नेपालमा रेबिजविरुद्धको उपचार सुरु भएको ३६ वर्ष पुगिसक्दा पनि लगानीको तुलनामा सुधार आउन नसकेको सरोकारवालाले औंल्याएका छन्।
नेपालमा सन् १९८७ देखि रेबिजविरुद्धको खोप दिन थालिएको हो। सुरुमा पेटमा लगाउने गरिए पनि अहिले यो खोप पाखुरामा लगाइन्छ। कुनै पनि जनावरले मानिसलाई टोके रेबिज संक्रमण हुन्छ। रेबिज भाइरस रगतको माध्यमबाट स्नायु हुँदै मस्तिष्कसम्म पुगेपछि लक्षण देखिन थाल्छ।
रेबिज संक्रमित व्यक्तिमा सुरुमा ज्वरो आउने, घाउ भएको ठाउँमा पोल्ने, झमझमाउने हुन्छ र बिस्तारै बिरामी उत्तेजित हुने, पानी र हावाबाट डराउने, श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीमा अवरोध आई मानिसको मृत्युसमेत हुन पुग्छ। कुकुर, स्याल, बाँदर, बिरालो, न्याउरी मुसालगायत जनावरले मानिसलाई टोके रेबिज संक्रमण हुन्छ।
तथ्यांकअनुसार गत आर्थिक वर्ष (आव) मा मात्र नेपालमा १८ जनाको रेबिजबाट मृत्यु भएको थियो। रेबिजका कारण एक सयभन्दा बढीको मृत्यु हुने गरेको सरोकारवाला अन्य निकायले बताएका छन्।
गत आवमा ८५ हजार कुकुरले मानिसलाई टोकेको र रेबिजविरुद्धको खोप २ लाख भाइल खपत भएको तथ्यांकछ।
विश्वभरिको रेबिज संक्रमणको ९६ प्रतिशत हिस्सा एसियाली र अफ्रिकी मुलुकमा पर्छ। विकसित मुलुकहरूमा यो दरमा रेबिज नलागेको अवस्थामा नेपालमा भने रेबिजको कारणले मानिसको मृत्यु हुनु नियन्त्रणमा चुनौती रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका प्रमुख डा. शेरबहादुर पुनले बताए।
‘विकसित मुलुकहरूमा रेबिजको मृत्यु यो दरमा देखिँदैन। नेपाल र भारतमा रेबिजकै कारण अकालमै मृत्यु हुन्छ,’ उनले भने। विश्व स्वास्थ्य संगठनले सन् २०३० भित्र नेपालमा रेबिज नियन्त्रण गर्ने लक्ष्य लिएकोमा उल्टै बढ्दै जानुले नियन्त्रणमा चुनौती थपिएको जुनोटिक शाखा प्रमुख डा. हेमन्त ओझाले बताए।
रेबिज नियन्त्रण हुन नसक्नुको कारण
नेपालमा रेबिज नियन्त्रणमा आउन नसक्नुकोे पहिलो कारण सामुदायिक कुकुरको उचित व्यवस्थापन हुन नसक्नु रहेको पशु स्वास्थ्य विभागका वरिष्ठ पशु चिकित्सक डा. सुजन रानाले बताए।
सामुदायिक कुकुरको संख्या घटाउन बन्ध्याकरण र रेबिज संक्रमणबाट बचाउन रेबिजविरुद्धको खोप दिनुपर्छ। तर यी दुवै कार्यक्रम नेपालमा प्रभावकारी नहुनुले रेबिज नियन्त्रण हुन नसकेको डा. रानाले बताए। यी दुई विधिमध्ये पनि सबैभन्दा प्रभावकारी खोप रहेको उनको भनाइ छ।
सामुदायिक कुकुरको संख्या धेरै हुनु र भएकामध्ये थोरैले मात्र रेबिजविरुद्धको खोप पाएका छन्। यसैकारण रेबिजका बिरामी बढेका हुन्। तथ्यांकअनुसार नेपालमा करिब २९ लाख सामुदायिक कुकुर छन्। खोप पाए सामुदायिक कुकुरमा रेबिजविरुद्धको हर्डम्युन विकास हुन्छ।
