८ वैशाख २०८१ शनिबार
अर्थ

अतिक्रमण हटाउने नाममा मासिँदै पर्यावरण

धनगढी–५, हसनपुरस्थित सुकुटी नालामा रहेका जामुनका वयस्क रुख ढाल्दै स्काभेटर। तस्बिरः पुष्पराज/गरिक

धनगढी उपमहानगरपालिकाले खोलानाला अतिक्रमण हटाउन थालेको छ। खोलानाला अतिक्रमणले बर्सेनि धनगढी डुबानको समस्या झेल्दै आएको भन्दै उपमहानगरपालिकाले नालामै डोजर, स्काभेटर प्रयोग गरेर संरचना भत्काउन खोज्दा पर्यावरण मासिन थालेको हो।  

धनगढी उपमहानगरपालिकाको तारानगर, पिपलचौतारा, हसनपुर भएर बहने सुकुटी नालामा निर्माण भएका भौतिक संरचना हटाउन डोजर र स्काभेटर प्रयोग गर्दा रुख विरुवा नासिएका हुन्। सुकुटी नाला क्षेत्रमा पर्यावरणिय दृष्टिले महत्वपूर्ण रहेका जामुन, कुसुम, भेलर, सिमल, रुइनीलगायतका बोट विरुवा छन्। नालामा केही साना, बयस्क र बूढा रुखहरु वर्षौदेखि रहेका छन्। नालामा डोजर तथा स्काभेटर प्रयोग गर्दा ति बोट विरुवा नासिन थालेको भन्दै पर्यावरणविद्हरुले चिन्ता गरेका छन्। 

सहर बजारमा रुख बोट विरुवा अत्यन्त कम हुने र भएका विरुवा पनि नासिँदा वायूमण्डलमा कार्वनको मात्रा बढी हुन सक्ने वन वातावरण विद् तथा पूर्व वन अधिकृत रमेश चन्द ठकुरीले बताए। उनले भने,‘बजार क्षेत्रमा रुख बोट विरुवा भनेकै खोला नालाहरुमै छन्, तिनै विरुवा काटिदिएमा सहरको सौन्दर्यतामा पनि आँच पुग्न सक्छ।’ अतिक्रमित खोला नालाका संरचना हटाउनु स्वभाविकै भएको बताउँदै उनले भने,‘अतिक्रमित संरचना हटाउनु ठिकै हो, तर खोला नालामा रहेका बोट विरुवा नासिनु भने हुँदैन।’ एक रुख काटिएमा त्यसको ठाउँमा १० वटा विरुवा रोप्नु पर्ने प्रावधान रहेको बताउँदै उनले भने, ‘कुनै ठाउँमा एक रुख काटियो भने त्यसको ठाउँमा भरिपूरण गर्न कम्तिमा पनि १० वटा विरुवा रोप्नै पर्ने हुन्छ, यदि धनगढीको नाला अतिक्रमण हटाउँदा रुख विरुवा नासिएका छन् भने नासिएका रुखको अनुपातमा वृक्षारोपण गर्नैपर्ने हुन्छ।’ सहर बजारमा प्रायः चराचुरुङ्गीहरु खोला नालामा रहेका बोट विरुवामा आफ्नो बासस्थान बनाउने गरेको बताउँदै उनले भने,‘खोलाका रुख ढालिँदा चराचुरुङ्गीको बासस्थान नासिनुका साथै वर्षौदेखि जराले माटो समातेर राखेका कारण कटानको समस्या जोगिएको हुन्छ, यदि रुख ढालेमा कटानको समस्या पनि स्थानीयले भोग्नुपर्ने अवस्था आउन सक्छ।’    

खोलामा रहेका रुख बोटविरुवा कुन हिसावले हटाउँदै छौं भन्ने कुराको ख्याल हुनु जरुरी रहेको वातावरणविद् दिनेश जोशी बताउँछन्। ‘हामीले कुन प्लान अनुसार सहरमा रहेका खोला नालाका रुख विरुवा ढाल्दै छौँ भन्ने कुराको हेक्का रहनु जरुरी छ,’ उनले भने,‘यदि ढालिएका रुख विरुवाको साटो अन्य ठाउँमा भरिपूरण गर्न सकिन्छ या सकिँदैन, भन्ने हो।’ नालामा रहेका संरचना हटाउँदा विनाश भएका रुख विरुवाको ‘अल्टरनेटिभ’ व्यवस्था के छ भन्ने कुरा महत्वपूर्ण रहेको उनले बताए। वातावरणका हिसावले अतिक्रमित जमिनमा रहेका संरचना हटाउनु उचित भए पनि रुखै हटाउनु राम्रो नभएको उनी बताउँछन्। ‘वातावरणका हिसावले त्यसरी रुखै ढाल्नु राम्रो मान्न सकिँदैन,’ उनले भने,‘रुख हटाउने वित्तिकै सहरको हरियाली सौन्दर्यपना मासिन्छ।’ अर्को कुरा जलवायू परिवर्तनको सवालमा कार्वन शोषणको काम पनि सहर बजारमा रहेका कुला नालामा उम्रिएका बोट विरुवाले गरिरहेको उनले बताए।

