हाड जोर्नी, पत्थरी, दाँत र जटिल खाले गर्भवतीको सुरक्षित अप्रेसनसहितको उपचार सेवामा कहलिँदै आएको सदरमुकाम गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा मृगौलाको उपचार सेवा पनि सुरु भएको छ। ‘हेमो डाईलासिस’ उपचारका लागि ४ शैय्यासहितको ५ वटा यन्त्र उपकरण जडान गरेसँगै अस्पतालले मृगौला रोगको उपचार गर्न थालेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाका अनुसार डाईलासिसका लागि जडान गरिएका ५ वटा यन्त्र उपकरण मध्ये एउटा ‘व्याकअप’को रुपमा राखेर बाँकी ४ वटाबाट एकैचोटी ४ जनाले उपचार सेवा पाउन सक्नेछन्। अस्पतालको मुख्य भवनको पहिलो तलाको उत्तरतर्फका २ कोठालाई ‘हेमो डाईलासिस उपचार कक्ष’ बनाइएको छ भने त्यसैसँगै जोडेर भवनको खाली बरन्डाको छतमा ट्रस प्रविधिको कोठा बनाएरर यन्त्र उपकरण राखिएको छ।
डा. झाका अनुसार डाईलासिस सेवा सुचारु गर्नका लागि आवश्यक यत्र उपकरण खरिद र व्यवस्थापन गर्न संघीय सरकार तथा स्थानीयतहहरुले सहयोग गरेका छन। जिल्लाका ८ वटा स्थानीय तहमध्ये त्रियुगा, कटारी र चौदण्डीगढी नगरपालिका तथा रौतामाई र ताप्ली गाउँपालिकाले धेरथोर सहयोग गरेको झाले बताए। उनका अनुसार संघीय स्वास्थ्य मन्त्रालयले दिएको ८५ लाख रकमबाट डाईलासिस गर्ने यन्त्र उपकरण खरिद गरिएको छ। ट्रस कोठा निर्माण गर्न लागेको १० लाख त्रियुगा नगरपालिकाले बेहोरेको हो भने कटारी, चौदण्डीगढी र ताप्लीबाट प्राप्त ३–३ लाख तथा रौतामाईले दिएको २ लाखबाट अन्य बन्दोबस्तीका सामान खरिद गरिएको छ।
अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले हाललाई अस्पतालकै जनशक्तिलाई प्राविधिक तालिम दिएर डाईलासिस सेवा सुरु गरेको बताए। उनका अनुसार अस्पतालका ३ जना प्राविधिकलाई मृगौला उपचारसम्बन्धी तालिम लिन पठाएर दक्ष बनाई सेवामा खटाइएको छ। हाललाई तालिम प्राप्त जनशक्तिबाट काम चलाउँदै जाने अस्पतालले छिट्टै मृगौला रोगको उपचार गर्ने दक्ष डा. को व्यवस्था गर्न प्रदेश र संघीय स्वास्थ्य मन्त्रालयसँग माग भईरहेको खनालले बताए।
मंगलबार आयोजित एक कार्यक्रममा उदयपुर १ का संघीय प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री डा. नारायण खड्काले हेमो डाईलासिस सेवाको उद्घाटन गरे। डा. खड्काले जिल्लावासी नागरिकले सानोदेखि ठुलोसम्मका रोगको उपचार जिल्लाबाटै पाउने अधिकारको ग्यारेन्टी गर्न आफू सक्दो लागी पर्ने प्रतिबद्धता जनाए। मृगौला उपचार सेवाको निरन्तरताका लागि आवश्यक यन्त्र उपकरण र बजेटको व्यवस्था मिलाउन पहल गर्ने वचन दिँदै डा. खड्काले जनतालाई सहज र सुलभ उपचार सेवामा खट्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे।
कार्यक्रममा प्रदेश सांसदहरू सम्झना पाख्रीन, रामकुमार खत्री, गीता रेग्मी र लिला राई तथा त्रियुगा नगरप्रमुख बसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईलगायतले अस्पतालको विकास र उपचार सेवालाई सहज र छरितो बनाउन आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने माग गरेका थिए। सदरमुकाम, मदन भण्डारी लोक मार्गले छोएको तथा छिमेकी जिल्लाहरू खोटाङ, ओखलढुङ्गा, सिन्धुलीवासीले समेत उपचार पाउने अस्पताल भएकाले ५० शैय्याको उदयपुर अस्पताललाई २ सय शैय्यामा विस्तार गर्नुपर्ने खाँचो उनीहरुले औँल्याए। त्यसका लागि आफूहरू निरन्तर लागिरहने जनाउँदै वक्ताहरूले स्थानीय, प्रदेश र संघीय सरकारले बजेट विनियोजन गर्न कन्जुस्याइँ गर्न नहुने बताएका थिए।
प्रकाशित: ३ पुस २०८० ०९:१० मंगलबार