स्पेनदेखि आएका एक प्याराग्लाइडिङ पाइलट केही दिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को पोखरास्थित कार्यालयमा तीन घन्टासम्म बसे। ती विदेशीले प्राधिकरणमा तीन घन्टा बिताउनुको कारण थियो– प्याराग्लाइडिङ उडानको अनुमति लिनु तर प्राधिकरणले पोखराको सराङकोट क्षेत्रमा अहिले प्याराग्लाइडिङको सोलो (एकल) उडान बन्द गरिदिनु। यहाँको आकाशमा प्याराग्लाइडिङको टेन्डम (व्यावसायिक) उडान गर्ने अनुमति मात्र प्राधिकरणले दिएको छ।
सोलो उडान बन्द भएको थाहा नपाएका ती स्पेनी पाइलट प्राधिकरणमा अनुमति लिन पुगेका थिए तर उनलाई प्राधिकरणले अनुमति दिएन। उड्ने अनुमति नपाएपछि निराश भएर ती पाइलट फर्किए। यहाँको आकाशमा प्राधिकरणले प्याराग्लाइडिङको सोलो उडान बन्द गरिदिँदा स्पेनीजस्ता धेरै पाइलट मर्कामा परेका छन्। पोखराको अकाशमा उड्नकै लागि भनेर युरोपदेखि आएका धेरै विदेशी पाइलट पोखरामा रोकिएको यहाँका व्यवसायीले बताएका छन्।
सराङकोटको आकाशमा व्यावसायिकबाहेक अन्य खालका कुनै पनि उडान गर्न नपाउने गरी नेपालको हवाई सेवाको नियमनकारी निकाय प्राधिकरणले प्रतिबन्ध लगाएको छ। असोज ३० गते मानवीय क्षति हुने गरी सराङकोटमा प्याराग्लाइडिङ दुर्घटना भएपछि प्राधिकरणले सराङकोटको आकाशलाई व्यावसायिक उडानमा मात्र उपयोग गर्नुपर्ने गरी सोलोलाई प्रतिबन्ध लगाएको हो। यसकारणले विदेशी पाइलट अप्ठेरोमा परेका छन्; जो पोखराकै आकाशमा उड्ने भनेर ग्लाइडर बोकेर युरोपदेखि आएका छन्।
‘पोखराको आकाशमा सोलो उडान गर्न भनेर १०–१२ जना विदेशी पाइलट आइसकेका छन् तर उनीहरू उड्न पाएका छैनन्’, नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलट राजेश बमजन भन्छन्, ‘उड्न भनेर युरोपदेखि आएका उनीहरू पर्खेर बसेका छन् तर प्राधिकरणले अनुमति दिएको छैन। ती पाइलट निराश छन्। कतिपयका पाइसकेको उडान अनुमति पनि रद्द भएको छ।’
बमजनका अनुसार पोखरा अरूखाले पाहुनाका लागि पछिल्लो समय ट्रान्जिट मात्र बनेको छ तर लामो समय बस्ने पाहुना भनेकै प्याराग्लाइडिङका पाइलट हुन्। ती पाइलट कम्तीमा २ सातादेखि २ महिनासम्म बस्छन्। उनीहरू उड्दा सरकारलाई राजस्व तिर्छन् भने रेस्टुरेन्ट, होटल पनि चलायमान बनाउँछन् तर सोलो उडान भर्नेलाई विकल्प नदिई बन्द गराउँदा त्यसको मार परेको उनले बताए।
उनका अनुसार नेपालमा उड्न नपाउने सन्देश पाएका कतिपय विदेशी भारतको हिमाञ्चल प्रदेशको धरमशालानजिकको आकाशमा उड्न पुगेका छन्; जहाँ सयौंको संख्यामा सोलो उडान हुने गरेको छ। ‘पर्यटक आउने पिक सिजनमा यहाँ प्याराग्लाइडिङ पाइलटलाई उड्न रोकियो। यसको मार प्याराग्लाइडिङ मात्र नभई पर्यटनका सबै क्षेत्रमा पर्छ। प्याराग्लाइडिङलाई मात्र नभई सबैलाई घाटा भएको छ’, उनले भने, ‘कम्तीमा दुई साता बस्दा यहाँ ती पाइलटले केही रकम त खर्च गर्थे तर त्यस्तो खर्च नगरी फर्कने अवस्था आएको छ।’
सराङकोटको आकाश साँघुरो भयो भन्दै अन्यत्र पठाउँदा पाहुना जान नमान्ने उनले बताए। सबैतिर उचित व्यवस्थापन नहुँदा पाहुना जान नमानेको उनले बताए। ‘आकाशमा उड्ने भनेर मात्र हुँदैन, उचित सुरक्षासहित खानपिन र बसोबास तथा पहुँचको समेत राम्रो व्यवस्थापन हुनुपर्छ’, उनले भने। उनका अनुसार पोखराको प्याराग्लाइडिङ प्रवद्र्धन विदेशी सोलो पाइलटले गरेका हुन्। पोखरामा प्याराग्लाइडिङको सुरु सोलोबाट हुँदै व्यावसायिकतामा उक्लेको हो तर अहिले सोलोलाई नै व्यवस्थापन नगर्दा नेपालबारे नराम्रो सन्देश गएको उनले बताए।
