१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी

बेइजिङ  – संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष व्यापक कमी आएको छ। उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहँदै आएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो। तर सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमपछि चीनले पनि राष्ट्रसंघीय प्रतिबन्धलाई आत्मसात गरेको थियो।

व्यापारमा प्रतिबन्ध लागेसँगै सन् २०१७ को तुलनामा गत वर्ष द्विपक्षीय व्यापारमा करिब ५३ प्रतिशतले कमी आएको बताइएको छ।  उत्तर कोरियाबाट चीनतर्फको आयातमा पनि सन् २०१८ मा ८८ प्रतिशतले कमी आएको  उल्लेख गरिएको छ। सरकारी विवरण अनुसार उत्तर कोरियाबाट सन् २०१८ मा करिब २१ करोड अमेरिकी डलरबराबरका सामानमात्र आयात भएको छ। भन्सार प्रशासनका प्रवक्ता ली कुवेनका अनुसार चीनबाट उत्तर कोरियातर्फको निकासीमा पनि ३३ प्रतिशतले कमी भई दुई अर्ब १८ करोडमा सीमित भएको छ। 

चीन र उत्तर कोरियाबीचको व्यापारका सन्दर्भमा हामीले सुरक्षा परिषद्को प्रस्तावलाई कडाइका साथ लागू गरेका छौं,’ लीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। व्यापार प्रतिबन्धका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रमुख मुद्रा आर्जनमा समस्या झेल्नु परेको छ। उत्तर कोरियाले खासगरी कोइला र अरु खनिज पदार्थ, माछा र कपडा निकासी गर्ने गरेको छ। निर्यातमा आएको कमीका कारण उत्तर कोरियाको अर्थतन्त्रमा जटिलता उत्पन्न भएको बताइन्छ। सन् २०१७ मा उत्तर कोरियाको समग्र अर्थतन्त्र ३ दशमलव पाँच प्रतिशतले खुम्चिएको थियो। 

उत्तर कोरियाको अर्थतन्त्रमा गम्भीर असर परेको विगत दुई दशकमै यो पहिलो पटक हो। अर्थतन्त्रको प्रक्षेपणलाई दक्षिण कोरियाको केन्द्रीय बैंकले समेत पुष्टी गरेको छ। दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका अनुसार, उत्तर कोरियाको खानी उद्योगमा सन् २०१७ मा ११ प्रतिशतले कमी आएको छ जबकी सन् २०१६ मा यसको वृद्धि ८ दशमलव चार प्रतिशत थियो। औद्योगिक उत्पादनमा पनि गत वर्षको ४ दशमलव ८ प्रतिशतको वृद्धि खुम्चिएर ६.९ प्रतिशत भएको छ। कृषि र माछापालनमा पनि १.३ प्रतिशतले कमी आएको छ। 

चीन र रुस दुवैले प्योङयाङमाथि लागेका राष्ट्रसंघीय प्रतिबन्धमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन्। वासिङ्टनले भने उत्तर कोरियाले आणविक हातहतियार निर्माणलाई तत्काल बन्द गर्नुपर्ने शर्त राखेको छ। गत साता उत्तर कोरियाली नेता किम जोङ उनले चीनको चौथो पटक भ्रमण गरेका थिए।

उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा गर्न एवं बहुप्रतीक्षित अमेरिका–उत्तर कोरिया शिखर वार्तामा सहमति जुटाउन भ्रमण उपलब्धिमूलक रहेको बताइएको छ।

 

प्रकाशित: १ माघ २०७५ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App