बालबालिकाको कुपोषण सुधारको लागि स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले धेरै कार्यक्रम ल्याएका छन्। बर्सेनी ठूलो धनराशी कुपोषण सुधारको क्षेत्रमा खर्च गरिए पनि बालबालिकाको कुपोषण दर भने घट्न सकेको छैन।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांकअनुसार ०७५/०७६ मा २ सय ७३ जना २ वर्षमुनिका बालबालिका कुपोषित थिए। आव ०७६/०७७ मा २ सय ५६ बच्चाहरूमा कुपोषण देखिएको थियो। ०७७/०७८ मा २ सय २५ बालबालिकामा कुपोषण देखिएको तथ्यांक छ। यो आर्थिक वर्षको पहिलो चार महिनामै ७८ जना बालबालिका कुपोषित भेटिएका छन्।
संघीय संरचनापछि स्थानीय तहले नै कुपोषण घटाउन कार्यक्रम गरिरहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले बताए। अझै पनि पाखुराको जाँच लिने क्रममा कुपोषित बालबालिकाहरू भेटिरहेका छन्। स्थानीय तहहरुसँग मिलेर विभिन्न संघसंस्थाले पनि पोषण सुधारको लागि काम गर्दै आएका छन्। पोषण सुधारको उपलब्धी भने शून्यप्रायः छ।
ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्। स्थानीयस्तरमा चेतनाको कमी र गरिबीले सिगास, पुर्चौडी र जिल्लाको दक्षिणी क्षेत्रलगायत अधिकांश क्षेत्रमा कुपोषित बालबालिकाको संख्या बढी छ। गर्भवती हुने बेलादेखि नै स्वास्थ्य संस्थामा पहुँच नपुग्नु पोषिलो खाना नपाउँदा यस्तो समस्या आएको स्वास्थ्यकर्मी बताउँछन्।
घरमै उपलब्ध हुने पोषिलो खाना नखाएकै कारण शारीरिक वृद्धि विकास हुन नसकेको स्वास्थ्यकर्मी बताउँछन्। ‘जिल्लाका धेरै ठाउँमा अण्डाको लागि कुखुराका चल्ला वितरण गरिएका छन्,’ सिगास गाउँपालिका–६का पदम रोकायाले भने, कुखुरा नै मारेर खान थालेपछि अण्डा कहाँबाट खान पाउनु।’ विकट क्षेत्रका बालबालिकामा कुपोषण हुनु गरिबी नै मुख्य कारण देखिएको छ।
बिहान–बेलुकाको दुई छाक टार्नसमेत समस्या भएपछि पोषिलो खानेकुरा खुवाउन समस्या भएरै नै यस्तो समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। ‘बिहानदेखि अबेर रातीसम्म खेतबारीमा काम गर्न जानुपर्छ,’ सिगास गाउँपालिका–५ का सुरेन्द्र साउँदले भने, ‘बालबालिकालाई रोटी र बासी भात राखेर घरमै छोड्नुपर्ने बाध्यता छ। पोषिलो खाना खान चाडपर्व फर्कनु पर्छ।’
पोषणबारे चेतनाकै कमी स्थानीयको बानी व्यवहारमा सुधार आउन सकेको छैन। स्थानीयस्तरमा उपलब्ध गेडागुडी, साग तरकारी मिसाएर खुवाउन सिकाए पनि व्यवहारमा थोरैले मात्र उतार्ने गरेका छन्। पोषणको बारेमा जानकारी पाएकाहरुले नै व्यवहार परिवर्तन गर्न सकेका छैनन्।
भौगोलिक रूपमा विकट अधिकांश क्षेत्रमा खान नपुग्ने र खान पुगे पनि खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडेको पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँरले बताए। ग्रामीण क्षेत्रमा खाना पोषिलोभन्दा पनि छाक टार्नका लागि खाने गरेका छन्। बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।
प्रकाशित: २० आश्विन २०७८ १०:२१ बुधबार