८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ। चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो।

दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन्। लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौँ प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ।  

तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताए। नेपाली व्यापारीले माग गरेलगतै चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले छिटो–छरितो रसुवागढी पुर्‍याउने गरेको व्यवसायीले बताउँदै आएका छन्।  

चालु आर्थिक वर्षको साउनदेखि दसैँ अगाडिसम्मको तथ्यांकले १६ कन्टेनर दाँते ओखर, चार कन्टेनर स्याउमात्र आयात भएको देखाएको छ। नेपालीको दोस्रो ठूलो चाडपर्व तिहार भएका कारण पछिल्लो समय स्याउका साथै ओखरको आयात बढ्न थालेको हो। अन्य सामानको सङ्ख्या सबै गणना गर्नुपर्ने र स्याउ तथा ओखरको शुल्कमा प्रति कन्टेनरको मात्र हिसाब हुने भएका कारण ढुवानीकर्ताको रोजाइ पहिलो फलफूल हुने गरेको पाइएको छ।

चीनको केरुङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको भन्दै चिनियाँ सीमा अधिकारीले गत साउन २१ गतेदेखि भदौ २९ गतेसम्म बन्द गराएको आयात ३० गतेदेखि पुनः सुरु भएको र पहिलाको तुलनामा आयात परिमाणसमेत केही मात्रामा बढेको सीमा अधिकारीले बताएका छन्। चालु आर्थिक वर्षको गत साउनदेखि असोज २७ गतेसम्म आयात भएका सामग्रीको मूल्यांकनबाट कुल एक अर्ब ४१ करोड भन्सार शुल्कवापत राजस्व दाखिला भइसकेको प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए।  

आयात भएका सामग्रीमध्ये स्याउ तथा हाइड्रोपावरका सामग्रीको शुल्क अत्यन्तै कम हुने प्रावधान छ। भन्सार हातामा प्रवेश गरेका सामग्री छिटोभन्दा छिटो मूल्यांकन गराइ जाँचपास गराउन यथेष्ट मात्रामा जाँचकी परिचालन गरिएको अधिकृत भण्डारीले बताए।  

गत भदौ ३० गतेयता समग्रमा रेडिमेट एक सय ७८, हाइड्रोका ८०, मेडिकल सामग्री दुई, फर्निचर दुई कन्टेनर डिब्बा र इलेक्ट्री कार नौ, इलेक्ट्री स्कुटरी तीनवटा आयात भइसकेको सीमा सुरक्षाकर्मीले बताएका छन्। नारायणप्रसाद भण्डारी नयाँ प्रमुखका रूपमा गत महिनाबाट रसुवा भन्सरमा बहाली गर्नुभएपश्चात सामान जाँचपास प्रक्रिया छिटोछरितो हुन थालेको चालकहरूले बताएका छन्। रासस

प्रकाशित: २९ आश्विन २०७९ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App