त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहभन्दा बढी चर्चा यसले सहरको सवारी व्यवस्थापनमा पारेको अस्तव्यस्तताको भइरहेको छ। सहरमा आयोजना हुने कुनै एउटा कार्यक्रमले यातायात अस्तव्यस्त हुनुको मुख्य कारण हो-शासकीय तुजुक। राष्ट्रपति रामचन्द्र पौडेललाई समारोहको प्रमुख अतिथि बनाउने भएपछि सवारीलाई सहज बनाउन मिलेन। राष्ट्रपति हिँड्ने बाटो सुरक्षित बनाउनै पर्छ भन्ने सोच सुरक्षा निकायको हुनु स्वाभाविक हो। अति विशिष्टको यात्राका निम्ति सर्वसाधारणका सवारी छेकेपछि सोमबार बिहानदेखि दिनभरिको व्यस्त समयमा सबैले दुःख पाए।
राष्ट्रपति सडकमा उत्रिएपछि सर्वसाधारणले बाटो छाड्नुपर्छ भन्ने मान्यता अझै फेरिएको छैन। हिजो राजा/महाराजाका पालामा पनि सर्वसाधारणले बाटो छाड्नै पथ्र्यो, आज पनि त्यसै गर्नुपरेको छ। अति विशिष्टको ‘सवारी’ का नाममा सर्वसाधारणले हिजोकै जस्तो दुःख पाउनु परेपछि त्यसले फेरि पनि व्यवस्थाविरुद्ध आक्रोशको वातावरण निर्माण गर्छ। लोकतन्त्रमा नागरिकले बाटो छाड्नुपर्ने र आफूले चाहेको गन्तव्यमा समयमा पुग्ने अवस्था प्रीतिकर हुँदैन। पौडेलले मुलुकको राष्ट्राध्यक्षको जिम्मेवारीमा पुगेपछि सर्वसाधारणसरह हिँड्ने वाचा गरेका पनि हुन्। त्यसैअनुसार केही ‘सवारी’ का क्रममा सर्वसाधारणको गति धेरै अवरुद्ध भएन पनि। फेरि अहिले आएर परिस्थिति जस्ताको तस्तै हुन पुगेको छ।
एकातिर, त्रिभुवन विश्वविद्यालयले करिब १२ हजार विद्यार्थी दीक्षित हुने कार्यक्रम यसको मुख्यालय कीर्तिपुरमै आयोजना गरेको भए पनि हुने हो। अर्कोतिर, यस्तो कार्यक्रम सहरको बीचमा ल्याएर गर्ने हो भने पूर्वसूचना दिएर बाटो अन्यत्रको प्रयोग गर्न वा सार्वजनिक बिदाको दिन पारेर आयोजना गर्न सकिन्थ्यो। दीक्षान्त समारोह निश्चय पनि गौरवलायक हुन्छ। यसबाट दीक्षित विद्यार्थी, अभिभावक, शैक्षिक संस्थालगायतका निम्ति अविस्मरणीय क्षण हो। त्यसैकारण प्रत्येक दीक्षितसँग जोडिएका परिवार र अन्य सदस्य त्यहाँ आउनु स्वाभाविक हुन्छ। कति व्यक्ति कार्यक्रममा आउँछन्, त्यसले सहरको यातायातलाई कस्तो असर पार्छ र अन्य व्यवस्थापन के हुन्छ भन्ने हेर्नु आवश्यक छ।
अरू सर्वसाधारणको कुरा छाडिदिउँ, मुख्य सहर छिर्ने गौँडाहरू तीनकुने, कालीमाटी जस्ता ठाउँबाटै सार्वजनिक यातायात फर्काइदिएपछि दीक्षान्त समारोहमै आउनुपर्ने विद्यार्थी कसरी सहभागी हुन सक्छन्? सरोकारवाला निम्तालु कसरी आउन सक्छन्? के राष्ट्रपति वा एकाध ठूलाबडा मात्र आइदिएर दीक्षान्त समारोह सफल हुन्छ? यस्ता विषयमा न आयोजक न त सुरक्षा निकायले नै ध्यान दिएको देखियो। अर्कोतर्फ निजी बाहनहरूलाई भने निर्वाध प्रवेश दिइयो। निजी सवारी प्रयोग गर्नेलाई छूट तर सार्वजनिक सवारीमा यात्रा गरेर आउनेलाई चाहिँ निषेधको अर्थ के हो? ल मानौँ, सार्वजनिक सवारी पनि सहरभित्र छिर्न दिइएको भए ट्राफिक जामले अस्तव्यस्त हुन्थ्यो। तर सार्वजनिक यातायातलाई सहर छिर्ने नाकाहरूमै रोक्दा पनि कोर काठमाडौँको यातायात त दिनभर नै ‘जाम’ रह्यो। त्यसैले यस्तो व्यवहार अवैज्ञानिक मात्र हैन, अव्यावहारिक पनि थियो। जसले समग्रमा सरकारी अक्षमता नै छताछुल्ल तुल्याइरहेको थियो।
