१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एक तिहाई विद्यालयमा अब महिला नेतृत्व

महिलालाई विद्यालयको नेतृत्व दिन इलाम नगरपालिकाले नीतिगत व्यवस्था गरेको छ। नगरले शिक्षा नियमावली संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व सुनिश्चित गरेको हो।  नियमावलीको सातौं संशोधनपछि अब नगरको प्रत्येक वडाका एक तिहाई विद्यालयको नेतृत्व महिलाले गर्न पाउनेछन्। 

कुनै वडामा २ भन्दा कम विद्यालय भए कम्तीमा एउटाको अध्यक्ष चाहिँ महिला नै रहने व्यवस्थासमेत नियमावलीमा छ। त्यतिमात्र होइन, कुनै पनि विद्यालयको व्यवस्थापन समितिमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्नेसमेत निश्चित गरिएको छ। अहिले नगरका ४९ सामुदायिक विद्यालयमध्ये एउटा विद्यालयमा महिला र बाँकी सबैमा पुरुष अध्यक्ष छन्।  

मेयर महेश बस्नेतले अब कम्तीमा १७ विव्यसको अध्यक्ष महिला नै हुने निश्चित भएको बताए। ‘स्थानीय सरकारले पनि अन्य क्षेत्रमा लैंगिक समावेशिता निश्चित गरेको छ तर विव्यसमा थिएन,’ उनले भने, ‘नगरले अब विव्यसमा पनि महिलाको नेतृत्व स्थापित गरेको छ।’ अहिले नगरका विद्यालयहरूमा ४ सय ९९ शिक्षक–कर्मचारी रहेकामा चाहिँ महिलाको संख्या पुरुषको भन्दा बढी छ। नगरमा २ सय ३७ महिला र २ सय ६२ पुरुष कार्यरत छन्। यीमध्ये जनजाति महिला ८४, पुरुष ७२, दलित महिला ७, पुरुष ५ तथा अन्य महिला १ सय ४६ र पुरुष १ सय ८५ कार्यरत रहेको नगरले जनाएको छ। ‘

विद्यालयमा महिलाको नेतृत्व आएपछि शैक्षिक सुधारमा अझ सहयोग पुग्ने आशा छ,’ मेयर बस्नेत भन्छन्, ‘महिलालाई समाज, समुदायको नेतृत्वमा स्थापित गर्न, निर्णायक बनाउन र परिवारदेखि नै उनीहरूको नेतृत्व स्थापित गर्न यो व्यवस्थाले सहयोग पुग्नसक्छ।’  कानुनी व्यवस्थाअनुसार जनप्रतिनिधिमा लैंगिक समावेशिता निश्चित भएपनि कर्मचारीमा चाहिँ छैन। तर, इलाम नगरका कर्मचारीमा लैंगिक समावेशिताको अवस्था हेर्दा लगभग सन्तोषजनक नै रहेको मेयर बस्नेतले बताए। ‘नगरका २ सय ४९ कर्मचारीमध्ये ६४.६६ प्रतिशत पुरुष र ३५.३४ प्रतिशत महिला कार्यरत छन्,’ उनले भने, ‘जनप्रतिनिधिमा पुरुष ६२.५ र महिला ३७.५ प्रतिशत छन्।’

नगरले कार्यपालिका सदस्य सीता रिजाल संयोजक रहेको सामाजिक विकास समिति गठन गरेको थियो। समितिले विद्यालय नेतृत्वको लैंगिक अवस्था अध्ययन गरी प्रतिवेदन बुझाएपछि नगर कार्यपालिका बैठकले शिक्षा नियमावली संशोधन गरेको छ।  

प्रकाशित: २२ श्रावण २०७८ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App