सिक्किममा बुधबार सबेरै आएको बाढीले दर्जनौँको मृत्यु भएको छ भने सयजनाभन्दा धेरै सम्पर्कविहीन छन्। नेपालको जस्तै भूबनोट भएको सिक्किममा यो बाढीका कारण २२ हजारभन्दा बढी जनसंख्या प्रत्यक्ष प्रभावित भएको छ। सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा गत मंगलबार रातिदेखि मुसलधारे वर्षा भएपछि टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो। यसले लाचेन उपत्यकालगायत तल्लो तटीय क्षेत्रहरूमा अचानक १५–२० फिटसम्मले जलसतह बढेको थियो। झन् नजिकै रहेको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप खराब बनेको थियो। सिक्किमको उत्तरी क्षेत्रलाई अन्य राज्यसँग जोड्ने दुई वटा पुल बाढीले बगाएपछि त्यहाँको यातायात पनि अवरुद्ध भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो विपद्का कारण कैयौँ बस्तीमा बाढी पसेको छ। घर भत्किएका छन् र हजारौँ मानिस बिस्थापित भएका छन्।
विपद्को कारण त्यस क्षेत्रमा परेको भीषण वर्षा र त्यहाँ रहेको समुन्द्र सतहदेखि १७ हजार फिट उचाइमा रहेको ल्होनक हिमताल बिस्फोटलाई मानिएको छ। हिन्दकुश हिमालय क्षेत्रको मध्य तथा पूर्वी क्षेत्रमा यस्तो जोखिम झन् अधिक रहेको छ। इसिमोड र युएनडिपीले केही वर्षअघि गरेको अध्ययनअनुसार कोसी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा ३ हजार ६ सय २४ हिमताल छन्। यीमध्ये २ हजार ७० वटा नेपालमा, १ हजार ५ सय ९ चीनमा र ४५ वटा भारतमा पर्छन्। प्रतिवेदनमा यी तालमध्ये ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ। खतरायुक्त तहमा पुगेका हिमतालमध्ये २५ वटा ताल चीनमा, २१ वटा नेपालमा र एउटा भारतमा पर्छन्।
यो पृष्ठभूमिमा समान भौगोलिक बनावट भएको हिमाली राज्य सिक्किमा आएको बाढी र हिमताल बिस्फोटले नेपाललाई पनि सजग र सतर्क हुन सन्देश दिएको छ। यसप्रकारको प्राकृतिक विपद् रोक्न सजिलो नभए पनि यिनलाई केही मात्रामा न्यूनीकरण गर्न र विपद्ले गर्न सक्ने नोक्सान कम गर्न सकिन्छ। त्यसैले हिमताल बिस्फोट तथा हिमनदीको प्रवाहमा बढोत्तरीबाट हुने जोखिम र नोक्सानी न्यूनीकरणका लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको पूर्वसूचना प्रणालीको विकास हो।
पछिल्ला वर्षमा भारत, चीन, नेपाल, पाकिस्तान र भुटानमा यसप्रकारको पूर्वसूचना प्रणाली विकास पनि गरिएको छ। सिक्किमको उक्त लोनाक तालमा पनि यो प्रणाली जडान गरिएको थियो तर यो पूर्णरूपमा सञ्चालनमा आइनसकेका कारण तल्लो तटका स्थानीयलाई पूर्वसूचना हुन नसकेको मानिएको छ। यही कारणले त्यहाँ ठूलो स्तरमा मानवीय र भौतिक क्षति हुन पुग्यो। ल्होनक हिमताल बिस्फोटको जोखिममा रहेको थाहा हुँदाहुँदै पनि यो घटना हुन पुगेको छ।
विज्ञानले प्रष्ट भनेको छ, हिमाली उच्च भेगमा हिमताल बिस्फोटको खतरा बढेको छ। पृथ्वीको सरदर तापमानमा भएको वृद्धिका कारण हिउँ पग्लँदा हिमतालमा पानीको मात्रा बढेर तालले त्यो थेग्न नसक्दा तल्लो तटमा बाढीको जोखिम बढ्ने देखिएको हो। जलवायु परिवर्तनका कारण भारी वर्षा, बाढी, पहिरो तथा डुबानका घटना बढदो क्रममा छन्। केही वर्षअघि मेलम्चीमा आएको बाढी र यसै वर्ष मुस्ताङमा आएको बाढीलाई विषम मौसमी घटनाका रूपमा लिन सकिन्छ।
यो सन्दर्भमा नेपाललगायत हिन्दकुश क्षेत्रमा अझै पनि हिमताललाई वातावरणीय प्रभाव र परिणामसँग जोडेर नहेर्नु दुःखको कुरा हो। तल्लो तटमा भौतिक निर्माण तथा बस्ती विकास गर्दा माथिल्लो तटमा रहेको जोखिमलाई ध्यानमा राख्नु अत्यावश्यक छ। यसैगरी चालु तथा निर्माणाधीन जलविद्युत् परियोजनाहरू तथा अन्य भौतिक संरचनालाई कसरी जोगाउने र नदी किनार तथा बाढी पहिरोको जोखिममा रहेका बस्ती कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिन जरुरी भइसकेको छ।
प्रकाशित: २१ आश्विन २०८० ००:१७ आइतबार