सोमबारको घटनाले पुष्टि गरेको एउटा विषय हाम्रा सुरक्षासम्बन्धी सरकारी संयन्त्र अहिले पनि कच्चा छन् भन्ने हो। न उनीहरूमा ट्राफिक व्यवस्थापनको कला देखियो न त क्षमता नै। बाटो बन्द गरेर शान्ति सुरक्षा हुन्छ भन्ठान्नु नै गलत हो। यही घटनाले पुष्टि गरेको अर्को विषयचाहिँ अब काठमाडौँ बिनाबन्द एउटा गतिलो कार्यक्रम आयोजना गर्न पनि नसक्ने अवस्थामा पुग्यो भन्ने हो। नत्र एउटा महानगरका लागि अर्थात् संघीय राजधानीका लागि १२ हजार जना सहभागी हुने कार्यक्रम सम्पन्न गर्न कोकोहोलो मच्चाउनुपर्ने अवस्था पक्कै होइन। यो विशुद्धरूपमा सरकारी निकायहरूबीच समन्वय र कौशलको अभाव हो। अपरिपक्वताको प्रदर्शन पनि हो।
राष्ट्रपति राष्ट्र प्रमुख हुन् तर यसको मतलब उनी करिब तीन करोड नेपालीभन्दा माथि कुनै हालतमा हैनन्। एकजनाको सुरक्षाका लागि लाखौँ सर्वसाधारणले दुःख सहिदिनुपर्ने कारण के हो ? बुझ्नु पर्ने कुरा के हो भने, सुरक्षा संवेदनशीलताका हिसाबले छिमेकी मुलुकको तुलनामा शान्त नेपालमा कसैलाई सुरक्षा प्रदान गर्ने नाममा बाँकी जनतालाई यसरी आतंकित तुल्याउनु जरुरी छैन। सोमबारको घटनाले सरकारमाथि बढिरहेको आक्रोशमा यही कारण ‘घिउ थप्ने’ काम गरेको छ।
उसै त त्रिवि राजनीति गर्ने थलो भयो, दलीय कार्यकर्ता व्यवस्थापन गर्ने ठाउँ बन्यो, शैक्षिक केन्द्रभन्दा विसंगति/विकृतिको मुहान बन्यो भन्ने जस्ता आरोप यो संस्थामाथि लागिरहेको छ। यसरी नकारात्मक धारणा बन्दै गरेका बेला त्रिविकै कार्यक्रमका कारण सर्वसाधारणले दुःख पाउनुपर्दा यसको अपजस पनि उसैको थाप्लोमा जान्छ। त्यसैले आफ्नो अधिकारबापत गरिने कुनै पनि कार्यक्रमले अरूको अधिकार हनन हुनु हुँदैन भन्नेतर्फ सोच्नु जरुरी छ। चाहे यो घटनामा त्रिविको कुनै हात किन नहोस्।
यो कार्यक्रमलाई अफिसियल वल्र्ड रेकर्डका निम्ति पनि आयोजना गरिएको छ। यस्तो आयोजनाका निम्ति दशरथ रंगशाला छानिएको हुनुपर्छ। विश्वविद्यालयको विश्व वरियताक्रम घट्दै जाने र संख्याका हिसाबले मात्र अभिलेख राख्ने कामले कुनै गौरवबोध हुँदैन। मुलुककै जेठो शैक्षिक संस्था त्रिविले शैक्षिक उन्नयन र अनुसन्धानका क्षेत्रमा अपेक्षित परिणाम दिन सकेको छैन। देशका निम्ति आवश्यक जनशक्ति उत्पादन गर्दै आए पनि विश्वविद्यालयले आफूलाई समायानुकूल परिवर्तन गर्न सकेको छैन। राजनीतिक भागबन्डाको शिकार रहेको विश्वविद्यालयले आफूलाई झन्झन् रसातलतर्फ धकेलिरहेको छ। आगामी दिनमा यस्ता पक्षमा विचार पुर्याउन सके न त्रिवि, न सरकार न राष्ट्रपति संस्था नै आक्रोशको भागिदार बन्नेछन्। गम्भीर विमर्श आवश्यक भइसकेको छ।
प्रकाशित: ३ पुस २०८० ००:१३ मंगलबार