११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकासँग युद्धको सम्भावना नरहेको इरानको भनाइ

चिनियाँ समकक्षी वाङ यीसँग शुक्रबार बेइजिङमा भेट गर्दै इरानी विदेशमन्त्री मोहम्मद जाभाद जारिफ । तस्बिर: एजेन्सी

तेहरान – अमेरिका र इरानबीच तनाव बढिरहेकै बेला तेहरानले मध्यपूर्वमा युद्धको सम्भावना नरहेको बताएको छ । खाडी क्षेत्रमा युद्ध होलाजस्तो आफूलाई नलागेको इरानी विदेशमन्त्रीले शनिबार बताएका छन् । उनले इरानले युद्ध नचाहेको बताउँदै कुनै पनि देश आफूहरुसँग आमनेसामने हुनेमा कुनै भ्रम नभएको बताएका छन् ।

राज्य संचालित समाचार एजेन्सी आइआरएनएले जनाएअनुसार विदेशमन्त्री मोहम्मद जाभाद जारिफले इरान र अमेरिकाबीच युद्ध हुने सम्भावना नरहेको प्रष्ट पारेका हुन् । ‘खाडी क्षेत्रमा युद्ध हुँदैन किनभने न त हामी युद्ध चाहन्छौं न नै अन्य कुनै देशले इरानसँग युद्ध हुन्छ भन्ने भ्रम पालेका छन्,’ बेइजिङ भ्रमण अन्त्य गर्नुपूर्व विदेशमन्त्री जारिफले समाचार एजेन्सी आइआरएनएसँग बताए । ‘वास्तविकता के हो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आधिकारिक रूपमै युद्ध नचाहेको बताइसकेका छन् तर उनी वरपर रहेका मानिसले उनलाई इरानविरुद्ध बलियो बन्नु छ भने युद्धमा जानुपर्छ भनेर उचालिरहेका छन्,’ जारिफलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

विदेशमन्त्री जारिफले गत महिना पनि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारको चाहनामा ट्रम्पले इरानविरुद्ध युद्ध छेड्न सक्नेतर्फ रोयटर्ससँग अनुमान गरेका थिए । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पनि गत मंगलबार संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय तनाव बढिरहेको भए पनि दुई देशबीच युद्ध नहुने बताएका थिए ।

वासिङ्टन र तेहरानबीच पछिल्लो समय तनाव बढिरहेको छ जसले गर्दा अमेरिका–इरान युद्ध हुनसक्ने भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएका छन् । खाडी क्षेत्रमा चारवटा टेल ट्यांकरमा आक्रमण भएपछि यसै साताको सुरुवातमा इराकको बग्दादस्थित दूतावासमा रहेका आफ्ना कर्मचारीलाई अमेरिकाले फिर्ता लगेको छ । इरानको आणविक कार्यक्रम रोक्ने र उसविरुद्ध लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने उद्देश्यसहित विश्वका छ शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका, चीन, रुस, बेलायत, फ्रान्स तथा जर्मनी र इरानबीच सन् २०१५ मा आणविक सम्झौता भएको थियो । अमेरिकाका तर्फबाट तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो सम्झौतामा हस्ताक्षर गरेका थिए । तर सुरुदेखि नै सो सम्झौताको विरोध गर्दै आएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सो सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए ।

राष्ट्रपति ट्रम्पले सन् २०१५ को सो सम्झौता धोखा भएको भन्दै नयाँ सम्झौतामा जोड दिँदै आएका छन् । सन् २०१५ को सो सम्झौताअनुसार इरानले आफ्नो युरेनियम प्रशोधनको कार्यलाई रोक्ने र त्यसको बदलामा उसविरुद्ध लागेको प्रतिबन्ध हटाउने विषय समावेश गरिएको थियो । अमेरिका सम्झौताबाट बाहिरिए पनि अन्य राष्ट्रहरु भने सो सम्झौतामा नै अडिग रहेको बताउँदै आएका छन् । इरानले भने सन् २०१५ को आणविक सम्झौताका केही बुँदा वा पक्षलाई आफूले तोडेको घोषणा गरिसकेको अवस्था छ ।

आणविक सम्झौताबाट बाहिरिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध पुनः प्रतिबन्धको घोषणा गरेका थिए । इरानले गर्दै आएको तेल निर्यातलाई शून्यमा पु¥याउनु अमेरिकी प्रतिबन्धको प्रमुख उद्देश्य रहेको बताइएको छ । वासिङ्टले इरानलाई नयाँ सम्झौताका लागि बाध्य बनाउन पनि प्रतिबन्धको सहारा लिइरहेको बताइएको छ । इरानले सीमामा हुने हतियार व्यापार नियन्त्रण गरोस् भन्ने अमेरिकी इच्छा रहेको छ भने उसको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई पनि अमेरिकाले लक्षित गर्ने गरेको छ । इरानले भने अमेरिकी आरोप अस्विकार गर्ने गरेको छ ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०४:०४ आइतबार

युद्ध तनाव