९ मंसिर २०८१ आइतबार
image/svg+xml
शिक्षा

त्रिविलाई फास्ट ट्र्याकबाट नतिजा निकाल्न मन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल मंगलबार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पुगी विभिन्न तहका परीक्षाको नतिजा प्रकाशनमा भएको ढिलाइबारे सोधपुछ गरेका छन्।

प्रविधिमैत्री युगमा पनि पनिका अझै परम्परागत रुपमै चलिरहेको देखेर आफू चिन्तित बनेको मन्त्री पौडेलले बताए। ‘मन्त्रालयमा विद्यार्थीहरू दिनहुँ त्रिविको नतिजा ढिलाइका कारण आफूहरू लोकसेवा आयोग, विभिन्न संस्थान तथा धेरै निकायमा अवसरबाट वञ्चित हुनुपरेको गुनासो गरिरहन्छन्।

परीक्षाको नतिजा ढिलाइबारे धेरै गुनासो आएपछि म आफैं अनुगमनमा गएर सत्यतथ्य बुझ्न खोजेको हुँ,’ अनुगमनपछि मन्त्री पौडेलले भने, ‘पनिका अझै पनि प्रविधिमैत्री हुन सकेको छैन। परम्परागत रुपमै काम गराइ छ। जनशक्ति अभाव देखियो।’ मन्त्री पौडेलले थपे, ‘त्यसपछि मैले उपकुलपतिसँग भेटेर छलफल गरेको छु। परीक्षा नियन्त्रकलाई फास्टट्र्याकबाट नतिजा प्रकाशन गरी निकास दिन निर्देशन दिएको छु। अब म मन्त्रालयमा छलफल गरी पनिकालाई जनशक्तिसहित प्रविधिमैत्री बनाउने तयारीमा जुट्छु।’

मन्त्री पौडेलका अनुसार ३ महिनाभित्र प्रकाशित हुनुपर्ने नतिजा एक वर्ष बित्न लाग्दा समेत प्रकाशित हुन सकेको छैन। जुन विद्यार्थीको हितमा छैन। विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई पनि निर्देशन दिएको उनले बताए। पनिकाको शैक्षिक क्यालेन्डरमा परीक्षा भएको ३ महिनामा नतिजा प्रकाशन गर्ने व्यवस्था छ।

८ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा प्रकाशन नगरेपछि बुझन् मन्त्री अनुगमनमा गएका थिए। परीक्षा नियन्त्रक पुष्पराज जोशीले मन्त्री पौडेललाई पनिकाबारे विस्तृत जानकारी गराउँदै जनशक्ति अभाव र प्रविधिको कमीका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको जानकारी गराएका थिए।

मन्त्री पौडेलले परीक्षा नियन्त्रक जोशीको जनशक्ति अभावबारेको कुरा सुनेपछि कुनै पनि बहाना मन्त्रालयलाई स्वीकार नहुने स्पष्ट पारेका थिए। ‘जनशक्ति अभाव अहिलने नै भएको त होइन नि। जे भए पनि सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनपर्‍यो’, मन्त्री पौडेलले भने, ‘देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै तपाईंहरू पन्छिन पाउनुहुन्न। यसको सुधारका लागि प्रशासनले नयाँ योजना बनाएर आउनुपर्‍यो।’ उनले थपे, ‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्। देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन्?’

परीक्षा नियन्त्रक जोशीले जनशक्ति अभावबारे रजिस्ट्रार कार्यालयमा भदौमै जानकारी गराए पनि सुनुवाइ नभएको बताए। रजिस्ट्रार कार्यालयले दक्षभन्दा पनि रुचाएको व्यक्ति नियुक्त गरेकाले पनिकाको काम हुन नसकेको हो। ‘मैले सहकुलपतिज्यूलाई पनिकाको सबै यथार्थ विस्तृत रुपमा बताइदिएँ। २२४ कर्मचारी आवश्यक पर्नेमा १३७ मात्र छन्।

आइटीमा १० कर्मचारी चाहिनेमा रजिस्ट्रार कार्यालयले पाँचजना मात्र दियो’, नियन्त्रक जोशीले भने, ‘पुराना कर्मचारी अवकाश पाएर बिदा भए। नयाँ थपिएका छैनन्। त्रिविका ७ लाख विद्यार्थीको काम ५ जना आइटीका कर्मचारीले गरेर कसरी छिटो हुन्छ? मैले विद्यार्थीको नतिजा र ट्रान्सक्रिप्ट अनलाइन उपलब्ध गराउने सबै तयारी गरेको भए पनि त्रिविले सहयोग नगरेपछि सबै काम अस्तव्यस्त भयो। सबै विषय मन्त्रीज्यूले बुझ्नुभयो। समस्या समाधान गर्ने प्रतिबद्धता जनाएर जानु भयो। जुन सकारात्मक हो।’

प्रकाशित: १२ माघ २०७८ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App