सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुनुमा दुवै पक्षले एक अर्काे समूहलाई दोषारोपण गर्न थालिसकेका छन् । आफूलाई घेराबन्दी गरेको र अर्काे समूहले बहुमतको नाममा निषेध गरेका कारण पार्टी विभाजनको अवस्थामा पुगेको ओली पक्षको तर्क छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षले चाहिँ ओलीले नेताहरूलाई अपमान गरेका र गुटलाई मात्रै प्रश्रय दिएकाले अहिलेको अवस्था आएको तर्क गरेको छ । तर्क जेसुकै भए पनि पार्टी विभाजन हुनुको एउटा कारण भने प्रस्ट छ–आन्तरिक लोकतन्त्रको अभाव । प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक शक्ति सन्तुलन बुझेर सुरुदेखि नै आपसमा परामर्शको आधारमा पार्टी र सरकार सञ्चालन नगरेको परिणाम विभाजन नै हुन पुग्यो । अहिले नेकपा विभाजित मात्रै भएन, मुलुकको राजनीति फेरि एकपटक अस्थिरता र अनिश्चयतर्फ फर्केको छ ।
पार्टीका विभिन्न कमिटीहरूमा छलफल गरी त्यसैको आधारमा अघि बढेका भए नेकपामा अहिलेको दुर्दिन आउँदैनथ्यो होला । जब कुनै पनि पार्टी विधि र पद्धतिभन्दा व्यक्ति हावी भएर अघि बढ्छ, त्यसमा विभाजन र विग्रह अवश्यभावी हुन्छ । अहिले नेकपामा भएको पनि त्यही हो ।
तत्कालीन पार्टी एमाले अध्यक्षमा ओली निर्वाचित भए पनि नेपाल पक्षको शक्ति पनि उत्तिकै बलियो थियो । त्यो त महाधिवेशनको क्रममा ओली झिनो मतले मात्रै निर्वाचित भएको तथ्यले पनि प्रस्टै पार्छ । ओली अध्यक्षमा निर्वाचित भएसँगै पार्टीभित्र एक्लै अघि बढ्न खोजिरहेका थिए । त्यसैको परिणाम ओलीले पार्टीमा कुनै परामर्श नगरी निर्वाचन नजिकिएका बेला तत्कालीन माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा जाने र पछि पार्टी एकीकरण नै गर्ने निर्णय गरिदिए । त्यतिबेला अध्यक्षको यो निर्णयप्रति सानोतिनो असन्तुष्टि भए पनि प्रकट हुन सकेन । जब निर्वाचनमा दुई दलको गठबन्धनले झन्डै दुई तिहाई बहुमत ल्यायो, पार्टी एकीकरणप्रति कसैको असन्तुष्टि भएन । तर, पार्टी एकीकरण भएर नेकपा बनेपछि पनि ओलीले आफ्नो पूर्ववत् शैली कायमै राखे । जसको परिणाम अहिले पार्टी पूर्ण रूपमा एकीकृत नहुँदै विभाजित हुन पुग्यो ।
पार्टी एकीकरणपछि ओली र दाहाल दुवै अध्यक्षबीच यति धेरै मिलन थियो कि आपसमा मिलेर पार्टीका अन्य शीर्षस्थ नेतालाई किनारा लगाउँदै गए । तर, त्यो समूहमा प्रधानमन्त्री भइसकेका नेताहरूदेखि पार्टीको पदाधिकारीमा निर्वाचित भएका नेताको पंक्ति र उनीहरूको पछाडि पनि ठूलै समूह थियो । नेकपाको आन्तरिक सन्तुलन त्यहीँबाट खल्बलिन थाल्यो, जसको संकेत पार्टीका वरिष्ठ नेता नेपालले उतिबेलै गरिसकेका थिए । नेपालले उतिबेलै ‘पार्टीलाई दुई अध्यक्षको चोचोमोचोका आधारमा होइन, विधि र पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने’ बताउन थालेका थिए । तर, पार्टीभित्र झिनो स्वरमा उठेको त्यो आवाजको खासै सुनुवाइ नभए पनि पार्टीभित्र उकुसमुकुसको वातावरण बढ्दै गयो ।
