भरतपुर महानगरपालिकाले डेङ्गी रोग परीक्षणका लागि शुल्क तोकेको छ।
डेङ्गीको परीक्षणमा ल्याबहरुले जथाभाबी रुपमा मूल्य लिन थालेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेको हो। महानगरपालिकाले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै डेङ्गी परीक्षणका लागि अधिकतम मूल्य ६ सय रुपैयाँ तोकेको छ।
जिल्लाका ल्याबहरुमा डेङ्गी परीक्षणको शुल्क एकरूपता नभएको गुनासो आएपछि शुल्क निर्धारण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए।
‘देशै भरी डेङ्गी रोग फैलिरहेको छ। यसमा महानगरपालिका समेत उच्च जोखिममा छ। तर रोग निदानका लागि गरिने परीक्षणमा एकरूपता नभएको गुनासो आएपछि सरोकारवालाहरुसँगको बैठकको निर्णय अनुसार अधिकतम दस्तुर रकम ६ सय लिन अनुरोध छ’–उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले सबै स्वास्थ्य संस्थालाई लागु गर्न समेत अनुरोध गरेका छन्। डेङ्गी परीक्षण गरेको कुनै ल्याबले भरतपुरमा हजार रुपैयाँ सम्म लिने गरेका छन्।
नेपालमा डेङ्गी रोगको संक्रमण पहिलो पटक चितवनमा देखिएको हो। यहाँ एक वर्षको अन्तरालमा डेङ्गीको महामारी नै हुने गर्दछ। साउन यता जिल्लामा ४६ जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा भेटिएको छ। त्यहाँ ७र७ जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
यहाँ अन्य जिल्लाका १४ र ठेगाना नखुलेका ६ जना संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा जिल्लामा १ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
प्रकाशित: २४ श्रावण २०८० १४:१७ बुधबार