८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

‘हामी सुध्रेनौं, त्यसैले विस्थापित हुने अवस्था आयो’

पोखराको आकाशमा उडिरहेका प्याराग्लाइडिङ। फाइल तस्बिर: नागरिक

केही दिनअघि एक औपचारिक कार्यक्रममा नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीले गुनासो पोखे। उनको गुनासो थियो, ‘पोखराको आकाशमा झन्डै अढाई दशकदेखि उडिरहेको प्याराग्लाइडिङ हट्नुपर्ने अवस्था आउनुमा हामी पाइलट र व्यवसायी दोषी छौं।’

पहारीले त्यो पीडा यत्तिकै पोखेका थिएनन्। पाइलट पहारीले पोखेको दुःखेसोझैं यहाँको प्याराग्लाइडिङमा बग्रेल्ती समस्या थिए। तिनै समस्या बेलैमा समाधान नहुँदा पोखराको आकाशबाट सधैंका लागि बाहिरिनुपर्ने अवस्था आएको उनीहरूको स्वीकारोक्ति छ। हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरी १ अगाडि नै पोखराको आकाशबाट प्याराग्लाइडिङ उडान अन्यत्र सार्न भनिसकेको छ।

आगामी जनवरी १ देखि यहाँको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने र प्याराग्लाइडिङका कारण हवाई उडानमा जोखिम थपिने हुँदा प्याराग्लाइडिङलाई अन्यत्र सार्न प्राधिकरणले भनेको हो। प्राधिकरणले औपचारिक रूपमा पत्र पठाएर अन्यत्र सार्न नभने पनि उच्च पदाधिकारीले जनवरी १ अगाडि नै प्याराग्लाइडिङले पोखराको आकाश खाली गर्नुपर्ने बताएपछि यहाँको पर्यटनमा चिन्ता छाएको छ।

प्राधिकरणका उच्च पदाधिकारीको मौखिक निर्देशनपछि प्याराग्लाइडिङका पाइलट र व्यवसायीले आफ्नै कारणले सधैंका लागि विस्थापित हुनुपर्ने अवस्था आएको बताएका छन्। पाइलट क्लबका अध्यक्ष पहारी भन्छन्, ‘व्यवसायी र केही पाइलट अनुशासित नबन्दा आफूहरूमाथि प्रश्न उठाउँदै प्राधिकरणले प्याराग्लाइडिङलाई अन्यत्रै सार्न खोजेको हो। हामी आफू पनि सुध्रिनुपर्छ। हामीले पछिल्ला दुई वर्ष धेरै गल्ती गर्‍यौं।’ उनले पैसाका लागि भए जतिका उडान गरेको बताए। पछिल्ला दुई वर्ष मात्र सुधारिन सकेको भए प्राधिकरणले पोखराकै आकाशमा प्याराग्लाइडिङ उडानलाई नियमित हुन दिनेमा आशावादी हुनसक्ने अवस्था रहे पनि त्यसमा पटक्कै वास्ता नगरिएको उनले बताए।

आगामी जनवरी १ देखि यहाँको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने र प्याराग्लाइडिङका कारण हवाई उडानमा जोखिम थपिने हुँदा प्याराग्लाइडिङलाई अन्यत्र सार्न प्राधिकरणले भनेको छ। प्राधिकरणले औपचारिक पत्र नपठाए पनि उच्च पदाधिकारीले जनवरी १ अगाडि नै प्याराग्लाइडिङले पोखराको आकाश खाली गर्नुपर्ने बताएपछि यहाँको पर्यटनमा चिन्ता छाएको छ।

‘हामी सुध्रेको भए यो अवस्था आउने थिएन। यहाँबाट बाहिरिनुपर्ने अवस्था आउनुमा हामी पाइलट र व्यवसायी पनि कारक छौं,’ उनले भने, ‘कतिसम्म भने भ्याए जतिको उडान गर्दा एक दिनमा १२ सय उडान भएको थियो। महिनामा झन्डै ४० हजार यात्रु उडेका थिए। ती सबै यात्रु कोरोनाको पहिलो चरणको लकडाउनपछि उडेका थिए।’

‘आफ्नो क्षेत्र आफैंले बनाउने हो। यो घर हाम्रो थियो। हामीले राम्रो घर बनाएनौं। उडान शुल्कमा मनपरी गर्‍यौं,’ उनले भने, ‘आफैं मात्र उडिरहौं भन्ने सोच्यौं। आन्तरिक पर्यटकले कोरोनापछि अधिक माया गरे तर त्यो बेला झनै अव्यवस्थित गरियो।’ उनका अनुसार प्याराग्लाइडिङ उडानका पाइलट र व्यवसायीले यो अवधिमा धेरै मनपरी गरेका छन्। पाइलटले तोकेको आकाशभन्दा बाहिर गएर उडेका छन्। व्यवसायी पनि व्यवस्थापनभन्दा उडान गर्न मात्र सीमित भए। ‘भल छोपेजस्तो मात्र गरियो। व्यावसायिकता र कर्तव्य सोच्न नसक्दा असर परेको हो। व्यवसायी र पाइलटको कमजोरीले यहाँबाट हट्न बल परेको हो,’ उनले भने, ‘हामी कोही पनि कसैको नियन्त्रणमा रहन सकेनौं।’

पछिल्लो दुई वर्ष मिलेर काम गर्न सकेको भए हाम्रो काम देखेर नियमनकारी निकाय पनि पोखरामै प्याराग्लाइडिङ उडानलाई राखिरहन बाध्य हुने उनको भनाइ छ।  

