काभ्रे पाँचखालकी राममाया तामाङले ११ वटा भैंसी र केही सँगुर व्यवसायको पहिलो लटमा किनिन्, अघिल्लो वर्ष लिएको तालिमले उनलाई यो व्यवसाय गर्न आँट आएको थियो। तालिम दिन आउने ‘मिस’हरूले उनीमा व्यवसाय गर्ने उत्साह जगाइदिए तर व्यवसाय गर्न सानोतिनो लगानीले पुग्दैनथ्यो। सानो काठ चिर्ने मिल थियो, व्यवसाय सुरु गर्ने आम्दानी त्यहाँबाट हुँदैनथ्यो।
२० लाख चाहिने हिसाब निस्क्यो। कसरी जम्मा पार्ने त्यत्रो रकम? तालिममा बैंकबाट ऋण लिन सकिने उपाय त थाहा पाइन्, तर धरौटीबिना बैंकले ऋण दिँदैन।धरौटी राख्न आफ्नो नामको जग्गा छैन। एउटा घर,त्यो पनि श्रीमान्को नाममा। उनी भन्छिन्,‘तालिममा थाहा पाएको उपाय मैले श्रीमान्लाई सुनाएँ।आफ्नो नाममा रहेको घर धरौटीमा राखेर बैंकबाट ऋण लिने कुरा उहाँले खुसीसाथ स्विकार्नुभयो।’
ओहो यो त कुनै पनि महिलाका लागि ठूलो प्रेरणा हो। जग्गा दर्ता गर्दा राज्यले २० प्रतिशत कर छुट दिएपछि महिलाका नाममा केही जग्गा आए पनि भोगचलन र निर्णय गर्ने अधिकारबाट महिला वञ्चित छन्।राममायाका श्रीमान् श्रीमतीको व्यवसायका लागि घर धितो राख्न दिन तयार भए। तालिम लिनुअघिसम्म उनलाई यस्तो काम गर्न बैंकले ऋण दिन्छ भन्ने थाहा थिएन।
तालिमपछि उनले घर धरौटी राखेर २० लाख रूपैयाँ ऋण लिइन् र ११ वटा भैंसी र केही सुँगुर किनिन्। दाना बनाउने, घाँस काट्ने मेसिन चलाउन बिजुली छँदै थियो।व्यवसाय सुरु गरेको केही महिना त राम्रै आम्दानी भयो। महिनामै दूध बेचेर डेढ लाख हात पर्न थालिसकेको थियो। उनले मासु र दूधको माग बाह्रैमास एकनास हुने हुनाले यो व्यवसाय रोजेको सुनाइन्।
कोरोना महामारी सुरु भएपछि दाना नपाउने डरले ६ वटा भैंसी बेचिहालिन् तर अहिले पछुतो लागेको छ। अब यो महामारी नसकुन्जेल उनले राँगा किनेर मासुको व्यवसाय गर्ने सोच बनाएकी छन्। महामारीका कारण आम्दानी नभएपछि उनले बैंकबाट लिएको ऋण घटाउन सकेकी छैनन्। ‘सरकारले ब्याज मिनाह गरिदिए हुन्थ्यो,’उनले भनिन्।
केही महिला उद्यमी, जसले आम्दानी गरेर आफ्नो परिवारको जीविकोपार्जनमा सघाएका छन्। यसै सिलसिलामा ललितपुरको कन्ज्योसम गाउँपालिकाकी ३३ वर्षीया सानुमाया श्रेष्ठसँग मेरो भाइबरमा कुराकानी भयो।
सानुमायाले ६ वर्ष भएछ, कुखुरा पाल्न थालेको। हजार/पाँच सय कुखुरा रहरले पाले पनि आम्दानी खासै थिएन।कुखुरा बिरामी भए के औषधि दिने त्यो औषधि कहाँ पाइन्छ, केही कुरा नबुझी उनले व्यवसाय सुरु गरिन्। व्यसायले कति नाफा कति घाटा भयो भन्ने कुनै हिसाबकिताब नै थिएन।
स्थानीय सहकारी र महिला समूहबाट ऋण चर्को ब्याजमा लिएकी थिइन्। परिवार सहयोगी थियो र व्यवसाय निरन्तर थियो। त्यही बेला दक्षिण ललितपुर विद्युत् सहकारीले उद्यम गर्न चाहने महिलालाई लक्षित गरेर तालिम गर्दैछ भन्ने उनले थाहा पाइन् र तालिममा आफ्नो नाम पनि लेखाइन्।