ओली पार्टी र सरकार दुवैतिर शक्तिशाली भए । उनको कदमप्रति न पार्टीभित्र न प्रतिपक्षले नै प्रश्न उठाए । यसले ओलीको आत्मविश्वास झनै बढायो, जसकारण उनले कसैलाई टेर्न छाडे । पार्टीका अर्का अध्यक्ष दाहाललाई पनि नेपाललाई झैं किनारा लगाउन खोजे । त्यसपछि पार्टीमा दाहाल र नेपाल एकीकृत हुन थाले र त्यहीँबाट ओली विस्तारै कमजोर हुँदै गए भने उनीप्रति प्रश्न पनि उठ्न थाल्यो । सायद यतिखेर ओलीले ती प्रश्नको सामना गर्दै पार्टीलाई पद्धतिसम्मत चलाएको भए समस्याको समाधान त्यहीँबाट आउँथ्यो । तर, ओलीले आफूप्रतिको प्रश्नलाई षड्यन्त्र देख्न थाले र त्यस्तो आवाज उठाउनेलाई झनै किनारातर्फ धकेले, जसले पार्टीमा तीव्र ध्रुवीकरणको अवस्था आयो । त्यसो त विभाजनपछिको भेलालाई सम्बोधन गर्ने क्रममा पनि दाहालले यो कुरालाई स्वीकार गरी ओलीबाट पीडित भएकाहरू एक ठाउँमा उभिएको बताएका छन् । पार्टीका विभिन्न कमिटीमा छलफल गरी त्यसैको आधारमा अघि बढेका भए नेकपामा अहिलेको दुर्दिन आउँदैनथ्यो होला । जब कुनै पनि पार्टी विधि र पद्धतिभन्दा व्यक्ति हावी भएर अघि बढ्छ, त्यसमा विभाजन र विग्रह अवश्यभावी हुन्छ । अहिले नेकपामा भएको पनि त्यही हो ।
कुनै पनि पार्टी जीवन्त हुन कमिटीहरूमा हुने छलफल र त्यसले तय गर्ने विधि एवं पद्धतिले ठूलो अर्थ राख्छ । अर्थात् कुनै पनि पार्टीले अवलम्बन गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासले नै त्यस पार्टीलाई सही मार्गनिर्देश र एकीकृत बनाउँछ । तर, एमाले र माओवादीबीच पार्टी एकीकरण भएर जब नेकपा बन्यो, यो पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यासमा कहिल्यै ध्यान दिएन । पार्टीका कमिटीहरूलाई तदर्थ संरचनाको रूपमा परिणत गरियो, जसले त्यहाँ बहस र छलफल हुनै छाड्यो । अर्काेतिर ओली र दाहालले व्यक्तिगत हिसाबले पार्टी सञ्चालन गर्न थाले । जब ती दुईबीच स्वार्थको टकराव भयो, विवाद पनि त्यहीँबाट सुरु भयो । र, त्यही विवादले अन्ततः नेकपालाई विभाजित पनि बनायो । स्वार्थ मिल्नेबित्तिकै एकीकरण गर्ने र त्यसमा टकराव हुनेबित्तिकै सैद्धान्तिक लेपन लगाउँदै पार्टी विभाजन गर्ने वामपन्थी दलहरूको पुरानै रोग हो । यसपटक नेकपाको विभाजनमा सैद्धान्तिक विवादभन्दा पनि पदीय झगडा नै मुख्य कारकको रूपमा देखिएको छ ।
त्यसो त विगतमा पनि राजनीतिक दलहरू पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएकै कारण विभाजित भएका उदाहरण छन् । अहिले पनि सबै दलमा आन्तरिक लोकतन्त्रको खडेरी छ । नेतृत्वप्रति प्रश्न उठाउने नेता÷कार्यकर्तालाई विपक्षीलाई जस्तो व्यवहार गर्ने प्रचलन छ । मुख्य कुरा राजनीतिक दलको नेतृत्वमा रहेका व्यक्ति प्रशंसा मात्र सुन्न रुचाउने तर आलोचना सहनै नसक्ने खतरनाक प्रवृत्ति हावी भएको देखिन्छ । कमीकमजोरी औंल्याउने र विधि एवं पद्धतिको कुरा गर्नेलाई नेतृत्वले नै किनारा लगाउने र प्रशंसा गर्नेलाई नजिक ल्याउने गर्छन् । यसले स्वाभाविक रूपमा हरेक पार्टीभित्र गुट र त्यसभित्र पनि उपगुटको जन्म भइरहेको छ । तर, यी गुट/उपगुटलाई एकीकृत गर्ने÷गराउने पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासले हो । त्यसैले पार्टीलाई एकीकृत र जीवन्त राख्ने हो भने जुनसुकै दल किन नहोऊन्, उनीहरूले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्नैपर्छ । अन्यथा, सबैको हविगत नेकपाकै जस्तो हुनेछ ।
प्रकाशित: ९ पुस २०७७ ०४:५५ बिहीबार