तर नेपालमा विभिन्न बर्सेनि २ लाख १५ हजारजति कुकुरले मात्र रेबिजविरुद्धको खोप पाउने डाक्टर राना बताउँछन्। यो हिसाबले १७ लाख ७५ हजारभन्दा बढी कुकुरले रेबिजविरुद्धको खोप पाउँदैनन्। नेपालमा राष्ट्रिय खोप उत्पादन प्रयोगाशालाले वर्षमा दुई लाख मात्र रेबिजविरुद्धको खोप उत्पादन गर्छ र त्यही खोप निजी तथा स्थानीय निकायमा वितरण हुन्छ। बाँकी रेबिजविरुद्धको खोप विभिन्न देशबाट आयात हुन्छ।
त्यसैगरी रेबिजविरुद्धको खोप लगाउने जनशक्तिको कमीले पनि पर्याप्त संख्यामा खोप दिन नसकिएको डा. रानाले बताए। उनका अनुसार कुकुरको वृद्धि हुनुमा मुख्य भूमिका फोहोरको हुन्छ। फोहोको उचित व्यवस्थापन नभए कुकुरको संख्यामा वृद्धि हुन्छ। नेपालमा फोहोरमैला पनि कुकुरको संख्या वृद्धि हुनुको कारण रहेको उनले बताए।
नेपालमा रेबिज संक्रमण र यसको उपचार हुँदा पनि जनमानसमा अहिलेसम्म यकिन जानकारी नहुनुले पनि बर्सेनि धेरैले मृत्युवरण गर्नुपरेको डा. पुन बताउँछन्। उनी भन्छन्, ‘अहिले पनि कुकुरले टोकेपछि झारफुक गर्ने, सानो कुकुरले टोकेर केही हुँदैन भन्ने भ्रम देखेको छु,’ उनले भने।
रेबिज नियन्त्रणमा आउन नसक्नुको अर्को कारण गाउँघरमा हुने भ्रम पनि एक कारण रहेको जुनोटिक शाखा प्रमुख डा. ओझा बताउँछन्। उनका अनुसार अहिले पनि चिनेको कुकुरले टोके रेबिज हुँदैन भनेर खोप नलगाउने ठुलो संख्या रहेको छ। कतिपय स्थानमा औषधि पसलेले दिने गलत सुझावले पनि खोप नपाएर बिरामीको मृत्यु भएको पाइएको डा. ओझा बताउँछन्।
पाँच वर्षमुनिकालाई रेबिज लाग्दैन भन्ने गलत धारणाले पनि धेरै बालबालिकाको रेबिज लागेर मृत्यु भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी पशु चिकित्सक डा. रोशिका श्रेष्ठले बताइन्।
उनले भनिन्, ‘रेबिज जुनसुकै उमेर समूहमा हुन्छ, कुकुरले टोके बच्चाको आमाले पनि रेबिजविरुद्धको खोप लगाउनुपर्छ।’
नियन्त्रणका उपाय
संघीय सरकारले रेबिज नियन्त्रणका लागि प्रदेश सरकारमार्फत हरेक स्वास्थ्य केन्द्रमा पुग्ने गरी रेबिजविरुद्धको खोप खरिद गर्न २ करोड बजेट विनियोजन गरेको छ। नेपालमा रेबिज नियन्त्रणका लागि रेबिजविरुद्धको खोप सामुदायिक सबै कुकुरलाई दिनुपर्ने, कुकुरको संख्या घटाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।
नेपालमा रेबिज नियन्त्रणका लागि अहिलेको नीति तथा कार्यक्रम पर्याप्त नभएकाले अबको नयाँ नीति तथा कार्यक्रम पारित गरेरै अघि बढ्नुपर्ने पशुचिकित्सकको सुझाव छ।
२०७९ सालमा पशुस्वास्थ्य सेवा विभागले ‘रेबिज नियन्त्रण रणनीति २०७९’ विधेयक प्रस्ताव गरेको छ। तर त्यो अहिलेसम्म पारित हुन सकेको छैन। यो नीति पारित भएमा रेबिज नियन्त्रणका नयाँ उपाय अवलम्बन हुने अपेक्षा राख्न सकिन्छ।
रेबिज रोगबारे व्यापक जनचेतना बढाउने र कुनै कुकुरले टोक्नेबित्तिकै नजिकको स्वास्थ्य केन्द्रमा पुगेर परामर्श तथा खोप लिने गरेमा यसबाट बच्न सकिने चिकित्सकको सुझाव छ।
प्रकाशित: २० आश्विन २०८० ०१:०९ शनिबार