८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

यसकारण शिशुलाई ६ महिनासम्म आमाकै दूध चुसाउनुपर्छ

शिशुलाई स्वस्थ राख्न ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्नेमा पोषणविद्ले जोड दिइरहेका छन् । तर पछिल्लो समय नेपालमा यसो गर्ने आमा घट्दै गएको पाइएको छ । 

‘विश्व स्तनपान सप्ताह–२०७७’ का अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले यस्तो अवस्था औंल्याएको हो ।  

पछिल्लो अध्ययन–२०१६ अनुसार काठमाडौं उपत्यकामा ६ महिनाभित्रका शिशुलाई स्तनपान गराउने आमा ६६ प्रतिशत, २ वर्षसम्म स्तनपान गराउने ८८ प्रतिशत छन् भने देशभरमा स्तनपान गराउने आमा ९९ प्रतिशत छन् । सरकारले सन् २०३० सम्ममा ६ महिनासम्म लगातार स्तनपान गराउने आमाको संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।  

विज्ञका अनुसार आमाको दूधमा जस्तो प्रतिरक्षा क्षमता विकास गर्ने तत्व बट्टाका दूधमा पाइँदैन । यसकारण हरेक आमाले आफ्ना शिशुलाई ६ महिनासम्म आफ्नो मात्र दूध चुसाउने र ६ महिनापछि अन्य पौष्टिक खानेकुराका साथ २ वर्षसम्म स्तनपान गराउनुपर्छ । 

पछिल्लो समय महिला कामकाजी भएकाले बच्चालाई पूरा अवधि  स्तनपान गराउने चलनमा असर परेको पोषण शाखाका प्रमुख केदारराज पराजुलीले बताए । उनका अनुसार कामकाजका लागि महिला घरबाहिर निस्कने क्रम बढेकाले बच्चाले पूरा ६ महिना आमाको दूध खान वातावरण बन्न नसकेको हो ।  

बच्चा ६ महिना नपुग्दै आमा जागिर तथा व्यवसायमा जाने गरेकाले स्तनपानको सट्टा कृत्रिम दूध तथा खानेकुरा दिने क्रम बढेको अध्ययनले औंल्याएको छ ।  

पोषणविद्का अनुसार जन्मेको ६ महिनासम्म आमाको मात्र दूध खुवाउनाले शिशुको शरीरमा रोगसित लड्ने प्रतिरक्षा शक्ति बलियो हुन्छ भने २ वर्षसम्म स्तपान गराए बालबालिकाको मस्तिष्क र शरीर राम्रोसँग विकास हुन पाउँछ । साथै आमाको दुध राम्रोसित खान पाएका शिशु अकालमै मर्ने सम्भावना पनि कम हुन्छ । अझ शिशु जन्मिनेबित्तिकै आमाको बिगौती दूध खुवाउनु स्वास्थ्यका लागि निकै प्रभावकारी हुने विज्ञ बताउँछन् ।  

विज्ञका अनुसार आमाको दूधमा जस्तो प्रतिरक्षा क्षमता विकास गर्ने तत्व बट्टाका दूधमा पाइँदैन । यसकारण हरेक आमाले आफ्ना शिशुलाई ६ महिनासम्म आफ्नो मात्र दूध चुसाउने र ६ महिनापछि अन्य पौष्टिक खानेकुराका साथ २ वर्षसम्म स्तनपान गराउनुपर्छ । अनि मात्र बालबालिका स्वस्थ हुन्छन् ।  

तथ्यांकअनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्र स्तनपान  गराउने महिलाको संख्या ५५ प्रतिशत, शिशु जन्मेको ३ महिनासम्म आफ्नो मात्र दूध खुवाउनेको संख्या ७२ प्रतिशत छ । तर कहिल्यै शिशुलाई स्तनपान नगराउनेको संख्या पनि १ प्रतिशत छ ।  

नेपालमा पछिल्लो समय शल्यक्रिया गरेर शिशु जन्माउने कारण पनि स्तनपान गराउन नसकेको र कृत्रिम दूध खुवाउने आमाको संख्या बढ्दै गएको परिवार कल्याण महाशाखाले जनाएको छ ।  

प्रकाशित: २० श्रावण २०७७ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App