चीनले भारतलाई आफूसँग निहुँ खोज्नु आगोसँग खेल्नुजस्तै घातक हुने चेतावनी दिएको छ।
ताइवानको राष्ट्रिय दिवसका अवसरमा भारतले नयाँदिल्लीस्थित चिनियाँ दूतावासअगाडि शुभकामना पोस्टर टाँगेपछि चीनका विज्ञले त्यस्तो चेतावनी दिएका हुन्।
चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुुसार यस्ता क्रियाकलापले भारत–चीनबीचको सम्बन्ध झन् बिग्रिँदै जाने भएको भन्दै चिनियाँ विज्ञले भारतलाई त्यस्तो मूर्खतापूर्ण व्यवहार नगर्न चेतावनी दिएका हुन्।
ग्लोबलमा प्रकाशित लेखमा चिनियाँ विज्ञले भारतको सत्तारूढ दललाई चेतावनी दिएका छन्, ‘यस्तो मूर्खतापूर्ण व्यवहार गर्न छाड र यसो गर्नु भनेको आगोसँग खेल्नु हो।’
ताइवानले अक्टोबर १० मा राष्ट्रिय दिवस मनाउने गर्छ।
भारतले नयाँदिल्लीस्थित चिनियाँ दूतावास बाहिर ताइवानलाई शुभकामना दिँदै राखेको पोस्टरमा दिल्लीका बीजेपी नेता तेजिन्दर पाल सिंह बग्गाको नाम लेखिएको छ । उक्त पोस्टरको तस्बिर नेता बग्गाले आफ्नो ट्विटरमा समेत पोस्ट गरेका छन्।
प्रकाशित: २५ आश्विन २०७७ ०८:३१ आइतबार