१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सुदूरपश्चिममा डेङ्गीको जोखिम बढ्दै, ६ सय ८० जना संक्रमित

सह एक सातामै २ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा डेङ्गी रोगको प्रकोप बढ्दै गएको छ। डेङ्गी रोगको संक्रमण तीव्र रुपमा फैलिएसँगै सुदूरपश्चिममा एक साताको अवधिमा २ जनाको मृत्यु भएको छ।

कंचनपुरमा एक युवक र हिमाली जिल्ला दार्चुलामा १ किशोरीको डेङ्गीबाट मृत्यु भएको हो।कंचनपुरको वेलौरी नगरपालिका-८ का २७ वर्षीय हिक्मत खत्रिको डेङ्गी रोगको संक्रमणले मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। डेङ्गी रोगको संक्रमण पछि धनगढी स्थित अस्पतालमा उपचार गर्ने क्रममा भदौ ११ गते खत्रीको मृत्यु भएको उनले बताए।

युवकको मृत्यु भएको ५ दिनपछि हिमाली जिल्ला दार्चुलामा पनि डेङ्गीले एक छात्राको ज्यान गएको छ। स्वास्थ्य कार्यालय दार्चुलाका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति वीरेन्द्र भट्टले दार्चुला महाकाली नगरपालिका वडा नं-९ दत्तु बस्ने १४ वर्षीय किशोरी जेलिना चैसिरको डेङ्गीले मृत्यु भएको बताए।

राष्ट्रिय माध्यमिक विद्यालय दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा जेलिनाको डेङ्गीको संक्रमणले भदौ १६ गते मृत्यु भएको उनले बताए। हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमणले मृत्यु भएको यो पहिलो पटक हो।

केही वर्ष अघि सम्म लामखुट्टे नै नदेखिने हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको संक्रमण सबैभन्दा बढी फैलिएको छ।

‘केही वर्ष पहिलेसम्म दार्चुलामा डेङ्गी रोगको प्रकोप देखिन्थेन,’ भट्टले भने, ‘३ वर्ष यतादेखि डेङ्गीको संक्रमण बढेको हो, मृत्यु भएको भने यो पहिलो पटक हो’ केही वर्ष अघि सम्म लामखुट्टे नै नभेट्टिने हिमाली जिल्ला दार्चुलामा डेङ्गी रोगको प्रकोप बढी फैलिनुको कारण भने थाह हुन नसकेको उनको भनाई छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा गत जनवरी देखि फाटफुट रुपमा देखा परेको डेङ्गी रोगको प्रकोप पछिल्ला दुई तिन साता यता तीव्र रुपमा बढेको छ।

जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १ सय २९, अप्रिलमा २५, मे मा २२, जुनमा २६, जुलाईमा ५८ जनामा डेङ्गी रोगको संक्रमण देखा परेकोमा अगस्ट एकै महिनामा ३ सय ६५ जनामा संक्रमण देखिएको जोशीले बताएका छन्। सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ जनामा डेङ्गी रोगको संक्रमण देखा परेको छ। डेङ्गी रोगको संक्रमण कात्तिक महिना सम्म रहने उनको भनाई छ।

सुदूरपश्चिमका हिमाली, पहाडी लगायत ९ वटै जिल्लामा डेङ्गी रोगको संक्रमण फैलिरहेको छ।सुदूरपश्चिममा दार्चुला, बझाङ र बाजुरा गरी ३ हिमाली जिल्ला, ४ पहाडी र २ तराईका गरी ९ वटै जिल्लामा डेङ्गी रोग तीव्र रुपमा फैलिरहेको छ।

नेपालमा बि.सं. २०६१ मा पहिलो पटक देखा परेर २०६३ देखि प्रकोपको रुपमा फैलिए पनि सुदूरपश्चिममा वि.सं. २०६७ सालमा मात्र डेङ्गी रोगको संक्रमण देखा परेको थियो। भने पहाडी र हिमाली जिल्लामा ४ वर्ष यता मात्र डेङ्गी रोगको संक्रमण देखा परेको हो।

गत वर्ष नेपालमा ठूलो क्षति गरेको डेङ्गीले सुदूरपश्चिममा ४ जनाको ज्यान लिएको थियो। कैलालीका २, कंचनपुरका १ र अछामका १ जनाले ज्यान गुमाएका थिए।

विज्ञहरूका अनुसार एईडिज ईजिप्टी र एईडिज आल्बोपिक्टस प्रजातीका लामुखुट्टेले टोकेर डेङ्गी रोगको भाइरस मान्छेमा सार्ने गर्छ। यी दुई प्रजातीका लामखुट्टे सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा रहेको जोशीले बताएका छन्। अध्ययन गर्दा यी दुई प्रजातीका लामखुट्टे सबै जिल्लामा पाइएको उनको भनाई छ।

यी प्रजातीका लामखुट्टे सेतो कालो रंग मिसिएको छिर्केमिर्के रंगको हुने गर्छन्। यी प्रजातीका लामखुट्टेले दिउसोको समयमा बढी टोक्ने गर्छन्।

डेङ्गी रोगका लक्षणहरु

डेङ्गी भएमा अचानक ज्वरो आउँछ। टाउको, जोर्नी, ढाड शरीर, आँखाका गेडी, पिँडौलाको मासु बेस्सरी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने लक्षण देखिन्छन्।

रोग च्याप्दै लगेपछि गिजाबाट रगत बग्ने, नाकबाट रगत बग्ने, जिउ दुख्ने, बारम्बार वान्ता हुने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिने गरेको चिकित्सक बताउँछन्। छाला मुनीपनि रगत बगेर बिबिरा देखिने, पिसाबबाट रगत बग्ने गर्छ। रोगले संक्रमण गरेमा आफूखुसी औषधी खाएमा रगत बग्ने क्रम बढेर ज्यान जोखिममा जान सक्ने भएकाले तुरुन्तै अस्पतालमा जानुपर्ने जोशी बताउँछन्।

डेङ्गी रोगको संक्रमणबाट बाच्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गरेर लामखुट्टे नियन्त्रण गर्ने र लामखुट्टेको टोकाइबाट जोगिने विज्ञहरूको राय छ।

प्रकाशित: २० भाद्र २०८० १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App