केन्द्रीय विद्युत प्रसारण लाइन जोडिने बित्तिकै ‘लिफ्टिङ’ प्रविधिबाट पूर्वकै पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा पानी पुर्याउन सकिने निर्माण कम्पनीले दाबी गरेको छ।
‘लिफ्टिङ’ प्रविधिको कार्य अन्तिम चरणमा पुगेको र केन्द्रीय विद्युत् प्रसारण लाइन जडानको काम भइरहेकोले विद्युत् उपलब्ध हुने बित्तिकै खानेपानी आपूर्तिका लागि परीक्षण हुने निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले जानकारी दिए।
‘विद्युत् जडान भइसकेको भए लिफ्टिङ प्रविधिको पानी बलुडाँडासम्म पुर्याउन सकिन्थ्यो’ थापाले भने। पूर्वाधारका अरु काम सकेर मटरपम्प जोड्ने काम समेत लगभग सकिएको उनले बताए। काफ्ले पाटीमा प्रमुख (इन्टेक) ट्याङ्की निर्माण भएको छ। काफ्ले पाटी, बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँ पाटी र पाथीभरा मन्दिरमा गरी अन्य छ वटा ट्याङ्की निर्माण भएको समेत उनले बताए।
लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्ने प्रक्षेपण रहेको थापाले सुुनाए। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले मटरपम्प जडान सहितका सबै कार्य पूरा हुने र विद्युत समेत उपलब्ध हुने हो भने लिफ्टिङ प्रविधिमार्फत पाथीभरा मन्दिरमा पानी लैजाने कार्यको परीक्षण हुने बताए। ‘लगभग सबै काम सकिएर योजना अन्तिम चरणमा छ’ काफ्लेले भने।
कूल ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैयाँ लागत रहेको यो आयोजना सहलगानीको आयोजना हो। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार नेपाल सरकार अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिमार्फत ३० प्रतिशत लागत साझेदारीमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजना निर्माण भएको हो।
कूल मध्ये नेपाल सरकारको ५ करोड ७५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ र पाथीभरा क्षेत्र विकास समितिको २ करोड ४६ लाख ३४ हजार ९ सय ८ रुपैयाँ सहलगानी छ। पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत प्रेरा विष्णु जेभीले निर्माणको काम गरिरहेको छ। २०७७ साल असोज १८ गते यो आयोजना सञ्चालन सम्झौता भएको थियो।
प्रकाशित: ३२ असार २०७९ ०९:२४ शनिबार