केही दिनअघिको एक औपचारिक कार्यक्रममा नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष बिमल पहारीले गुनासो पोखे। उनको गुनासो थियो, ‘पोखराको आकाशमा झन्डै अढाईदशक देखि उडिरहेको प्याराग्लाइडिङ हट्नुपर्ने अवस्था आउनुमा दोष हामी पाइलट र व्यवसायीको पनि छ।’
पहारीले त्यो पीडा यत्तिकै बोलेका थिएनन्। पाइलट पहारीले पोखेको दुखेसो झै यहाँको प्याराग्लाइडिङमा बग्रेल्ती समस्या थिए। तिनै समस्या बेलैमा समाधान नहुँदा पोखराको आकाशबाट सधैंका लागि बाहिरिनुपर्ने अवस्था आउन थालेको उनीहरुको स्वीकारोक्ति छ। नेपालको हवाई सेवा निकायको नियमनकारी निकाय नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले आगामि जनवरी एक अगाडि नै पोखराको आकाशबाट प्याराग्लाइडिङ उडानलाई अन्यत्र सर्न भनिसकेको छ।
आगामि जनवरी एकदेखि यहाँको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने र प्याराग्लाइडिङका कारण हवाई उडानमा जोखिम थपिने हुँदा प्याराग्लाइडिङलाई अन्यत्र सर्न प्राधिकरणले भनिसकेको छ। प्राधिकरणले औपचारिक रुपमा पत्र पठाएर अन्यत्र सर्न नभने पनि उच्च पदाधिकारीहरुले जनवरी एकभन्दा अगाडि नै प्याराग्लाइडिङले पोखराको आकाश खालि गर्नुपर्ने बताएपछि यहाँको पर्यटनमा चिन्ता छाएको छ।
प्राधिकरणका उच्च पदाधिकारीको मौखिक निर्देशनपछि प्याराग्लाइडिङका पाइलट र व्यवसायीले आफ्नै कारणले सधैंका लागि विस्थापित हुनुपर्ने अवस्था आएको बताएका छन्। पाइलट क्लवका अध्यक्ष पहारी भन्छन, ‘व्यवसायी र केही पाइलट अनुशासित नबन्दा आफूहरुमाथि प्रश्न उठाउँदै प्राधिकरणले प्याराग्लाइडिङलाई अन्यत्रै सार्न खोजेको हो। हामी आफू पनि सुध्रिनुपर्छ। हामीले पछिल्ला दुईवर्ष धेरै गल्ती गर्यौ।’ उनले पैसाका लागि भएजतिका उडान गरेको बताए। पछिल्ला दुईवर्ष मात्र सुधारिन सकेको भए प्राधिकरणले पोखराकै आकाशमा प्याराग्लाइडिङ उडानलाई नियमित हुन दिनेमा आशावादी हुन सक्ने अवस्था रहेपनि त्यसमा पटक्कै वास्ता नगरेको उनले बताए।
‘हामी सुध्रेको भए यो अवस्था आउने थिएन। यो बिगार्न र यहाँबाट बाहिरिनुमा हामी पाइलट र व्यवसायी पनि कारक छौ,’ उनले भने, ‘यतिसम्मकी जाएजतिको उडान गर्दा एकदिनमा १२ सय उडानसम्म भएका थिए। महिनामा झन्डै ४० हजार यात्रु उडेका थिए। ती सबै यात्रु कोरोनाको पहिलो चरणको लकडाउनपछिको उडानमा उडेका थिए।’ ‘आफ्नो क्षेत्र आफैले बनाउने हो। यो घर हाम्रो थियो, हामीले राम्रो घर बनाएनौ। उडान शुल्कमा मनपरि ग¥यौ,’ उनले भने, ‘आफै मात्र उडिरहौं भन्ने सोच्यौ। आन्तरिक पर्यटकले कोरोनापछि अधिक माया गरे, तर, त्यो बेला झनै अव्यवस्थित गरियो।’
उनका अनुसार प्याराग्लाइडिङ उडानका पाइलट र व्यवसायीले यो अवधिमा धेरै नै मनपरि गरेका छन। पाइलटले तोकेको आकाश भन्दा बाहिर गएर उडेका छन्। व्यवसायी पनि व्यवस्थापन भन्दा उडान गर्न मात्र सिमित भए। ‘भल छोपे जस्तो मात्र गरियो। व्यवसायिकता, कर्तव्य सोच्न नसक्दा अहिले असर परेको हो। व्यवसायी र पाइलटको कमजोरीले यहाँबाट हट्न बल परेको हो,’ उनले भने, ‘हामी कोही पनि कसैको नियन्त्रणमा रहन सकेनौ।’
पछिल्लो दुईवर्ष मिलेर काम गर्न सकेको भए हाम्रो काम देखेर नियमनकारी निकाय पनि पोखरामै प्याराग्लाइडिङ उडानलाई राखिरहन बाध्य हुने उनको भनाई छ। ‘हिजोसम्म पैसाका लागि मात्र सोच्यौ,’ उनले भने, ‘तर, अहिले कठिन अवस्थामा छौ। अब पनि रहन नसके समस्या आउँछ ।’ केही समय अघि पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको समेत ज्यान गयो। उडानको क्रममा फूल टिपेर यात्रुलाई दिन खोज्दा दुर्घटना भएको थियो। त्यसबाहेक उडान जोखिम मोल्दै तालको पानी छुवाउने, पात टिप्ने लगायतका गतिविधि गराउँदा निकै नै आलोचना भएको थियो। त्यसपछि केही पाइलट कारवाहिमा पनि परेका थिए।
