काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर प्रयोग भइरहेको प्लाज्मा थेरापीमार्फत गरिने उपचारले कोरोना संक्रमण निको पार्छ कि पार्दैन भन्ने कुरा अझै निक्र्योल हुन सकेको छैन । उपत्यकाभित्रका कोभिड अस्पतालमा उपचाररत बिरामीमा प्लाज्मा थेरापी र रेमडिसिभिर औषधि प्रयोग गरिएकाले कुनको प्रभाव परेको हो भन्ने अवस्था प्रष्ट नरहेको चिकित्सकले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालले हालसम्म ५ जनामा प्लाज्मा थेरापी तथा पाँचैजनालाई रेमडिसिभिर औषधि पनि दिइएको थियो । प्लाज्मा थेरापी दिइएका ५ जना ६० वर्षमुनि र ३० वर्षमाथिका थिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जनामा दिइएकामध्ये १ जना निको भएका थिए भने दुईजनाको मृत्यु भएको थियो । अन्य बिरामी पनि थेरापी लिने प्रक्रियामै छन् ।
शसस्त्र प्रहरी बल कोभिड अस्पतालले हालसम्म ४ जनामा यो थेरापी दिएकोमा एकको मृत्यु भएको र बाँकी निको भई घर फर्केको अस्पतालले जनाएको छ । थेरापी लिनेमा ३५,५४ र य ५९ र ६६ वर्षका थिए । मृत्यु हुनेमा ६६ वर्षका पुरुष थिए ।
त्यसैगरी, शुक्रराज सरुवा रोग अस्पताल टेकुले हालसम्म ४ जनामा प्लाज्मा थेरापी दिएको छ । उनीहरू सबै ४० वर्षमाथिका हुन् । तीमध्ये दुईजना निको भइसकेका छन् भने बाँकी दुईजनाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । प्लाज्मा थेरापी दिइएका तीनजनालाई रेमडिसिभिर पनि दिइएको उनले जानकारी दिए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा. विमल पाण्डेले बताए ।
त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ जनालाई प्लाज्मा थेरापी दिइएको छ । थेरापी लिएकामध्ये दुईजनाको मृत्यु भएको र एकजना निको भएको अस्पतालका कोभिड–१९ संयोजक डा. विमल पाण्डेले बताए । थेरापी लिनेमध्ये दुईजना गम्भीर भइसकेपछि अन्य अस्पतालबाट रेफर भई आएका थिए र उनीहरूमा उच्च रक्तचाप तथा मधुमेह थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार कति जनामा प्रयोग भइसकेको छ भन्ने विषयमा यकिन तथ्यांक संकलन भइसकेको छैन । तर अनौपचारिक रूपमा केही दिनअघिसम्म देशभरिमा ५० जनामा यो थेरापी प्रयोग भएको जानकारी पाएको परिषद्का अनुसन्धान विभाग प्रमुख डा. मेघनाथ धिमालले बताए ।
रेमडिसिभिर र प्लाज्मा थेरापी दुवै औषधि प्रयोग भएकाले थेरापीको प्रभावबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरिरहेको अनुसन्धानपछि मात्र यकिन हुने शिक्षण अस्पतालका कोभिड–१९ संयोजक डा. दासले बताए । तर अस्पतालको अनुभवमा गम्भीर चरणमा जानुअघिका बिरामीमा यो थेरापी प्रयोग गरेमा अहिलेसम्म सकारात्मक परिणाम आएको उनले बताए । नयाँ रोग र नयाँ थेरापी भएकाले सुरुमा संक्रमण फैलिएका देशमा बिरामी गम्भीर अवस्थामा पुगेपछि मात्र प्रयोग हुँदा कम सफलता भएको विभिन्न अध्ययनले आंैल्याएको उनले बताए ।
त्यसैगरी, उपत्यकाबाहिरका अस्पतालले कसलाई कुन समयमा यो थेरापी दिने भन्नेबारेमा सही क्लिनिकल छनोट नहुँदा पनि परिणाम राम्रो आउन नसकेको बताउँछन् । दासका अनुसार यो थेरापी दिनुअघि शरीरमा अक्सिजन घट्न थालेपछि दिइहाल्नु पर्छ । तर पुरानो फोक्सोका रोगी, मिर्गौला, कलेजो तथा क्यान्सरका बिरामीमा थेरापी दिए पनि लाभ मिल्ने सम्भावना अत्यन्त कम हुने डा. दास बताउँछन् । उनी भन्छन्, ‘फिजिसियनले थेरापी दिनुअघि बिरामीको विभिन्न पक्षको क्लिनिकल अध्ययन राम्रोसित गर्नुपर्छ,’ उनले भने । अन्य रोगले पहिल्यै विभिन्न अंग बिग्रिसकेकालाई दिए पनि लाभ नपुग्ने उनी बताउँछन् । ‘प्लाज्मा थेरापीले मुख्य रूपमा लाभ दिने भनेको कोभिडको निमोनियामा हो,’ उनले भने ।
शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता डा. बाँस्तोलाले प्लाज्मा थेरपाीको नियमअनुसार मात्र बिरामीमा प्रयोग भएको र यसको परिणाम कुन रूपमा जान्छ भन्ने बेला अहिल्यै नभएको बताए । ‘ प्रोटोकोलअनुसार कोभिड १९ भएर अक्सिजन घट्न थालेपछि दिने हो,’ उनले भने ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड–१९ संयोजक डा. विमल पाण्डेका अनुसार दुवै औषधिको सँगै प्रयोग भएकाले यसको सफलता या असफलता भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको बताए । अनुसन्धानकै अवधिमा रहेको यो थेरापी दिँदा प्लाज्मामा एन्टिबडीको मात्रा कति छ भनेर पनि हेरिनु पर्छ । जुन हेर्ने व्यवस्था अहिलेसम्म नेपालमा छैन । अस्पतालमा प्लाज्मा थेरापी दिएर मृत्यु भएका दुईजना बिरामी गम्भीर भएपछि अन्यत्र अस्पतालबाट रेफर भएर आएको हुँदा सुरुमै थेरापी दिन नपाएको उनले बताए ।
डा.पाण्डेका अनुसार नेपालमा यो थेरापी अनुसान्धनकै क्रममा रहेको र अमेरिकन फुड एण्ड ड्रग एसोसिएसनले पनि यस थेरापीबारे यकिन सुझाव दिन नसकेको अवस्था रहेको बताए । ‘यो थेरापीले गम्भीर अवस्थामा पुगिसकेका बिरामीलाई फाइदा नमिल्न सक्छ,’ उनले भने ।
चिकित्सकका अनुसार प्लाज्मा थेरापीले पनि रगतको अन्य तत्व चढाउँदा जस्तै साइड इफेन्ट (असर) हुन सक्छ । त्यो कारण पनि कतिपय बिरामीको मृत्यु हुनसक्छ । रगत दिँदा कतिपय बिरामी एन्फाइलोरिसिस रियाक्सन भएर र कतिपय गलत रगत(मिसम्यच)को कारणले बिरामीको मृत्युसमेत हुन्छ । यसरी मृत्यु हनेमा १ देखि २ प्रतिशत हुन्छन् । रगत दिँदा जस्तै कोभिडका बिरामीमा पनि शरीर चिलाउने, शरीरमा दाग आउने, जस्ता एलर्जी हुनसक्छ । कतिपय अनुसन्धानका अनुसार प्लाज्मा थेरापीले ५७ प्रतिशत कोभिडका बिरामीको मृत्युदर घटाउँछ ।
स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान विभाग प्रमुख डा.धिमालका अनुसार परिषद्ले प्लाज्मा थेरापीको अनुसन्धान गरिरहेको छ । यो थेरापीको प्रभाव अनुसन्धान प्रक्रियापछि मात्र भन्न सकिनेछ । हाल नेपालभरका २२÷२३ वटा अस्पतालले यो थेरापीको सुुरु गरिसकेका छन् । यो थेरापी १८ वर्षमाथि, अन्य गम्भीर दीर्घरोग नभएकालाई दिइन्छ भने कोरोना संक्रमण भई निको भएको ६० दिनभित्रका, कोरोना पोजिटिभ भई नेगेटिभ देखिएका दाताले दिएको प्लाज्मा मात्र दिन मिल्छ ।
४४ हजार नाघे संक्रमित थप १४ को निधन
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ महिलासहित थप १४ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ । पछिल्लोपटक मृत्यु हुने महिला काठमाडौंकी ८२, ६७ र २२ वर्षीया र चितवनकी ३५ वर्षीय छन् । मृतक पुरुषमा सप्तरीका ५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, रसुवाका ३१ वर्षीय, कास्कीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रूपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय छन् । मृत्यु दर हालसम्म कुल संक्रमितमध्ये ०.६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै बढी संख्या हो । त्यसमध्ये सबैभन्दा बढी काठमाडौंमा ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । थपसहित नेपालमा कुल संक्रमित संख्या ४४ हजार ३ सय ३६ पुगेको छ ।
शुक्रबार सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४ सय ५४ जना संक्रमित भएका छन् भने उपत्यकाबाहिर सबैभन्दा बढी चितवनमा ८२, सर्लाहीमा ८०, मोरङमा ७६, बाँकेमा ४८, महोत्तरीमा ४६, रूपन्देहीमा ४४ र धनुषामा ४३ जना संक्रमित भएका छन् ।
गत २४ घण्टामा थप १३ सय ५४ जना निको भएका छन् । यीसहित नेपालमा संक्रमितमध्येमा २५ हजार ५ सय ६१ जना अर्थात् ५८ प्रतिशत निको भएका छन् । हाल नेपालभरमा १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्येमा १० हजार ९ सय ४२ जना संस्थागत आइसोलसेनमा र ७ हजार ४ सय ६२ जनाको होम आइसोलेसनमा छन् । गम्भीर समस्या भएका १ सय ५१ जनाको आइसियुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । शुक्रबार सबैभन्दा बढी सक्रिय संक्रमित बाग्मती प्रदेशमा ७ हजार ८ सय ९० र प्रदेश २ मा ४ हजार ५ सय ९ जना छन् ।
गत २४ घण्टामा १३ हजार ६ सय ३८ वटा आरटिपिसिआर विधिवाट नमुना परीक्षण भएको छ । योसहित नेपालमा कुल परीक्षण ७ लाख ४५ हजार ४ सय ९० पुगेको छ ।
प्रकाशित: २० भाद्र २०७७ ०२:४८ शनिबार