९ मंसिर २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

कोरोनाको मनोसामाजिक कहर

कोरोना महामारी सुरु भएको एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा मात्र होइन, आर्थिक–सामाजिक मामिलामा पनि उत्तिकै गम्भीर असर पुगेको छ । विशेष गरी स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार नभएकै कारण मानिस ज्यान गुमाउन बाध्य भएका छन् भने लामो समयको लकडाउनका कारण अर्थतन्त्र चौपटमा परेको छ । मानिसको रोजगारीमा संकट आएको छ भने त्यसैका कारण व्यक्तिको गुजारामा कठिनाइ भएको छ । भोकमरीको चपेटाले ठूलो जनसंख्यालाई प्रभावित बनाएको छ । सामाजिक जीवन खलबलिएको छ । यसको प्रभावबाट उठ्न समग्र विश्व, विशेष गरी गरिब र विकासोन्मुख राष्ट्रलाई अझै धेरै समय लाग्ने देखिएको छ । त्यसो त अझै पनि यसको नियन्त्रण केकसरी होला यकिन भइसकेको छैन । कोरोनाविरुद्ध खोप लगाउने अभियान केही विकसित राष्ट्रमा सुरु भएसँगै एक किसिमको आशा देखिए पनि पछिल्लो समय बेलायतमा देखिएको नयाँ किसिमको कोरोना भाइरसका कारण फेरि अन्योल देखिएको छ । अहिले बनिसकेका र परीक्षणमा रहेका खोप यी सबै किसिमका कोरोना भाइरसका लागि केकति प्रभावकारी हुन्छन् भन्ने विषयमा दैनिकजसो नयाँ तथ्य आइरहेका छन् । फेरि गरिब मुलुकमा त्यस किसिमका खोपको पहुँच केकसरी र कहिलेसम्म  हुन्छन् भन्ने पनि बहसको विषय बनेको छ । संसारको कुनै एक कुनामा मात्रै किन नहोस्, भाइरस रहेको अवस्थामा यसले विश्वलाई पिरोलिरहनेछ । मार्सल म्याकलुहानले भनेझैं संसार नै एउटा गाउँमा रूपान्तरित भएको छ, जसले गर्दा विश्वको कुनै एक कुनामा रहेको भाइरस सजिलै अर्काे कुनामा फैलिहाल्छ । 

समाजमा अहिले कोरोना महामारीको ‘साइड इफेक्ट’ का रूपमा देखिएका मनोसामाजिक समस्या सम्बोधनमा पनि ध्यान केन्द्रित गर्न जरुरी छ । अन्यथा, यस किसिमका समस्यालाई अहिले बेवास्ता गर्ने हो भने यसले दीर्घकालसम्म असर गरिरहन्छ ।  

त्यसो त चीनको वुहानबाट कोरोना भाइरस महामारी सुरु भएको मानिन्छ । यद्यपि यसको सुरुआत कहाँबाट भएको भन्नेमा अहिले पनि एकमत छैन । यसको विषयमा विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको छ । तर, अहिलेसम्मको तथ्यको आधारमा चीनको वुहानलाई कोरोना सुरुआतको केन्द्र मानिँदै आएको छ ।  गत वर्ष ३१ डिसेम्बरमा वुहान म्युनिसिपल हेल्थ कमिसनले वुहानमा निमोनियाका केसहरू देखिएको तथ्य पहिलो पटक सार्वजनिक गरेको थियो, जुन पछि नोवल कोरोना भाइरस भएको प्रमाणित भयो । चीनले यस्तो केस देखिएलगत्तै वुहानमा कडा लकडाउन गरी आवतजावत बन्द गरेको पनि हो । तैपनि यो भाइरसबाट अहिले विश्वका २ सय २० देश प्रभावित भएका छन् । एक हिसाबले भन्ने हो भने यो भाइरस अहिले संसारभरि नै फैलिएको छ । यो भाइरसको संक्रमणबाट कुनै मुलुकले बढी क्षति व्यहोरेका छन् भने कतिले धेरै कम । जुन मुलुकमा स्वास्थ्य क्षेत्रका पर्याप्त पूर्वाधार थिए र संक्रमण देखिनेबित्तिकै तत्कालै पूर्वाधार निर्माण गरे, त्यस्तो मुलुकमा कम क्षति भयो । तर, ती मुलुक जोसँग न पर्याप्त पूर्वाधार थिए न संक्रमण देखिएपछि नै पूर्वाधार निर्माण गरियो, त्यस्ता मुलुक कोरोनाका कारण धेरै क्षति बेहोर्नेमा परे । हाम्रो जस्तो मुलुकमा न पर्याप्त स्वास्थ्य पूर्वाधार निर्माण गरिएको थियो, न संक्रमण सुरु भएपछि नै स्वास्थ्य पूर्वाधार विकासमा ध्यान दिइयो जसले गर्दा कोरोना संक्रमण देशैभरि फैलिन पुग्यो । र, यसले जनस्वास्थ्यदेखि व्यक्तिको आर्थिक–सामाजिक जीवनलाई नराम्ररी प्रभावित बनाइदियो ।  

