८ मंसिर २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

विश्वविद्यालयमा राजनीतिको राइँदाइँ

त्रिभुवन विश्वविद्यालय स्थापनाको इतिहासमा विचरण गर्दा आज पनि गर्वले छाती ढक्क हुन्छ। शीर उचो हुन्छ। तत्कालीन राजा श्री ५ महेन्द्रवीरविक्रम शाहका मुमाहरू कान्ति र ईश्वरीले आफ्ना गहना बेचेर १६ लाख रुपियाँ जुटाइदिएका थिए। शिक्षाप्रतिको त्यो उदात्त भावना नहुँदो हो त आफ्ना गहना बेचेर यसका निम्ति दिइने थिएन। आजका दिनमा पनि त्रिभुवन विश्वविद्यालय स्थापना गरेको स्थान कीर्तिपुर र यसको सम्पत्ति हेर्दा त्यो बेलामा राखिएको दीर्घ सोचलाई साधुवाद भन्नुपर्छ। पुर्खाले जोडिदिएको यस्तो अनुपम उपहारको आज सदुपयोग होइन, दुरूपयोग भइरहेको छ। आफूलाई आधुनिक युगका मान्ने र दर्शन तथा सिद्धान्त मान्ने भनिएकाहरूले नै त्रिभुवन विश्वविद्यालयलाई ध्वस्त बनाउँदै छन्।

हाम्रो मुलुकमा यतिबेला राजनीतिले कहाँ सुधार गरेछ भनी खोजी पस्दा निराशा मात्रै हात लाग्छ। राजनीतिले जहाँ छोयो, त्यहाँ बर्बाद पारेको छ। राजनीति त सुधारका निम्ति हुनुपर्ने हो। हाम्रो मुलुकमा राजनीति संस्था ध्वस्त पार्ने अभियानमा तीव्र गतिले लागेको छ। त्यही भएर पनि हुन सक्छ अहिले राजनीतिक दलको विरोध गर्ने संख्या दिन दोगुना रात चौगुना बढेको छ। मुलुकका शिक्षण संस्था राजनीतिका कारण सबैभन्दा धेरै आक्रान्त छन्। त्यसमा पनि त्रिभुवन विश्वविद्यालयको नाम अग्रणी छ। मुलुककै जेठो विश्वविद्यालयको स्थिति हेर्दा योभन्दा दुर्गति के हुन सक्छ र? भनेर टाउकामा हात लाउनुको विकल्प छैन।

२०४६ को राजनीतिक परिवर्तनपछि मुलुकमा सर्वतोमुखी विकासको आमअपेक्षा थियो। त्यसले पनि नपुगेर जनआन्दोलन २०६२/०६३ सम्पन्न भयो। प्रत्येक राजनीतिक परिवर्तनपछि विश्वविद्यालयको दुर्गति बढिरह्यो। विश्वविद्यालयलाई राजनीतिको क्रीडास्थल बनाउने काम प्रमुख दलले गरेका छन्। आफ्ना भातृ विद्यार्थी संगठनले यसलाई राजनीतिको केन्द्र बनाएकै छन्। त्यसमा पनि विश्वविद्यालयका कुलपतिदेखि पदाधिकारीसम्मको नियुक्तिमा दलहरूले राजनीतिक भागबन्डा गर्दाको दुष्परिणाम आज देखिँदैछ। लाग्छ, देशको शिक्षा ध्वस्त पार्न प्रमुख दलहरू मरिमेटेर लागेका छन्। अन्यथा, विश्वविद्यालयको प्राज्ञिक वातावरण कायम गर्न यसको स्वायत्ततालाई बढ्ता अभ्यास गर्न दिइने थियो।

त्रिभुवन विश्वविद्यालय केही समययता निरन्तर समाचार बनिरहेको छ। शैक्षिक उन्नयनका निम्ति यसको नाम आएको भए गर्वको विषय हुन्थ्यो। प्रायः राजनीतिक दलको रणमैदान बनेका कारण यो चर्चामा छ। यतिबेला सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्रमुख विपक्षी नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विश्वविद्यालयमा भिडिरहेका छन्। उनीहरूको प्रतिस्पर्धा तालाबन्दी गर्नमा छ। विश्वविद्यालयले कुनै ठूलै विषयमा अध्ययन/अनुसन्धान गरेको निष्कर्ष सार्वजनिक गर्न सकेको भए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा हुन्थ्यो। तर विश्वविद्यालयमा पढ्ने विद्यार्थी आपसमा लडिरहेका खबर कुनै सडक ‘ग्याङ फाइट’ को स्तरमा झरिरहेको छ। यस्तो स्थितिमा विश्वविद्यालयको प्राज्ञिक गतिविधिलाई कहिल्यै सही बाटोमा लैजान सक्दैन।

