८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

तनहुँमा विदेशबाट फर्किएका ४ सय १० जना

दुलेगौँडा(तनहुँ)- विश्वव्यापी संकट निम्त्याएको कोरोना भाइरसको संक्रमणको डरले तनहुँमा चार सय बढी विदेशबाट फर्किएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँका अनुसार हालसम्म चार सय १० जना विदेशबाट फर्किएकाको तथ्याङ्क संकलन भएको छ।

जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिकामा एक सय छ जना विदेशबाट आएको छन्। त्यस्तै, भिमादमा एक सय एक, व्यासमा ४५ र भानुमा १३ जना  विदेशबाट आएका हुन्। गाउँपालिकातर्फ  ऋषिङमा ७५, म्याग्देमा २५, देवघाटमा २०, आँबुखैरेनीमा १२, बन्दीपुरमा १० र घिरिङमा २ जना रहेका छन्।

यी सबैको स्वास्थ्य परीक्षण गरिएको जनस्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले बताए। ‘सबैको स्वास्थ्य अवस्था नर्मल पाइएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीको सम्पर्कमा रहनेगरी होम क्वारेन्टाइनमा राखेका छौँ।’ यहाँका जनप्रतिनिधि विदेशबाट आएकाहरुको तथ्याङक संकलनमा खटिएका छन्।

जिल्लाका प्रत्येक वडामा कम्तीमा दश शैयाको क्वारेन्टाइन बनाइने भएको छ। जिल्लाका दश स्थानीय तहमा ८५ वडा छन्। नोबेल कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जिल्लाका प्रत्येक वडाका सामुदायिक तथा संस्थागत विद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको छ। समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) समेत स्थानीयस्तरमै उत्पादन गर्ने निर्णय भएको बताए। ‘कोरोनाको शंकास्पद बिरामीको स्वास्थ्य परीक्षण गर्दा चिकित्सकलाई आवश्यक पीपीई बजारमा छ। स्थानीयस्तरमा उत्पादन गर्ने निर्णय भएको छ’, उनले भने।

शुक्लागण्डकीले मजदुरलाई खाद्यान्न सहयोग गर्ने
ज्याला मजदुरीबाट दैनिकी गुजारा चलाएका विपन्न वर्गलाई यहाँको शुक्लागण्डकी नगरपालिकाले सहयोग गर्ने भएको छ। कोरोना भाइरस (कोभिड–१९) को सक्रमण फैलन नदिन सरकारले गत मंगलबारदेखि एक हप्ताका लागि मुलुक लकडाउन गरिएको छ। लकडाउनको समयमा काम गर्न नपाउँदा भोकै बस्नुपर्ने अवस्थाका मजदुरलाई खाद्यान्नको व्यवस्था गर्ने प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताए।

शुक्लागण्डकीमा बसेर मजदुरी गर्दै आएकालाई तत्काल जीवन निर्वाहका लागि चामल, दाल र नुन उपलब्ध गराउने उनको भनाई छ। ‘लकडाउनको बेला भोकै रहेका मजदुरलाई नगरपालिकाले खाद्यान्न सहयोग गर्दछ’, उनले भने। खाद्यान्न वितरणका गर्न वडा कार्यालयले ज्यालादारीमा काम गर्ने मजदुरको विवरण संकलन गर्दैछ। तत्काललाई प्रकोप व्यवस्थापन कोषबाट खाद्यान्नका सामग्री सहयोग गरिनेछ। उक्त कोषमा १० लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७६ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App