१५ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सुधारिँदै उदयपुर जिल्ला अस्पताल

दूरबिनबाट पित्तथैलीको पत्थरी अप्रेसन

एकताका ‘रिफर सेन्टर’ मा परिणत भइसकेको उदयपुर जिल्ला अस्पतालमा अहिले उपचारको आकर्षण बढ्दै गएको छ। दक्ष र विशेषज्ञ डाकटरहरुको व्यवस्थापन भएसँगै ५० शैय्याको अस्पतालले पछिल्लो समय सबै खाले उपचार सेवा दिँदै आएको छ।

हाडजोर्नी, नशा, जटिल खालका गर्भवती महिलाको सुत्केरी (सिएस) देखि पित्तथैलीको पत्थरी, एपेन्डीसाईटिस, हाईड्रोसिल र हर्नियालगायत शल्यक्रिया (अप्रेसन) हुने गरेका कारण हाल ७० भन्दा बढी बेड कुनैपनि दिन खाली हुन पाएको छैन।

अस्पताल प्रशासनका अनुसार अहिले दैनिक न्यूनतम ५ सयदेखि १ हजार ५ सय बढी बिरामीले उपचार सेवा लिँदै आएका छन्। अस्पताल प्रशासन अधिकृत योगेश्वर खनालका अनुसार ५० बेडको अस्पताल भए पनि आन्तरिक व्यवस्थापनबाट ७० बेड राखिएकोमा कुनै दिन सबै भरिएर भुईँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ।

आकस्मिक सेवादेखि जनरल वार्ड, अप्रेसन र पोष्ट ओटी (अप्रेसनपछि उपचार गर्ने बेड) सम्म सधैँ बिरामीले भरिभराउ हुने गरेका अधिकृत खनालले बताए।

पछिल्लो समय अस्पतालले पित्तथैलीको अप्रेसन अत्याधुनिक प्रविधिबाट गर्न थालेको छ। गएको असार २६ गते पहिलो पटक त्रियुगा नगरपालिका १० बोक्सेकी ६८ वर्षीय राधिका राईको पित्तथैलीको अप्रेसन दुरविनबाट गरेको अस्पतालले साउन ४ गते अर्को यस्तै अप्रेसन गरेर पत्थरी फालेको थियो। 

मेडिकल सर्जन डा. ज्ञानेन्द्र यादव नेतृत्वको चिकित्सक टोलीले पहिलो पटक राधिकाको पित्तथैलीको १५ एमएमको पत्थरी दूरबिन प्रविधिबाट अप्रेसन गरेको थियो। अप्रेसन गरेको ३ दिनसम्म पोष्ट ओटीमा राखेर उपचार गराइएकी राई त्यसपछि डिस्चार्ज भएकी र अहिले सकुशल हिँडडुल गर्न सक्ने अवस्थामा पुगेकी उनकी बुहारी दिकु शेर्पा राईले बत्ताइन्।

अस्पतालदेखि मुस्किलले ७ सय मिटर टाढा बोक्सेमै घर भएकी राईलाई ३ वर्षअघि पत्तिथैलीमा पत्थरी भएको पत्ता लागेको थियो।

विराटनगर र धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर जचाउँदा पित्तथैलीमा पत्थरी भएको पत्ता लागेपछि १ वर्षयता उनी औषधि सेवन गर्दै आएकी थिइन्। तर, औषधिले निको नभएपछि पुनः विराटनगर लाने तयारी गर्दै गर्दा गाईघाटमै अप्रेसन हुन्छ भन्ने थाहा पाएर यहाँ ल्याएको शेर्पाले बत्ताइन्। विराटनगरमा डेढ दुई लाख लाग्ने भनिएको अप्रेसन गाईघाटमा २० हजारमै भएको र सासुलाई निको पार्न सफल भएकोमा राई परिवार अहिले खुसी छ।

असार २६ गते पहिलो अप्रेसन सफल गरेको अस्पतालले त्रियुगा नगरपालिका ३ की २९ वर्षीय बिमला शर्माको साउन ४ गते दोस्रो अप्रेसन सफल पारेको सर्जन डा. यादवले बताए। उनको पित्तथैलीबाट १२ एमएमको पत्थरी निकालिएको र पूर्ण रुपमा निको भइसकेको यादवले बताए। त्यसैगरि डा. यादवको टोलीले तेस्रो अप्रेसन यसै साता गर्ने तयारी भइरहेको जनाएको छ। त्रियुगा १० की ६० वर्षीय धनमाया राईको पित्तथैलीमा रहेको पत्थरी निकाल्न तेस्रो अप्रेसनको तयारी भइरहेको उनले बताए।

दुरविनबाट गरिने अप्रेसन दुखाई कम हुनुका साथै सुरक्षित र छिटो निको हुने प्रविधि हो। यो प्रविधि अनुसार बिरामीको शरीरमा १० एमएमका २ वटा र ५ एमएमका २ वटा गरी ४ वटा अलग अलग प्वाल (दुलो) पारिन्छ। ती प्वालबाट दूरबिन छिराएर पित्तथैलीमा रहेको पत्थरीलाई फुटाएर ससाना टुक्रा पारी त्यही प्वालबाट शरीरबाहिर निकालिन्छ। यो प्रविधिमा बिरामीको शरीरमा सामान्य मात्र घाउ चोट लाग्ने हुनाले अनावश्यक दुखाई र गहिरो घाउ बनाउन नपर्ने र अप्रेसन र निको हुने समय कम लाग्नुका साथै खर्च पनि कम लाग्ने प्रविधि भएको डा. यादव बताउँछन्।