विश्वविद्यालयमा हुने लडाइँ कहिल्यै टुंगिएन। पञ्चायतका बेला पनि विश्वविद्यालयमा कुनै न कुनै रूपमा राजनीतिक गतिविधि हुन्थे। त्यो बेला अन्य राजनीतिक दल प्रतिबन्धित रहेका बेला विचार र संघर्षको केन्द्रका रूपमा यी संस्था रहेका हुन्। तर त्यो स्थिति आज पनि रहेको छ। विचारकै हिसाबले छलफल गर्नु, अध्ययन, अनुसन्धान र वहस गर्नु नौलो कुरा भएन। विश्वविद्यालय यस्ता क्रियाकलापका केन्द्रका रूपमा रहेका हुन्छन्। राज्यले दमनात्मक नीति लिएको बेलामा समेत विश्वविद्यालयले कुनै न कुनै हिसाबले विरोध गर्छन्। एक हिसाबले ती आन्दोलित भइरहेका हुन्छन्। अहिलेको हाम्रो परिस्थिति त्यो होइन। दलहरूले विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगर्ने हो भने योभन्दा खराब स्थिति रहने छ। महिनौँ महिना तालाबन्दी भइरहने, पदाधिकारी पनि राजनीतिक आस्थाका आधारमा नियुक्त भइरहने र प्राज्ञिक उन्नयनका निम्ति काम नहुने भएपछि विश्वविद्यालय ज्ञान÷विज्ञान भन्दा पनि विकृति र विसंगतिका केन्द्र हुने निश्चित छ।

एसियाकै कैयन् विश्वविद्यालयले आफूलाई शैक्षिक उत्कृष्टताको उचाइमा पुर्‍याएका छन्। जिन्दगीमा एकपटक विश्वविद्यालय पुगेको व्यक्तिलाई उसले सधैँभरि निकट राख्छ। जिन्दगीभरि आफू पढेको विश्वविद्यालयको अलुम्नाइका रूपमा गर्व गर्ने परिपाटी हुन्छ। विश्वविद्यालयले तिनलाई सक्रिय राख्न अनेकानेक गतिविधि गरिरहेको हुन्छ। हामीकहाँ विश्वविद्यालय राम्ररी चलाउने क्षमता छैन। एकपछि अर्को गर्दै विश्वविद्यालय थपिएका छन्। तर तिनलाई कसरी उत्कृष्ट ढंगले चलाउन सकिन्छ भन्ने दृष्टिकोण बनाउन सकिएको छैन।

आज कैयन् व्यक्ति हार्वर्ड, अक्सफोर्ड, प्रिन्स्टन वा यस्तै कुनै विश्वविद्यालय गएको पक्षलाई जिन्दगीभरि एउटा उपलब्धिका रूपमा लिन्छन्। यो अवस्था किन आयो भने ती विश्वविद्यालयले निरन्तर आफूलाई उत्कृष्टताको केन्द्रमा राखिरहेका छन्। तिनका उत्पादनले संसार हाँकिरहेका छन्। यस मामिलामा त्रिभुवन विश्वविद्यालय मात्र पछि पर्नुपर्ने होइन। यसैअन्तर्गतका इन्जिनियरिङ, चिकित्साशास्त्र अध्ययन संस्थान उत्कृष्ट रहेका छन्। केही नयाँ संकाय पनि उत्कृष्टता उन्मुख छ। तैपनि समग्र विश्वविद्यालयको हालत हेर्दा प्रगति अवरुद्ध भएकै मान्नुपर्छ। त्यसैले विश्वविद्यालयलाई राजनीतिक दलहरूबाट मुक्त गर्नु आजको पहिलो आवश्यकता भएको छ। सबै ठाउँमा राजनीतिक दलकै प्रभाव किन हुनुपर्ने? विश्वविद्यालयका उपकुलपति बनाउने व्यक्ति दलकै हुनुपर्छ भन्ने छैन। उत्कृष्ट क्षमता भएका र संस्था चलाएका व्यक्ति देशमा छन्। तिनलाई मौका दिउँ। अहिलेको अवस्थामा जतिसुकै असल व्यक्तिलाई ल्याएर नियुक्त गर्ने हो भने पनि तिनले काम गर्न सक्दैनन्। विश्वविद्यालयको स्वायत्तता कायम राख्न यसलाई राजनीतिक दलको छायाँबाट मुक्त गर्ने र आर्थिकरूपमा सम्पन्न बनाएर शैक्षिक उन्नयनमा लाग्ने वातावरण दिनुपर्छ। हिजो मुमा बडामहारानीद्वयले गरेको जस्तो सहयोग गर्न आज कोही तयार होलान्?  

प्रकाशित: १४ भाद्र २०७९ ००:१३ मंगलबार

Download Nagarik App
Download Nagarik App