‘हिजोसम्म पैसाका लागि मात्र सोच्यौं,’ उनले भने, ‘तर अहिले कठिन अवस्थामा छौं। अब पनि रहन नसके समस्या आउँछ।’ केही समयअघि पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको समेत ज्यान गयो। उडानका क्रममा फूल टिपेर यात्रुलाई दिन खोज्दा दुर्घटना भएको थियो। त्यसबाहेक उडान जोखिम मोल्दै तालको पानी छुवाउने, पात टिप्नेलगायत गतिविधि गराउँदा निकै आलोचना भएको थियो। त्यसपछि केही पाइलट कारबाहीमा पनि परेका थिए।

‘पैसाका लागि पनि पाएजतिको काम भयो। हामी पाइलट क्लब र छाता संस्था हवाई खेलकुद संस्थाले पटकपटक पाइलटलाई सुधार्न प्रयास गरेका हौं, तर सकेनौं,’ पहारीले भने, ‘कम्पनीले पनि जहाँ पायो त्यहीँबाट बुकिङ र उडान गरे। पाइलटले पनि जता भेट्यो, उतैबाट यात्रु उठाएर लगेर उडाउने गर्दा समस्या भएको हो।’ पहारीका अनुसार पोखराको आकाशमा अढाई दशदकदेखि उडिरहेको प्याराग्लाइडिङ विस्थापितको नजिक आएपछि बल्ल पाइलटले सुध्रिनुपर्छ भन्ने बmुझेका छन् तर यो बुुझ्न ढिलाइ भइसकेको छ। ‘हामीले त कमजोरी गर्‍यौं नै, हामीलाई नै अनुगमन नगर्दा पनि यो समस्या आएको हो। नियमनकारी निकायले कडाइ नगर्दा यो अवस्था बिग्रँदै गएको हो,’ उनले भने, ‘बेलाबेला सचेत बनाउन चाहेको भए हामीमा पनि सुधार आउँथ्यो। कतैबाट सुधार्ने प्रयास भएन। गल्ती हामीले पनि गरेका हौं। कोही पनि अनुशासनमा नबस्दा पनि आगामी दिनका लागि पोखरामा उड्ने अवस्था नपाउने देखिएको छ।’

उनका अनुसार अझै पनि कतिपय कम्पनी र पाइलटले सोचेका छैनन्। नियमनकारी निकाय प्राधिकरणले बेलाबेला पाइलटको मनपरीप्रति औंला ठड्याउँदा पनि संवेदनशील हुन नसकेको उनले बताए। ‘प्राधिकरणका उच्चपदस्थ पदाधिकारीले हामीलाई विमानस्थल देखाएर संयमित बन्न भन्नुभएको हो, तर हामीले त्यसलाई सहज ठान्यौं,’ उनले भने, ‘हामीमाथि पनि कडाइ भएन।’ हामीले आफैंलाई कडाइ गरेनौं।’

पाइलट मात्र नभई व्यवसायी पनि आफूहरूबाट पर्याप्त कमजोरी हुँदा यो अवस्था आएको स्विकार्छन्। संस्थाका उपाध्यक्ष सोभित बानियाँ भन्छन्, ‘पछिल्ला दुई वर्षमा हामी सुधारिएनौं, व्यवसायी र पाइलट आफैं सुध्रिएनौं। बीचमा दुर्घटना हुँदा पनि अरूलाई कारक देखायौं। अविश्वास आफैंले जन्माउँदा यो अवस्था आएको हो।’

व्यवसायी र पाइलट छाडा हुँदाको परिणाम विस्थापित हुनुपर्ने अवस्था आएको उपाध्यक्ष बानियाँले बताए। ‘हामी नै सुध्रिनुपर्ने हो। सुध्रिएर अघि बढेको भए यो अवस्था आउने थिएन। यसअघि सधैं छलफल भइरहेको हो। हामी सुध्रेको भए पोखराकै आकाशमा राख्नुको पनि औचित्य हुन्थ्यो,’ बानियाँले भने, ‘तर भद्रगोलको कारणले नै यो अवस्था आयो। हामी नै सुध्रेर उडान गरेको भए सायद प्राधिकरणले पनि पत्याउँथ्यो तर हामी सुध्रिनुको साटो प्रश्न मात्र उठायौं। हामीले अविश्वास जगाउने काम मात्र गर्‍यौं।’

प्याराग्लाइडिङ क्षेत्रमा पर्याप्त समस्या रहेको उनले बताए। यसलाई व्यवसायी र पाइलटले सकेसम्म ढाकछोप गरेका थिए। ‘भएका घटना पनि लुकाउने गर्‍यौं। सबैतिर ढाकछोप गर्दा हामीप्रति अविश्वास जागेको हो,’ उनले भने, ‘अटेर गर्नेलाई कारबाही गर्न अधिकार पनि प्राधिकरणले दिएको हो तर आफैं मनिटरिङ गर्न सकिएन। आफ्नै खुट्टामा आफैंले बन्चरो हानेका हौं।’

व्यवसायी र पाइलटले नियम नमान्दा यो अवस्था आएको उनले बताए। ‘सरकारप्रति उत्तरदायित्व निर्वाह गर्न सकिएन। सुध्रेर जान सक्ने अवस्था देखाउनुपर्छ। त्यो नसक्दा अब विस्थापित हुने अवस्था आयो,’ उनले भने, ‘व्यवस्थापन गर्न जानेनौं। आफैंले सुध्रिएको प्रमाणित गर्न सकेनौं। अबको प्रयास ढिला भइसकेको छ। तैपनि पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडानलाई व्यवस्थित गर्दै जोगाउनुपर्छ भन्ने हो।’

प्रकाशित: ८ श्रावण २०७९ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App