चिकित्सा विज्ञानको दुनियाँमा अत्याधुनिक प्रविधि मानिएको यो विधिबाट गाईघाटमै अप्रेसन हुन थालेपछि जिल्लावासीहरू धरान र विराटनगर धाउनुपर्ने बाध्यताबाट मुक्ति पाउँदै गएका छन्।

उदयपुर अस्पतालमा पछिल्लो समय न्यूनतम शूल्कमा प्राय सबै खाले जटिल रोगको उपचार हुन थालेको र अझै राम्रो बनाउँदै लाने अभियान चलाइरहेको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताए।

उनले धरान र विराटनगरमा पाइने सबै खाले उपचार जिल्लाबाटै उपलब्ध गराउने गरी दक्ष स्वास्थ्यकर्मी, जनशक्ति र औजार उपकरणको व्यवस्थापन गर्नमा जोड दिइरहेको बताए। विशेषज्ञ डाकटरहरु लगभग जोहो भइसकेको तर, केही उपकरणहरु भने व्यवस्थापन गर्न नसकिएको उनको भनाइ थियो। अक्सिजन उत्पादन, सिटीस्क्यान र एमआरआईको व्यवस्थाबाहेक धरान र विराटनगरमा पाइने सबै खाले उपचार सेवा उपलब्ध गराउन थालिएको डा. झाले सुनाए।

मेसु डा. झाका अनुसार अहिले अस्पतालमा १४ जना विशेषज्ञ (कन्सल्टेन्ट) सहित २५ जना दक्ष जनशक्ति उपलब्ध छ। डा. झा स्वयं र डा. सशीरञ्जन प्रधान हाडजोर्नी तथा नशा रोगका अनुभव प्राप्त विशेषज्ञ हुन्। उनीहरुले गएको वर्ष दिनमा ५ सयभन्दा बढी हाडजोर्नी सम्बन्धी अप्रेसन गरिसकेका छन्। तत्काल मर्के भाँचिएका हात खुट्टा, ढाडलगायत हाडजोर्नीका घाइते तथा लामो समयदेखि नशा र हाडजोर्नीले थलिएका रोगीले सफल अप्रेसन सेवा पाएर झा र प्रधान जोडीबाट पुनर्जीवन पाइसकेका छन्।

त्यस्तै मेडिकल सर्जन डा. ज्ञानेन्द्र यादव, इन्टरनल मेडिसिन कन्सल्टेन्ट फिजिसिएन डा. राहुल रौनियार छन् भने स्त्रीरोग विशेषज्ञका रुपमा डा. मुकेश झा र डा. रितेशराज कर्ण कार्यरत छन्। डा. रनदिप राउत र डा. प्रेम दास एमडिजिपी विशेषज्ञ, डा. दिपेश यादव रेडियोलोजिस्ट, डा. निरजकुमार सिंह बालरोग विशेषज्ञ तथा डा. अरुण मण्डल एनेथेसिया (अप्रेसनअघि बेहोस बनाउने) चिकित्सक अस्पतालमा कार्यरत छन्।

दन्तरोग विशेषज्ञहरु डा. आस्था सुब्बा, डा. नारायण चौधरी र डा. बेन्जु श्रेष्ठ कार्यरत रहेको मेसु झाले बताएका छन्। उनीहरुबाहेक १० जना मेडिकल अधिकृत पनि अस्पतालमा कार्यरत रहेकाले जनशक्तिमा खासै समस्या छैन। तर, भौतिक पूर्वाधार तथा औजार उपकरण भने केही समस्या रहेको मेसु झा बताउँछन्। २/३ वर्ष अघिसम्म रिफर सेन्टरको रुपमा रहेको अस्पताललाई २ वर्षयता उदयपुर मात्र नभएर छिमेकी जिल्लाहरु खोटाङ, ओखलढुंगा, सिराहा र सिन्धुलीसम्मबाट सहज स्वास्थ्य सेवा पाउने थलोको रुपमा विकास गरिँदै लगिएको दाबी झाको छ। 

सेवा राम्रो र सहज हुन थालेपछि पछिल्लो समय आकर्षण थप्दै गएको अस्पतालमा दैनिक १ हजार ५ सयसम्म बिरामी उपचारार्थ आउने गरेका छन्।

‘दक्ष जनशक्ति लगभग अहिले खाँचो छैन, अब एमआरआई, सिटीस्क्यान र भेन्टिलेटर सुविधा थप्न सके धरान र विराटनगर धाउनुपर्ने काम पर्दैन’ डा. झाले भने ‘अनि एउटा सुविधा सम्पन्न भवन अत्यावश्यक छ। त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुगे हुन्थ्यो।’ डा. झाले भवन अभावमा ७० शैय्या सञ्चालन गर्दै आएको अस्पतालले प्रसूतिबाहेक सबै युनिट एउटै भवनबाट धान्नु परेको बताएका छन्।

इमरजेन्सी (आकस्मिक), जनरल वार्ड, पोष्ट ओटी, आईसियुलगायत युनिट र प्रशासनिक कार्यकक्ष र औषधि गोदामसम्म त्यही एउटा भवनबाट काम चलाउनु परेको झाको भनाई छ। उनले कम्तीमा १ सय कोठा भएको सुविधा सम्पन्न बहुतले एउटा भवन तत्काल निर्माण गर्नुपर्ने खाँचो छ।

प्रकाशित: ११ श्रावण २०८० ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App