९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘रणनीतिक अस्त्र’ विकास गर्ने उत्तर कोरियाको घोषणा

राजधानी प्योङयाङमा आयोजित सत्तारुढ वकर्स पार्टीको उच्चस्तरीय भेलालाई सम्बोधन गर्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उन। तस्बिर ः एजेन्सी

सोल – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले चाँडै नै आफ्नो देशले नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गर्ने घोषणा गरेका छन्।अमेरिकासँगको वार्ताका क्रममा स्थगन गरिएका पारमाणविक तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणबाट पनि आफ्नो देश पछि हट्ने नेता किमले चेतावनी दिएका छन्।

सत्तारुढ वकर्स पार्टीको नेतृत्वसमक्ष मन्तव्य राख्दै सर्वोच्च नेता किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गरिने बताएका हुन्। यद्यपि उनले वार्ताको ढोका भने खुल्लै रहने र परीक्षणको क्षेत्र अमेरिकाको ‘व्यवहार’ मा भर पर्ने पनि बताएका छन्। किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए। समयसीमा सकिएलगत्तै पुनः अस्त्र निर्माणलाई अगाडि बढाउने उत्तर कोरियाली निर्णयले दुई देशबीचको वार्तालाई प्रभाव पार्न सक्ने विश्लेषकहरुले अनुमान गरेका छन्।

नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गर्नेबारे चेतावनी सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किमले ‘परमाणु निःस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षर’ गरेको विषय खुलाएका छन्।  

अमेरिकी प्रतिक्रिया
नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गर्नेबारे चेतावनी सार्वजनिक भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किमले ‘परमाणु निःस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षर’ गरेको विषय खुलाएका छन्।  संवाददाताहरुसँग फ्लोरिडामा कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ उनी वचन राख्ने मानिस हुन्।’ किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्। ‘यदि किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचन भंग गरे भने त्यो एकदमै निराशाजनक हुन्छ,’ सिबिएससँग कुराकानी गर्दै विदेशमन्त्री पोम्पेओले बताए।

उनका अनुसार कोरियाली प्रायद्वीपमा ठूला सैन्य अभ्यास नगर्ने ट्रम्पको सहमतिपछि नेता किमले अस्त्र परीक्षण नगर्ने वचन दिएका थिए। ‘हामीले आफ्नो वचन राखेका छौं। उनले पनि आफ्नो वचन राख्छन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।

दुई परम्परागत शत्रु राष्ट्र संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच पहिलो पटक सन् २०१८ को जुन १२ का दिन पहिलो शिखर बैठक भएको थियो। सिंगापुरमा सम्पन्न भएको सो बैठक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच पहिलो शिखर बैठक थियो। तसर्थ उक्त बैठक आफैंमा ऐतिहासिक थियो।

सिंगापुर बैठकका बेला उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि आफू अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताउँदै क्षेप्यास्त्र तथा अस्त्र परीक्षण कार्यलाई रोक्ने बताएका थिए। त्यसपछि उत्तर कोरियाले आफ्नो प्रमुख आणविक परीक्षण केन्द्र ध्वस्त गरेको भन्दै केही तस्बिर पनि सार्वजनिक गरेको थियो। सिंगापुर बैठकपछि उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन।

पहिलो शिखर बैठक सकारात्मक भए पनि भियतनामको राजधानी हनोईमा सम्पन्न दोस्रो शिखर बैठक भने सौहार्दपूर्ण हुन सकेन। हनोई बैठकमा उत्तर कोरियाले आफ्नो देशमाथिको सबैखाले प्रतिबन्ध हट्नुपर्ने माग अघि सारेको थियो। अमेरिकाले भने उत्तर कोरियाको आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य नभएसम्म उसविरुद्धका प्रतिबन्ध कायम नै रहने जिकिर गरेको थियो। प्योङयाङले सिंगापुर बैठकको मर्मअनुसार आफूले प्रमुख आणविक परीक्षण केन्द्र ध्वस्त पनि गरेको र आणविक परीक्षण तथा लामा दूरीका क्षेप्यास्त्र परीक्षण पनि नगरेकाले आफूविरुद्धको प्रतिबन्ध हट्नुपर्ने जिकिर गरेको थियो। प्रतिउत्तरमा अमेरिकाले भने प्योङयाङले सबै आणविक कार्यक्रम नत्यागेसम्म उसविरुद्धको कुनै पनि प्रतिबन्ध हटाउन नसकिने दाबी गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

त्यसयता अमेरिका र उत्तर कोरियाबीच औपचारिक वार्ता हुन सकेको छैन। यद्यपि गत अप्रिल महिनामा उत्तर कोरियाका सर्वोच्च नेता किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए। प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति ट्रम्पले एउटा ट्विटमार्फत् नेता किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए।

उत्तर कोरियाले सन् २०१९ को उत्तरार्धमा विभिन्न क्षेप्यास्त्रको परीक्षण गरेको थियो। अमेरिकालाई वार्ताका लागि दबाव दिन उत्तरले त्यस्ता परीक्षण गरेको आंकलन गर्ने गरिएको छ। पारमाणविक अस्त्र र अमेरिकासम्म मार हान्ने क्षमता भएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण स्थगन गर्ने उत्तर कोरियाको निर्णय अमेरिकासँग वार्ता गर्ने एउटा प्रमुख आधार थियो। उत्तर कोरियाले गरेको नयाँ घोषणाले दुई परम्परागत शत्रु राष्ट्रबीचको वार्ताको भविष्य झनै चोटिलो बनेको विश्लेषकहरुले बताएका छन्।

के भने नेता किमले ?
अंग्रेजी नयाँ वर्षको पहिलो दिन पार्टीको बैठकमा बोल्दै नेता किमले उत्तर कोरियालाई अस्त्र परीक्षण स्थगन गर्ने आफ्नो घोषणा पालना गरिराख्न कुन बाध्यता नभएको बताए। अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यासलाई निरन्तरता दिएकाले उत्तर कोरियाले अस्त्र परीक्षणसम्बन्धी निर्णय एकतर्फी रूपमा कायम राख्नु आवश्यक नभएको उनको तर्क भएको राज्य सञ्चालित समाचार संस्था केसिएनएलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

पार्टी नेतासामु मन्तव्य राख्दै नेता किमले ‘संसारले निकट भविष्यमै नयाँ रणनीतिक अस्त्र देख्ने’ चेतावनी पनि दिए। यद्यपि उनले त्यसबारे विस्तृत विवरण भने दिएनन्। यो समयमा उत्तर कोरियामा विरलै सत्तारुढ पार्टीको भेला आयोजना हुने गरेको छ। पार्टीको भेलापछि उत्तर कोरियाले चेतावनीयुक्त भाषा प्रयोग गरेको हो। यसअघि नववर्षको बेला नेता किमले शुभकामना मन्तव्य राख्ने गरेका थिए तर यो वर्ष उनले देशले नयाँ ‘रणनीतिक अस्त्र’ निर्माण गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: १७ पुस २०७६ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App