८ मंसिर २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

फेरि कोभिड कहर

कोभिड–१९ को कहरले अझै मुलुकलाई आक्रान्त पार्न छाडेको छैन। त्यसमा पनि गत वैशाखमा दोस्रो लहर सुरु भएयताको समय सहज भइसकेको छैन। विस्तारै कठोर बन्दाबन्दी खुकुलो हुँदै गएको छ। यससँगै कोभिड– १९ संक्रमणका बिरामी बढ्न थालेका छन्। केही दिनयता अस्पतालमा गम्भीर बिरामी थपिन थालेपछि चिकित्साकर्मी चिन्तित भएका छन्। यो स्थिति बढ्दै जाने हो भने फेरि अस्पतालले बिरामीको चाप धान्न सक्दैनन्। २०७६ चैतदेखि अहिलेसम्म कोरोना विषाणु महामारीका कारण जनजीवन सहज हुन पाएको छैन।  

दुई पटक कठोर बन्दाबन्दी भएका छन्। यसले दैनिक काम गरी गुजारा गर्ने परिवारलाई मात्र होइन, मध्यमवर्गीय परिवारलाई समेत असहज आर्थिक स्थिति छ। अहिले जसरी संक्रमण बढ्दैछ, यही स्थिति यथावत् रहने हो भने अर्को बन्दाबन्दी तत्काल गर्नुपर्ने अवस्थामा मुलुक पुग्ने देखिँदैछ। यसकारण स्थितिलाई थप बिग्रन नदिनेतर्फ ध्यान पुगेन। पूर्ववर्ती खड्गप्रसाद शर्मा ओलीको कार्यकाल कोभिड–१९ रोकथाम भन्दा राजनीतिक तानातानमै बितेको हो। अहिले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ। 

यो सरकार बनेको तीन सातामा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। देउवाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंसँग राख्दै त्यसको जिम्मा राज्यमन्त्री उमेश श्रेष्ठलाई दिएका छन्। उनी भने गम्भीर ढंगले काम गर्नेभन्दा पनि तलब नलिइ काम गर्ने भन्दै ‘चटक’ गर्न लागेका छन्। तलब पूरा लिए हुन्छ, काम समयमा पूरा गरे पुग्छ। अहिले खोपको आवश्यकता छ। कोरोना विषाणु संक्रमणबाट मुलुकलाई जोगाउनु परेको छ। त्यसका निम्ति काम गर्न राज्यमन्त्री श्रेष्ठ प्रेरित हुनुपर्छ।

विगत र वर्तमान सरकारको पहल र केही मित्र मुलुकको प्राथमिकताका कारण खोपको व्यवस्था भएको छ। यसरी व्यवस्था भएको खोप लगाइदिने कामसमेत व्यवस्थित नहुँदा संकट गहिरिँदैछ। राज्यमन्त्रीको ध्यान यता जानु उचित हुन्छ। पछिल्लो चरणमा कोभिड–१९ को संक्रमण बढ्नुको कारण खोप केन्द्रको अव्यवस्था हो। चिकित्सकहरूले आफैँ यो तथ्य स्वीकार गरेका छन्। खोपको प्रमाणपत्र लिन जाने सर्वसाधारण नगरिकको पनि उत्तिकै कहालिलाग्दो भीड देखिएको छ। खोप लगाउन होस् वा प्रमाणपत्रका निम्ति यस्तो धेरै भीड गरिरहनुपर्ने आवश्यकता देखिँदैन। 

व्यक्तिहरूलाई अनलाइनबाटै नाम दर्ता गर्ने वा एसएमएस पठाएका भरमा काम गराउन सकिन्छ। सार्वजनिक निकायबाट सेवा प्राप्त गर्नु जस्तो कठिन हाम्रो मुलुकमा केही छैन। यसरी सर्वसाधारणको भीड हुन लागेको छ भने त्यसलाई व्यवस्थित बनाउन सम्बन्धित संस्था, प्रशासन र व्यक्ति स्वयंमा जिम्मेवारी बोध हुनुपर्ने हो। भौलिक दूरी कायम राखेरमात्र बाहिर निस्कनुपर्छ भन्ने ज्ञान सबैलाई भए पनि त्यसको पालना गरेको देखिएन। संक्रमण नभइञ्जेल नचेत्ने हाम्रो बानी पनि आफैँमा डरलाग्दो छ। आर्थिक स्थितिका हिसाबले भुटान कुनैबेला हाम्रो देश भन्दा निकै तल थियो। आज हुँदाहुँदा भुटानले समेत हामीलाई कोभिड–१९ विरुद्धको खोप दिनुपर्ने अवस्था आएको छ। 