‘प्याराग्लाइडिङमा सोलो उडानबिना ‘चार्म’ आउँदैन। टेनडमसँगै सोलोलाई पनि तत्कालै व्यवस्थापन गरेको भए हुन्थ्यो। व्यावसायिक उडानको समय छुट्याएर सराङकोटको आकाश केही समय सोलोलाई दिन सकिन्छ’, बमजन भन्छन्, ‘हाल टेन्डम उडान हुने सराङकोट र तोरीपानीबाहेक नजिकैका मान्द्रेढुंगा र ढिकीडाँडामा सोलो उडान अनुमति दिन सकिन्थ्यो।’
ठूलो खर्च गरेर प्याराग्लाइडिङ उड्न आउने पर्यटक प्रकृतिप्रेमी हुने प्रकृति नियाल्न आउने भएकाले यो अवरोधले ती विदेशीको मन दुखेको उनले सुनाए। ‘पैसा खर्च गर्छु भन्दा पनि प्रतिबन्ध लगाइएको छ। यो सिजनमा २–३ सय यस्ता पाइलट आउने गरेका थिए। यो सिजन विदेशीका लागि उपयुक्त भए पनि रोकिँदा मार परेको छ’, उनले भने, ‘पर्यटनका सबै क्षेत्रले आम्दानी गुमाएका छन्।’ त्यसबाहेक पाइलटले आफ्नो क्षमता अभिवृद्धि गर्न सोलो उडान गर्नुपर्ने भए पनि सोलोका लागि व्यवस्थापन जरुरी रहेको उनले बताए।
प्याराग्लाइडिङ पाइलटका अनुसार अक्टोबर र नोभेम्बरमा नेपाल प्याराग्लाइडिङ उडानका लागि सबैभन्दा राम्रो समय मानिन्छ। यो सिजनमा उड्नकै लागि भनेर विदेशीहरू ग्लाइडरको झोला बोकेर टाढाटाढादेखि आउँछन् तर अहिले आएका पाहुना पनि उड्न नपाएको पाइलट क्लबका अध्यक्ष विमल पहारी बताउँछन्। पहारी भन्छन्, ‘पोखराआसपासका क्षेत्रमा तत्कालै यसलाई व्यवस्थित गर्नुपर्छ। प्याराग्लाइडिङलाई हामीले खेल र व्यवसाय सोच्यौं तर प्राधिकरणले खेलका रूपमा हेरेन, व्यवसाय मात्र देख्यो। नेपालको प्रडक्ट भन्ने नै बिर्सियौं।’ उनका अनुसार यसरी आउने प्याराग्लाइडिङ पाइलटहरू पोखरामा लामो समय बिताउँछन् र प्राधिकरणसँग अनुमति लिएर उड्छन्। होटलमा बस्ने र रेस्टुरेन्टमा खानपिन गर्दा ठूलो रकम खर्चन्छन् तर त्यो सबै भुलेर सोलोलाई प्रतिबन्ध लगाइएको गुनासो अध्यक्ष पहारीको छ।
उनका अनुसार तोरीपानी र सराङकोटको आकाश व्यावसायिक उडानका लागि उपयोग गर्ने भए नजिकैको मान्द्रेढुंगा र ढिकीडाँडा सोलो उडानका लागि उपयुक्त छ। मान्द्रेढुंगा फेवातालभन्दा माथि पर्छ। ढिकीडाँडा पोखरा– १६ को अर्मलामाथिको आकाश हो। ‘मान्द्रेढुंगा र ढिकीडाँडा सोलो उडानका लागि उपयुक्त ठाउँ हो। लामो समय उड्न मिल्ने भएकाले उपयुक्त छ। त्यसबारेमा तत्कालै अध्ययन गरेर सोलोका लागि उडान खुलाउनुपर्छ’, पहारी भन्छन्, ‘पोखराको आकाशमा उड्नकै लागि भनेर आएका पाहुनालाई निराश बनाउनु हुँदैन। अहिले उड्नै नपाई फर्केका विदेशी आगामी दिनमा नआउन पनि सक्छन्। यसले नेपालको पर्यटन झन् मारमा पार्छ।’
पहारीका अनुसार सराङकोटको आकाशमा चाप भए पनि प्याराग्लाइडिङलाई सोलोले चिनाएको हुँदा व्यवस्थापन गर्नु जरुरी छ। ‘टेन्डम मात्र गरेको भए त नेपालले मेडल नै ल्याउँदैनथ्यो। सोलोलाई पनि ठाउँ दिनुपथ्र्यो। यो बेला विदेशी आउने समय हो’, उनले भने। सन् २०१८ मा इन्डोनेसियामा भएको अठारांंै एसियन गेममा नेपालले प्याराग्लाइडिङमा पहिलो सहभागितामै क्रसकन्ट्री (टिम इभेन्ट) मा रजत पदक जितेर नाम उँचो बनाउन सफल भएको थियो। राज्यले मेडल बिर्सेको उनले बताए।
पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने विदेशी पाइलटले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति लिनुपर्छ। प्राधिकरणले १५ दिनको ५ हजार रूपैयाँ लिएर अनुमति दिन्छ। १५ दिन कटे पुनः अनुमति लिनुपर्छ । अनुमति लिन जाँदा विदेशी पाइलटले कुनै पनि प्याराग्लाइडिङ कम्पनीमार्फत जानुपर्छ। किनभने पाइलटले कम्पनीकै टेकअफ र ल्यान्डिङ क्षेत्र उपयोग गर्नुपर्छ।
प्रकाशित: २३ कार्तिक २०७९ ०२:५० बुधबार