रुख बोटविरुवा ढालिँदा जलवायु, कृषिदेखि मानव स्वास्थ्यसम्म असर पर्ने गरेको टीकापुर बहुमुखी क्याम्पसका कृषि विज्ञान संकायका उपप्राध्यापक तथा वन विज्ञ राजेश झाले बताए। सहरी क्षेत्रमा विकास निर्माणका कार्य गर्दा बोट विरुवा नासिने अवस्था आएमा त्यसलाई रिप्लान्टेसन गर्नुपर्ने नियमन रहेको बताउँदै उनले भने,‘सहरमा रुख विरुवा भनेकै खोला नालामा रहेको अवस्था छ, त्यहीँको रुख ढालिँदा त्यसले मानव जीवनदेखि पन्छीसम्मलाई असर पर्ने गर्छ।’ सहर बजारमा लोपोन्मुख चराहरु पनि रहन सक्ने भन्दै रुख बोटविरुवा हटाउन थालेमा त्यहाँ बसोबास गर्ने चराचुरुङ्गीको अध्ययन गर्नु जरुरी रहेको पनि उनले बताए।      

सव डिभिजन वन कार्यालय धनगढीका प्रमुख जिसन कार्कीले जथाभावी रुख नढाल्न उपमहानगरपालिकालाई खबर गरिसकिएको बताए। उनले भने,‘यस सम्बन्धी खासै जानकारी थिएन, अहिले आएका जानकारी भयो, अब डिभिजन वन कार्यालय कैलालीका प्रमुख जिल्ला बाहिर रहेकाले भोलि उहाँ आउने वित्तिकै के गर्ने भन्ने हुन्छ।’  

खोलामा ढालिएका रुख विरुवालाई नालामै माटोले छोपिएका छ। अतिक्रमित टहरा भत्काउनुको साटो नाला खोल्ने भन्दै नाला किनारको माटो तथा बोटविरुवा झाडीसँग नष्ट गरेर नालामै पुरिन थालिएको भन्दै प्रकृतिप्रेमीहरुले आवाज उठाउन थालेका छन्। नाला तथा खोलामा रहेका बोटविरुवा हटाउन तथा ढाल्न पनि वन ऐन अनुसार वन कार्यालयको अनुमति लिनुपर्ने प्रावधान रहेको छ। तर, अहिलेसम्म नगरपालिकाले रुख विरुवा ढाल्न अनुमति लिएको छैन। जथाभावी रुख विरुवा ढालिएको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भने डोजर नियन्त्रण लिन भनी सम्बन्धित डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयलाई पत्र पठाएको जनाएको छ।  

सुकुटी नालामा रहेको अतिक्रमण हटाउन सुरु गरिएको बताउँदै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने,‘हामीले अतिक्रमित गरी निर्माण गरिएका संरचना भत्काउन सुरु गरेका हौँ, तर पर्यावरण विनाश भने गर्ने उद्देश्य हैन।’ सुरु सुरुमा केही रुख बोटविरुवा ढालिए पनि पछिल्ला दिनमा भने त्यसो नगर्न खटिएका कर्मचारीलाई निर्देशन दिइएको उनले बताए। ‘सुरुसुरुमा (बालविहानी तिर) रुख विरुवा ढालिए, तर पछिल्लो समयमा नढाल्न भनेको छु,’ उनले भने, ‘प्राकृतिक वहावलाई सहजता बनाउन नाला अतिक्रमण गरी बनाइएका संरचना हटाइने छ, तर रुख ढालिने छैन।’ उनले अहिले पनि आफूले तुरुन्तै त्यस क्षेत्रमा खटिएका कर्मचारीलाई रुख नढाल्न भनेर फोन गर्ने बताए। 

प्रकाशित: ९ असार २०७९ १५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App