महामारी सुरु हुनेबित्तिकै चीनले एक हप्तामै ठूला अस्पताल निर्माणदेखि स्वास्थ्य जनशक्तिको परिचालन गरेर यसको प्रभावलाई न्यूनीकरण गरेको समग्र विश्वले देखेकै हो । तर, कतिपय मुलुकले सुरुका दिनमा यसलाई खेलाँचीको विषय बनाए, जसको चर्काे मूल्य अहिले चुकाउनुपरेको छ । २१औं शताब्दीको पहिलो चौथाइमा सुरु भएको यो महामारीले विश्वका ८ करोडभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ भने १७ लाख ६६ हजार जनाको मृत्यु भएको छ । विश्वकै अर्थतन्त्र नराम्रोसँग खुम्चिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले गत जुनमा गरेको एक प्रक्षेपणका अनुसार सन् २०२० मा विश्व अर्थतन्त्र अपेक्षा गरिएको वृद्धिभन्दा ८ प्रतिशतले खुम्चने देखिएको छ । सुरुमा ३ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएकोमा यो ५ प्रतिशतले खुम्चेर दोस्रो विश्वयुद्धयताको सबैभन्दा ठूलो संकुचन देखिएको छ । सन् २००९ को विश्वव्यापी मन्दीमा विश्व अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले मात्र खुम्चिएको थियो । नेपालको सन्दर्भमा विश्व बंैकको गत अक्टोवरमा एक प्रक्षेपण गर्दै अर्थतन्त्रको आकार सन् २०२० मा शून्य दशमलव २ प्रतिशतले मात्र बढ्ने जनाएको थियो जबकि चालू बजेटमा ७ प्रतिशतले अर्थतन्त्रको वृद्धि हुने लक्ष्य लिइएको छ । महामारीले सबैभन्दा बढी अनौपचारिक क्षेत्रमा कार्यरत कामदार प्रभावित भएका छन् र त्यसको असर समग्र अर्थतन्त्रमा परेको छ ।  

कोरोना महामारीले ल्याएको अर्काे जटिल समस्या हो, मनोसामाजिक । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले हालै गरेको एक अध्ययनमा कोरोना भाइरसका कारण हरेक ४ मध्ये १ जना प्रौढले आत्महत्या गर्ने चाहना राखेको देखाउनुले यसले मनोसामाजिक पक्षमा पारेको भयावह प्रभावलाई देखाउँछ । त्यसो त यसरी मनोसामाजिक पक्ष खलबलिएको अमेरिकामा मात्र होइन, सबैतिर हो । हाम्रो समाजमा पनि यो समस्या भित्रभित्रै भुसको आगोझैं सल्किएको भनी सम्बन्धित क्षेत्रका जानकारले चेतावनी दिँदै आएका छन् । तर, यो पक्षलाई सम्बोधन गर्ने गरी सरकार र अन्य सरोकारवाला पक्षले तदारुकता देखाएको पाइँदैन । यसले भविष्यमा अर्काे जटिल स्वास्थ्य समस्या ल्याउन सक्ने सम्भावना त छ नै साथै दीर्घकालसम्म पनि प्रभाव पारिरहनेछ । त्यसैले पनि तत्कालको स्वास्थ्य संकट टार्न स्वास्थ्य पूर्वाधार निर्माण गर्नुका साथै त्यससँग पर्याप्त जनशक्तिको व्यवस्थापन आवश्यक छ नै साथै सर्वसाधारण नागरिकमा खोपको पहुँचको सुनिश्चितता गर्न पनि उत्तिकै आवश्यक छ । यसका साथै आर्थिक क्षेत्रलाई चलायमान बनाउन त्यसै किसिमका कार्यक्रम ल्याउन पनि जरुरी छ । त्यति मात्र होइन, समाजमा अहिले कोरोना महामारीको ‘साइड इफेक्ट’ का देखिएका मनोसामाजिक समस्याको सम्बोधनमा पनि ध्यान केन्द्रित गर्न जरुरी छ । अन्यथा, यस किसिमका समस्यालाई अहिले बेवास्ता गर्ने हो भने यसले दीर्घकालसम्म असर गरिरहन्छ ।

प्रकाशित: १४ पुस २०७७ ०३:५१ मंगलबार

Download Nagarik App
Download Nagarik App