त्यो सानो मुलुकले आफ्ना नागरिकलाई खोपको व्यवस्था गरिसकेर आफूलाई सामान्य अवस्थामा पुर्‍याइरहेको छ। यो स्थितिमा ऊ अरूलाई सहयोग गर्ने अवस्थामा पुगेको छ। हामी भने सामान्य ढंगले नागरिकलाई लामबद्ध गराएर खोप लगाउनसमेत नसक्ने व्यवस्थापकीय क्षमतामा छौँ। राजनीतिक परिवर्तनका निम्ति हामीमा उत्कट अभिलाषा देखिन्छ तर त्यसलाई व्यवस्थापन गर्ने ढंग हामीमा देखिँदैन। शासन संचालन गर्न हामी जान्दैनौं। हाम्रो त्यही बेढंगी पारा कोभिड–१९ का सन्दर्भमा पटक–पटक मुखरित भएको छ। वास्तवमा यो अति सामान्य पक्ष भए पनि त्यसमा ध्यान नदिँदा पटक–पटक बन्दाबन्दी गर्नुपर्ने र सर्वसाधारणको जीवनलाई कठिनाइमा पार्ने स्थिति अत्यन्तै चिन्ताजनक छ।  

सरकारको एक सूचनाअनुसार दैनिक दुई–तीन लाख मानिसले खोप लगाइरहेका छन्। प्रदेशमा पनि ४०–५० हजारले खोप लगाउने गरेका छन्। खोप अभियानका हिसाबले हाम्रो मुलुक उम्दा छ। पहिले पनि विभिन्न खोप अभियान राम्ररी चलेका छन्। अहिलेको अभियान पनि त्यसरी नै व्यवस्थित हुन सक्छ। तर अचानक खोप केन्द्रलाई भीडले छोपेपछि स्वाभविकरूपमा संक्रमण फैलिने नै भयो। यस्ता भीडभाडमा खोप लगाएर फर्केको पाँच–छ दिनमा बिरामी बिरामी हुन थालेका घटनाले पनि यी केन्द्र संक्रमणको कारक बनेछन् भन्ने थाहा भएको हो। नेपालमा झण्डै एक करोड मात्रा कोभिसिल्ड, भोरोसेल र जोन्सन एन्ड जोन्सन खोप आइसकेको छ। त्यसमध्ये पहिलो मात्रा लगाउने संख्या करिब ४१ लाख छ। दोस्रो मात्रा लगाउने १८ लाख भन्दा केही बढीमात्र छ।  

खोप अभियान व्यापक बनाएरमात्र कोभिड–१९ बाट सिर्जित असजिलो जित्न सकिन्छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्दै भनेका थिए– ‘खोप, खोप र खोप।’ यसबाट खोपलाई उनले उच्च प्राथमिकतामा राखेको बुझ्न सकिन्छ। प्रधानमन्त्रीको यो उद्देश्य त्यतिबेला पूरा हुन्छ, जतिबेला सिंगो संरचनाले यसका निम्ति पहल गर्छ। एकातिर खोप अभियानलाई तीव्र पार्नुपर्ने आवश्यकता छ अर्कोतिर अस्पतालमा समेत पूर्वाधार बढाउनुपर्ने स्थिति छ। २०७६ चैतयता साउन १७, २०७८ सम्ममा कोरोना संक्रमितको कुल संख्या सात लाख ५९ हजार नाघिसकेको छ। यतिबेला मुलुकमा सक्रिय संक्रमित संख्या २८ हजार ६३ रहेको छ। केही दिनयता अस्पतालमा गम्भीर बिरामी संख्या बढिरहेका छन्। त्यस आधारमा अस्पतालले व्यवस्थापन गर्नुपर्ने अवस्था छ।  

एकातिर, कोभिड–१९ को तेस्रो लहरको खतराबारे जानकारहरूले सजग गराइरहेका छन्। अर्कोतिर अहिले जारी दोस्रो लहरमै फेरि विस्तार भइरहेको स्थिति छ। यसले गर्दा जनजीवन फेरि सहज हुन नसक्ने खतरा बढिरहेको छ। यो स्थितिलाई मनन् गर्दै सरकारले आमनागरिकलाई जोगाउन विशेष कदम चाल्नु उचित हुन्छ। तत्काल भीड हुने गतिविधि नगर्नेतर्फ सजग गराउनु उचित हुन्छ। सकेसम्म सबै नागरिकलाई खोप लगाएर स्वास्थ्य मापदण्ड पालना गर्दै अघि बढ्न प्रेरित गर्नुपर्छ। 

अन्यथा यसले थप जनधनको क्षति गनेछ। हाम्रा कैयन् परिवारले यसबीच आफ्ना प्रियजन गुमाएका छन्। हाम्रो मुलुकमा कोरोना संक्रमणका कारण ९ हजार ८ सय ७५ जनाको निधन भइसकेको छ। यो संख्या चानचुने होइन। यो क्षतिको मूल्य प्रत्येक परिवारलाई महँगो परेको छ भने देशका निम्ति पनि गम्भीर हो। कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखेर यथोचित रणनीति अपनाउन सरकारले विशेषज्ञहरूको सहयोग लिनुपर्छ। यसबाट जोगिन आंशिक बन्दाबन्दी गर्न पनि पछि पर्नुहुँदैन।

प्रकाशित: १९ श्रावण २०७८ ०४:१३ मंगलबार

सम्पादकीय फेरि कोभिड कहर