coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव

बुटवलको कोभिड अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन अभावकै कारण अस्पतालले बुधबार साँझदेखि कोरोनाका थप बिरामी भर्ना लिन सकिरहेको छैन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र उसले सञ्चालन गरेको धागो कारखानाको कोभिड विशेष अस्पतालमा अक्सिजनको चरम अभाव भएको हो ।

यी दुई अस्पतालमा अहिले १ सय १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीबाहेक प्रादेशिक अस्पतालमा अन्य रोगका गम्भीर बिरामी पनि छन् । अक्सिजनको अभाव हुँदा ती बिरामी जोखिममा परेका हुन् । भर्ना भएका बिरामीका लागि अहिले दैनिक ६ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तर अस्पतालमा पुगनपुग ३ सय सिलिन्डर अक्सिजन आपूर्ति भइरहेको छ ।

अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले अक्सिजन स्टक सकिन लागेपछि त्यसको व्यवस्थापनका लागि पहल भइरहेको बताए । ‘बुधबार रातिदेखि नै हामी निकै तनावमा छौं । हामीसँग भएको अक्सिजनको मौज्दातले दिँउसोसम्मलाई थेग्ला । स्थिति नाजुक छ तत्कालै जसरी पनि अक्सिजनको व्यवस्थापन गर्नु पर्नेछ,’ डा. पाठकले भने । अक्सिजन व्यवस्थापनका लागि डा. पाठकसहितको टिमले रातभर नसुतेर सरकार, सम्बन्धित निकाय, उद्योग, सप्लायर्स र संघसंस्थासँग हारगुहार गरे पनि भरपर्दो व्यवथापन हुन नसकेको प्रादेशिक असपतालका स्टोर प्रमुख रुपलाल पन्थीले बताए । दैनिक ६ सय सिलिन्डर अक्सिजनको माग छ तर अपूर्ति जम्मा ३ सयको हाराहारीमा हुँदा अक्सिजनको चरम अभाव भएको स्टोर किपर पन्थीले बताए ।  

केही दिन अघिदेखि नै प्रदेश र स्थानीय सरकारसमक्ष अक्सिजन आपूर्ति सहज बनाउन माग गरिए पनि सुनुवाइ नभएको उनले जानकारी दिए । यहाँका मन्त्री, मुख्यमन्त्री, नगरपालिकाका मेयर सबैलाई जानकारी छ । दुई÷तीन दिनअघि नै अक्सिजन आपूर्ति सहज बनाउन प्रदेश र स्थानीय सरकारसँग माग गरेका हौं तर खै त सुनुवाइ नै भएको छैन,’ पन्थीले भने ।  

यो अस्पतालमा हाल शंकर अक्सिजन, लुम्बिनी अक्सिजन र एचओ अक्सिजन उद्योगबाट अक्सिजनको आपूर्ति भइरहेको छ । तर ती उद्योगले माग अनुरुप अक्सिजन आपूर्ति गर्न सकिरहेका छैनन् । पछिल्लो समय विभिन्न संघसंस्था र स्थानीय तहले समेत अक्सिजन स्टक राखेर घरघरमा अक्सिजन पुर्‍याउने काम गर्दा स्वास्थ्य संस्थामा अक्सिजन र सिलिन्डर अभाव भएको अक्सिजन सप्लायर्सहरूको भनाइ छ ।

प्रादेशिक अस्पतालका प्रमुख पन्थीले बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंकको नाममा अक्सिजन स्टक राखिरहँदा बुटवलकै कोभिड अस्पतालमा भने अक्सिजन अभाव भएर बिरामी जोखिममा परेको बताए । कोरोना अस्पतालका चिकित्सकले पनि स्थानीय सरकार र विभिन्न संघसंस्थाले क्षणिक प्रचार र प्रशंसाका लागि भन्दा संक्रमितको हितमा प्रभावकारी र बहुउपयोगी योजना ल्याउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित: २५ वैशाख २०७८ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App