम पनि सुरु भइसकेको छ।’ समिति र ठेकेदार कम्पनी कालिका÷¥याङकिङ÷लामा जेभीबीच कात्तिक १९ गते १ अर्ब ६० करोड रुपैयाँको निर्माण सम्झौता भएको हो ।

आयोजना उपप्रमुख चित्रकारका अनुसार गोकर्ण–सिनामंगल भत्केको पुलसम्म बागमती करिडोरमा सुन्दर बगैंचा, सडक सफाइ,  फुटपाथ, साइकल लेन, रेलिङ, रिटेनिङ वाल, घाट र पौवाका साथै बागमतीमा चेक ड्याम निर्माण गरिनेछ ।

आयोजना उपप्रमुख चित्रकारका अनुसार बागमती तथा आसपास क्षेत्रको सौन्दर्यीकरणसहित नदी दुर्गन्धमुक्त पार्न ढल व्यवस्थापन भइरहेको छ । ‘किनार क्षेत्र सौन्दर्यीकरणसँगै बागमती दुर्गन्धमुक्त गराउन ढल व्यवस्थापन पनि भइरहेको छ,’ चित्रकारले भने, ‘किनार मात्रै सिँगारेर बागमती फेरिँदैन । त्यसैले ढल व्यवस्थापन र पानीको बहाव बढाउन ड्याम निर्माणमा पनि जुटिरहेका छौं ।’

बागमतीमा मिसाइने ढल व्यवस्थापन गर्न समितिले बागमती, धोबीखोला र विष्णुमती किनारमा नदीको समानान्तर ढलको पाइप बिछ्याइरहेको उनले बताए । बागमतीका सहायक नदी मनोहरा र हनुमन्तेमा पनि ढल व्यवस्थापन गर्ने जिम्मेवारी आयोजना कार्यान्वयन निर्देशनालयले लिएको उनले जानकारी दिए । ‘बागमतीको मात्रै ढल व्यवस्थापन गरेर पुग्दैन,’ उनले भने, ‘बागमतीसँगै यसका ७ वटा सहायक नदी सफा नराखेसम्म बागमतीलाई फोहरमुक्त गर्न सकिँदैन ।’

आयोजनाका सिनियर डिभिजन इन्जिनियर प्रभात श्रेष्ठका अनुसार काठमाडौं–नुवाकोट सिमानास्थित ढापमा २४ मिटरको बागमती बाँध निर्माण गरिँदैछ । ढाप बाँधबाट हिउँदमा प्रतिसेकेन्ड ४० लिटर पानी बागमतीमा प्रवाह हुनेछ । बागमती मुहानमा प्राकृतिक विपद्को सूचना दिने उपकरणसमेत जडान गरिने आयोजनाले जनाएको छ ।

पञ्चवर्षीय योजनामा एडिबीले ३ करोड र नेपालले ६० लाख अमेरिकी डलर गरी कुल ३ करोड ६० लाख अमेरिकी डलर लगानी गर्नेछन् । तीन वटा संयन्त्रमार्फत् बागमती रिभर बेसिन इम्प्रुभमेन्ट प्रोजेक्ट सञ्चालन गरिएको छ । सन् २०२१ भित्र योजना सम्पन्न गर्न सरकारले अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सिँचाइ विभाग र जल तथा ऊर्जा आयोगमार्फत् काम गरिरहेको छ।

 

 

 

 

प्रकाशित: २२ मंसिर २०७३ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App