वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले रिले अनसन सुरु गरेका छन्। संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसन सुरु गरेको हो। प्रतिष्ठानका उपकुलपतिको कार्यालयअघि आधा दर्जन फ्याकल्टी, विद्यार्थी र कर्मचारीहरु अनसनमा छन्। प्रतिष्ठानमा बेथिती, अनियमितता बढेको भन्दै यहाँका चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले सुद्धिकरण गर्ने लक्ष्य राखेर संयुक्तरुपमा आन्दोलन सुरु गरेको २ साता पुग्न लागेको छ।
बिहान ८ बजेदेखि उपकुलपति कार्यालय अघि हरेक दिन विरोध सभा र र्याली गर्दै आइरहेको संयुक्त संघर्ष समितिले समस्या समाधानमा पदाधिकारीहरु उदासिन रहेको भन्दै आन्दोलनलाई थप कडा बनाउदै लगेको जनाएको छ। रिले अनसनबाट पनि पदाधिकारीहरु नसच्चिए आमरण अनसन र सामुहिक राजिनामा दिनेसम्मको कार्यक्रमहरु रहेको संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले जानकारी दिए। ‘वीपी प्रतिषठन सुदृढिकरण र सुधारको लागि हामी कति प्रतिवद्ध र समर्पित छौं भनेर देखाउन रिले अनसन गरेका हौं। यसले पनि भएन भने आमरण अनसनमा जान्छौं, र सामुहिक राजिनामा दिन्छौं,’डा.पोखरेलले भने।
संघर्ष समितिले हिजो आइतबार पदाधिकारीहरुले प्रयोग गर्दै आएको प्रतिष्ठानको गाडीको चाबी जफत गरेको थियो। प्रतिष्ठानको हितमा उचित तरिकाले गाडीको प्रयोग नगरेकोले रोक लगाएको संघर्ष समितिको भनाई छ। अब पदाधिकारीहरुले प्रयोग गर्ने गाडीमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम लेख्ने सहसंयोजक डा.पोखरेलले बताए। ‘वीपीको सबै गाडीमा वीपी प्रतिषठन लेखिएको छ, तर पदाधिकारीहरु चढ्ने गाडीमा लेखिएको छैन। रातो नम्बर प्लेट छ, र उहाँहरुले जुनसुकै तरिकाले प्रयोग गरेपनि मुल्यांकन हुदैन,’उनले भने,‘अब सचेत गराउन सबैले देख्ने गरेर वीपी प्रतिष्ठान लेख्नुपर्ने बनाउछौं। सार्वजनिक ठाउँमा जादा पनि लामो समय पार्किङ हुँदा सर्वसाधारणले प्रश्न उठाउने ठाउँ हुन्छ। अनियमितता र दुरुपयोग रोकिन्छ।’
प्रतिष्ठानको अनियमितताबारे अख्तियारमा ध्यानाकर्षण गराएको भन्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरीले काठमाडाैंबाट नै चिकित्सकलाई स्पष्टीकरण पत्र काटे पछि आन्दोलन चर्किएको हो। उपकुलपति डा.गिरीले वार्ता समिति गठन गरेपनि पुर्णअधिकार नदिएको भन्दै संघर्ष समितिले औपचारिक वार्ता गरेको छैन। धरान नागरिक दबाब समुह र विभिन्न ९ राजनीतिक दलले शुक्रबार विज्ञप्ती जारी गर्दै उपकुलपतिलाई ३ दिन भित्र प्रतिष्ठानमा आएर अबिलम्ब वार्ता गर्न चेतावनी दिइसकेको छ।
प्रकाशित: १४ असार २०७८ ०७:४२ सोमबार