सात दिनको तालिम थियो। यो सात दिनले उनको व्यवसायमा कायापलट गरिदियो। तालिमपछि उनलाई लाग्यो–कस्तो अन्धाधुन्धमा व्यवसाय गरिरहेको रहेछु। तालिमलगत्तै उनले आफ्नो व्यवसाय विस्तार गरिन्। जेठाजुको जग्गा मागिन्,यही जग्गा धितो राखेर ऋण लिइन् र पाँच हजार वटा कुखुरा थपिन्।तालिमले उनलाई के सघायो त? उनी भन्छिन्,‘गाउँकै सहकारी र समूहबाट २४ प्रतिशतसम्म ब्याज तिरेर ऋण लिएकी थिएँ,बैंकले सस्तो ब्याज दरमा ऋण दिन्छ भन्ने थाहा पाएँ।’
कुखुरा बिरामी हुँदा कुन लक्षणमा के औषधि दिने, औषधि र उपचारका लागि कसलाई सम्पर्क गर्ने, कति खर्च भयो र कति आम्दानी भनी कसरी हिसाबकिताब राख्ने,ऋण लिन के कस्ता कागजात चाहिन्छ, कतिसम्म धरौटी राखेर र कति नराखी ऋण पाइन्छ,कुन बैंकले ऋण दिन्छआदिबारे आफूले तालिमबाटै थाहा पाएको उनी बताउँछिन्।यी सबै कुराले उनको ऊर्जा मात्रै थपेन,आत्मविश्वास नै बढाइदियो।
ललितपुरकै महांकाल गाउँपालिकाकी चिनीमाया नेगीले दुःखको पहाड छिचोलेकी छन्। उनको कथा अलि भिन्न छ। अहिले समाजकी अगुवा बनेकी उनले पार गरेको दुःख नै बाँकीका लागि ऊर्जा हो। उनी एक सफल व्यावसायी मात्रै होइनन् गाउँमा अन्यायमा परेका महिलाकी उनी आशा पनि हुन्। गाउँमा कसैले कसैमाथि हिंसा गर्यो भने उनीहरू चिनीमाया कहाँ आइपुग्छन्।
अहिले उनले नेपाली कागज कारखाना चलाएकी छन्। उनका श्रीमान्को जडीबुटी तेल कम्पनी छ। नेपाली कागजको उत्पादन उनले दुई वर्ष अघिबाट मात्रै थालेकी हुन्।बिजुलीको अभावमा उनीसँग भएका मेसिन समेत प्रयोग गर्न पाएकी छैनन्। भन्छिन्,‘पहाडमा घर छ,पानी परे वा हावाहुरी आए एकहप्ता बिजुली आउँदैन।त्यसैले जेनेरेटर राखेकी छु।’ नविकरणीय ऊर्जाबाट पनि उद्योग चलाउन सकिनेबारे उनलाई कसैले भनेनन्।
चिनीमायासँग अचम्मको धैर्यता छ। आफ्नो कमाइ थिएन। उनका देवर बिरामी परे। दुई वर्षसम्म काठमाडौंको अस्पतालमा राख्नुपर्यो। ऋण लाग्यो। ऋण तिर्न श्रीमान् बुद्ध नेगी खाडीतिर लागे। चिनीमाया एक्लै परिन्।एक्लै हुँदा बच्चा जन्मियो। त्यही दिन आमा खसिन्। उनको तनाव कम गर्न आफन्तले रक्सी दिन थाले। यसले उनलाई गैरजिम्मेवार बनाउन थाल्यो। यो महसुस आफैंले गरिन् र आफूलाई सम्हालिन्।
गाउँमा आफ्नै अगुवाइमा २०५२ सालमा समूह बनाइन्, प्रत्येक महिना पाँच रूपैयाँ उठाउने गरी। उनले यो समूहको नेतृत्व मात्रै गरिनन्,गाउँकै नेता भइन्।उनको कुनै राजनीतिक दल त थिएन तर गाउँलेहरू अन्यायमा पर्यो कि चिनीमायालाई गुहार्न थाले।
विशेष गरी घरझगडा र श्रीमान्ले जाँडरक्सी,गाँजा खाएर कुटेको गुनासो लिएर उनीकहाँ न्याय माग्न आउने महिला बढ्न थाले। ‘यस्ता केस आउँदा पहिलोपटक सम्झाउँथेँ, गल्ती दोहोर्याए भने पाता कस्थेंं,’ उनले हाँस्दै भनिन्, ‘पहिलोपटक भारतीय सेनामा काम गर्ने आफ्नै भाइ पर्नेको पाता कसें। जति सम्झाए पनि नमान्ने, रक्सी खाएर दिनदिनै श्रीमती कुटेपछि बाँधेर लडाएकी थिएँ।’
हामी भाइबरमा भिडियो कुराकानीमा थियौं। उनले यसो भन्दै गर्दा उनका श्रीमान् नजिकै उभिएको देखिएको थियो।‘सुरु त आफ्नै घरबाटै गर्नुपर्ने रैछ के मिस।’ उनले यसो भन्दा उनका श्रीमान बुद्ध मुसुमुसु हाँस्दै थिए।