‘पैसाका लागि पनि पाएजतिको काम भयो। हामी पाइलट क्लव र छाता संस्था हवाई खेलकुद संस्था (ना) ले पटक पटक पाइलटलाई सुधार्न प्रयास गरेका हौ। तर, सकेनौ,’ पहारीले भने, ‘कम्पनिले पनि जहाँ पायो त्यहीबाट बुकिङ र उडान गरे। पाइलटले पनि जता भेट्यो, उतैबाट यात्रु उठाएर लगेर उडाउने गर्दा समस्या भएको हो।’
पहारीका अनुसार पोखराको आकाशमा अढाईदशदकदेखि उडिरहेको प्याराग्लाइडिङ बिस्थापितको नजिक आएपछि बल्ल पाइलटले सुध्रिनुपर्छ भन्ने बुझेका छन्। तर, यो बुझ्न ढिला भईसकेको छ। ‘हामीले त कमजोरी गर्यौ नै, हामीलाई नै अनुगमन नगर्दा पनि यो समस्या भएको हो। नियमनकारी निकायले कडाइ नगर्दा यो अवस्था बिग्रदै गएको हो,’ उनले भने, ‘बेलाबेला सचेत बनाउन चाहेको भए हामीमा पनि सुधार आउथ्यो। कतैबाट पनि सुधार्न चाहेनन। गल्ती हामीले पनि गरेका हौ। कोही पनि अनुशासनमा नबस्दा पनि आगामि दिनका लागि पोखरामा उड्ने अवस्था नपाउने देखिएको छ।’
उनका अनुसार अझैपनि कतिपय कम्पनि र पाइलटले सोचेका छैनन्। नियमनकारी निकाय प्राधिकरणले बेलाबेला पाइलटको मनपरिप्रति औंला ठड्याउँदा पनि संवेदनशील हुन नसकेको उनले बताए। ‘प्राधिकरणका उच्च पदस्थ पदाधिकारीहरुले हामीलाई विमानस्थल देखाएर संयमित बन्न भन्नु भएको हो। तर, हामीले त्यसलाई सहज ठान्यौ,’ उनले भने, ‘हामी माथि पनि कडाई भएन ।’ हामी आफैले आफैलाई कडाई गरेनौ।’
पाइलट मात्र नभई व्यवसायी पनि पर्याप्त कमजोरी गर्दा यो अवस्था आउन थालेको स्वीकाछर्न्। संस्थाका उपाध्यक्ष सोबित बानियाँ भन्छन्, ‘पछिल्लो दुईवर्षमा हामी सुधारिएनौ, व्यवसायी र पाइलट आफै सुध्रैनौ। बीचमा दुर्घटना हुँदा पनि अरुलाई कारक देखायौ। अविश्वास आँफैले जन्माउँदा यो अवस्था आएको हो।’
व्यवसायी र पाइलट छाडा हुँदाको परिणाम अहिले बिस्थापित हुनुपर्ने अवस्था आएको उपाध्यक्ष बानियाँले बताए। ‘हामी नै सुध्रिनुपर्ने हो। सुध्रिएर अघि बढेको भए यो अवस्था आउने थिएन। यो भन्दा अघि सधैं छलफल भईरहेको हो। हामी सुध्रेको भए पोखराकै आकाशमा राख्नुको पनि औचित्य हुन्थ्यो,’ बानियाँले भने, ‘तर, भद्रगोलको कारणले गर्दा नै यो अवस्था आयो। हामी नै सुध्रेर उडान गरेको भए सायद प्राधिकरणले पनि पत्याउँथ्यो। तर, हामी सुध्रिनुको साटो प्रश्न मात्र उठायौं। हामीले अविश्वास जगाउने काम मात्र गर्यौ।’
प्याराग्लाइडिङ क्षेत्रमा पर्याप्त समस्या रहेको उनले बताए। जसलाई व्यवसायी र पाइलटले सकेसम्म ढाकछोप गरेका थिए। ‘घटेका घटना पनि लुकाउने गर्यौ। सबैतिर ढाकछोप गर्दा हामीप्रति अविश्वास जागेको हो,’ उनले भने, ‘अटेर गर्नेलाई कारवाहि गर्न अधिकार पनि प्राधिकरणले दिएको हो। तर, आफै मोनिटरिङ गर्न सकिएन। आफ्नै खुट्टामा आफैले बन्चरो हानेका हौ।’
व्यवसायी र पाइलटले नियम नमान्दा यो अवस्था आएको उनले बताए। ‘सरकारप्रति उत्तरदायित्व निभाउन सकिएन। सुध्रेर जान सक्ने अवस्था देखाउनुपर्छ। त्यो नसक्दा अब बिस्थापित हुने अवस्था आयो,’ उनले भने, ‘व्यवस्थापन गर्न जानेनौं। आफैले सुध्रिएको प्रमाणित गर्न सकेनौ। अबको प्रयास ढिला भइसकेको छ । तैपनि पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई व्यवस्थित गर्दै जोगाउनुपर्छ भन्ने हो।’
प्रकाशित: ४ श्रावण २०७९ ०९:३७ बुधबार