राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले एकै पटक मकैको तीन वटा नयाँ जात विकास गरेको छ।
करिब दश वर्षको अनुसन्धानपछि तराई र पहाडको हावापानी सुहाउँदो ‘रामपुर हाइब्रिड–१२, १४ र १६’ वर्णशंकर मकैको जात विकास गरेको हो। परीक्षण पूरा गरेर राष्ट्रिय बीउ गुणस्तर केन्द्रमा सिफारिस गरिएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले जानकारी दिए।
यसका लागि बीउ गुणस्तर केन्द्रको बीउबिजन समन्वय समितिले पारित गरेपछि मन्त्रीपरिषद्को बैठकले प्रमाणिकरण गर्ने गर्दछ। बीउबिजन समन्वय समितिले चैत महिनामै पारित गरिसकेको छ। मन्त्रीपरिषद्को बैठकले परित गर्ने चरणमा रहेको कुँवरले बताए। ‘हामीले सिफारिस गरेको मकै राजपत्रमा प्रकाशित भएपछि किसानका लागि सिफारिस गर्दछौँ,’ उनले भने, ‘अहिले निकालिएको जात तराई भित्रि मधेश र तल्लो पहाडी क्षेत्रका लागि उपयुक्त हुन्छ।’
यसअघि रामपुरले हाइब्रिड जातका गौरव, रामपुर हाइब्रिड–२, ४, ६, ८ र १० र खुमल हाईब्रिड–२ जातको विकास गरिसकेको छ। त्यसमध्ये गौरव जातको मकै सूचिबाट हटाउने तयारीमा रामपुर रहेको छ। रामपुर हाईब्रिड–२ खुमलटारले विकास गरेको थियो। प्रमाणिकरणको चरणमा रहेका तीन वटा जात मध्ये रामपुर हाइब्रिड–१४ र १६ जातको मकै विकास गर्न १० बर्ष र रामपुर हाइब्रिड–१२को जातको मकै विकास गर्न ६ वर्ष समय लागेको वैज्ञानिक (बाली विज्ञान) महेन्द्र त्रिपाठीले बताए।
यी जातमध्ये रामपुर हाइब्रिड–१२ जातको मकै समुन्द्र सतहदेखि ७ सय मिटरसम्म लगाउन उपयुक्त मानिएको छ। यो बसन्ते मकैका रुपमा माघ, फागुनमा रोप्न सकिने त्रिपाठीले जानकारी दिए। विशेष गरे तराई र भित्रि मधेशमा उपयुक्त मानिएको छ। रामपुर हाइब्रिड–१४ र १६ जातको मकै १२ मिटरसम्मको उचाइमा लगाउन सकिने उनले बताए। ‘विशेष गरेर तराई र तल्लो पहाडमा लगाउन राम्रो मानिएको छ,’ उनले भने, ‘यी जात हिँद र बर्खामा लगाउँदा उपयुक्त मानिन्छ।’
यी जात मध्ये रामपुर हाइब्रिड–१२को उत्पादकत्व बढी देखिएको छ। यसको उत्पादकत्व सरदरमा प्रतिहेक्टर ९ दशमलव ४५ मेक्ट्रिक टन रहेको उनले बताए। हामीले किसानको बारीमा समेत गएर परीक्षण गरिसकेका छौँ। ‘यसको (रामपुर हाइब्रिड १२) उत्पादकत्व प्रतिहेक्टर कम्तिमा ६ मेक्ट्रिक टन छ। बढीमा ११ मेक्ट्रिक टन देखिएको छ,’ उनले भने, ‘यसलाई एभ्रेजमा राख्दा ९दशमलव ४५ मेक्ट्रिक टन उत्पादन हुने अनुमान गरेका छौँ।’
रामपुर हाइब्रिड–१४ को उत्पादकत्व प्रतिहेक्टर ६ मेक्ट्रिक टन रहेको छ। यसको परीक्षणका क्रममा ४ देखि ८ मेक्ट्रिक टन रहेको उनले बताए। रामपुर हाइब्रिड–१६ जातको मकैको उत्पादकत्व सरदरमा ६ दशमलव ७२ मेक्ट्रिक टन रहेको छ। रामपुरका वैज्ञानिकले यसअघि आफै विकास गरेका मकैको बीउबाट रामपुर हाइब्रिड–१४ र १६ जातको मकै विकास गरेका हुन्।
‘रामपुरमा उत्पादन विकास गरिएको हाईब्रिड र रैथाने जातको बीउ राखेर परीक्षण गरियो। ५देखि ८ पटकसम्म परीक्षण गर्दा भाले पोथी पत्ता लाग्छ। तीनहरुलाई प्रयोग गरेर हाइब्रिड निकाल्ने हो’–राष्ट्रिय मकैबाली कार्यक्रम रामपुरकी वरिष्ठ वैज्ञानिक सरस्वती न्यौपानेले भनिन्, वयस्क भालेपोथि पत्ता लगाएपछि अनुसधान थालिन्छ।’ किसानकोमा परीक्षणका लागि २० वटा जात पठाउँदा २ वटामात्र सिफारिस भएका थिए।
रामपुर हाइब्रिड–१२जातको मकै भारतको सिमित संस्थाले पठाएको हाईब्रिड जातको बीउबाट उत्पादन गरिएको हो। यसको २०१७ बाट परीक्षण गरिएको थियो। १६ वटा हाईब्रिड पठाउँदा एक वटा मात्र सिफारिस गर्न योग्य भेटिएको हो।
यी जातको उत्पादन पत्ता लगाउनका लागि तराई क्षेत्रका इटहरी, सुनसरी, धनुषा, सलार्ही, बारा, मकवानपुर, चितवन, नवलपरासी बाँके र पहाडी क्षेत्रका डोटी, सुर्खेत, दैलेख, सल्यान, कास्की ललितपुर र धरानमा परीक्षण गरिएको थियो।
त्यहाँ माटो, किरा, रोग, बाली प्रजनन्, बालि विकाशका वैज्ञानिकलेसँगै अनुसन्धान गरेर सिफारिसका लागि पठाइएको वैज्ञानिक (किट) घनश्याम भण्डारीले बताए। मकैबाली कार्यक्रम सिफारिस गरिने जातको प्रजनन र मूल बीउको स्रोत केन्द्रको रूपमा रहने गरेको छ। उन्नत बीउ भने किसानले निजी बीउ कम्पनीहरूबाट पाउनेछन्। बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले यसको ट्यागिङ र ब्यागिङको काम गर्छ।
त्यस्तै कृषि ज्ञान केन्द्रले यसको प्रवर्द्धन गर्ने काम गर्छ। प्राइभेट कम्पनी र बीउ उत्पादन समूहले मूल बीउ लगेर उन्नत बीउ उत्पादन गरी किसानलाई उपलब्ध गराउँछन्। रामपुरमा मकैको अनुसन्धान निरन्तर चलिरहेको छ। यहाँ प्रत्येक दश/दश दिनमा मकै रोपेर परीक्षण समेत गरिँदै आइएको छ।
अहिलेसम्म ३९ वटा मकैको जात सिफारिस गरिएको छ। राप्ती जोन परियोजना अन्तगरत रामपुरमा २०२२ सालमा कृषि अनुसन्धान केन्द्र स्थापना भएको थियो। २०२९ सालबाट बाली विशेष कार्यक्रम भनेर रामपुरमा छुट्टै राष्ट्रिय मकैबाली कार्यक्रमको सुरुवात भएको थियो।
प्रकाशित: ६ भाद्र २०७९ ०८:५७ सोमबार