पहिला प्रहरी नजिकै थिएन, कारबाही उनी आफैं गर्थिन्। काठमाडौंदेखि नजिकै भए पनि उनको गाउँ निकै दुर्गम छ। अहिलेसम्म उनले कम्तीमा पाँच जनाको यसरी पाता फर्काएकी छन् रे। त्यसपछि उनीहरूले फेरि श्रीमती कुट्ने आँट गरेनन्।
अहिले उनीहरूको परिवार राम्रो चलेको छ। उनले आफ्नो गाउँमा रक्सी बेच्न र जुवातास खेल्न नपाउने नियम लगाउन खोजिन् तर यसो हुन सकेन। लुकीछिपी रक्सी बेच्ने र तास खेल्नेहरू अहिले पनि छन्। तर, जुवातास खेलेको वा रक्सी खाएको ठाउँमा प्रहरी पुगे भने गाउँलेले चिनीमायाले नै पठाएको भन्ने गर्दा रहेछन्। ‘मलाई जताबाट पनि गाली आउँछ,’उनले भन्दै थिइन्। उनले यसो भन्दा यो अभियानमा एक्लैै लड्न कति गाह्रो छ भन्ने उनको अनुहारले झल्कन्थ्यो।
उनले १० वर्षअघि नै कागज कारखाना खोल्छु, सहयोग गर भनेर कहाँकहाँ मात्रै धाइनन्। न गाविसले सुन्यो,न त आफन्तले। कसैले सहयोग गरेनन्। तैपनि २०७५ सालमा उनले सुरु गरिन्। एकदमै दुःखले जसोतसो चलाएकी थिइन्।
डिभिजन वन कार्यालय ललितपुरका कर्मचारी त्यहाँ पुग्दा उनको बारेमा थाहा पाए। कार्यालयबाट उनले केही रकम सहयोग पाइन्। महांकाल गाउँपालिकाले मेसिन दियो। अहिले उनीसँग सामान छन् तर यी मेसिनको क्षमताअनुसार उत्पादन गर्न सकेकी छैनन्। त्यसैले उनको कागज कारखाना घाटामा छ। कागज सुकाउन लेकमा घाम राम्रो लाग्दैन। मेसिन चलाउन बिजुली पुग्दैन। कोरोना महामारी र लकडाउनले गर्दा उत्पादन भएका कागज भण्डार (स्टक) मा छन्। कच्चा पदार्थ ढुसीले बिग्रिन लागिसक्यो।
हुन त सरकारले सन् २०१८ देखि २०२८ सम्मलाई ऊर्जा दशक भनेको छ। यस अन्तर्गत स्थानीय सरकारलाई समेत नवीकरणीय ऊर्जा उत्पादनका लागि योजना बनाई कार्यान्वयन र अनुगमन नियमनसम्मको अधिकार छ,तर घरायसी कामका लागि समेत वैकल्पिक ऊर्जा प्रयोगमा सामान्य योजना बनाउन नसकेका स्थानीय तहहरूबाट चिनीमाया र राममायालाई व्यवसाय सञ्चालनका लागि वैकल्पिक ऊर्जाका लागि योजना बनाइदेलान् भन्ने आश गर्न सकिँदैन। यस्तो माग आफ्ना नजिकका सरकारसँग राख्न भने ढिला भइसकेको छ।
बिजुली र घामको अभावको तोडले कारखाना सार्ने तयारीमा चिनीमाया लागेकी छन्। उनको इच्छा चापागाउँमा कारखाना सार्ने छ। चार रोपनी जग्गा भाडामा लिनेदेखि अन्य भौतिक संरचना तयार पार्न ३० लाख रूपैयाँ लाग्ने अनुमान उनले गरेकी छन्। त्यसैले ऋणको प्रक्रिया अघि बढेको छ। उनको नामको कागज कारखाना धितो राखेर ऋण लिने सुरमा छन् उनी, तर बैंकले गाउँको जग्गा भनेर ऋण दिन आनाकानी गरिरहेको छ।
यस सम्बन्धमा चिनीमायाका श्रीमान् बुद्धले पनि धारणा राखे, ‘गाउँको सम्पत्ति धितो राखेर ऋण दिन अधिकांश रिङ रोडपारिका बैंकले गाह्रो मानिरहेका छन् ।’ उनले कुमारी र सानीमा बैंकमा ऋणका लागि ताकेता गरेका रहेछन्।
१२ वर्षदेखि चलिरहेको बुद्धको नाममा रहेको जडीबुटीबाट उत्पादन हुने धसिङ्ग्रेको तेल निकाल्ने जयबुद्ध जडिबुटी उद्योग र चिनीमायाको कागज कारखानामा गरेर २५ कामदारले निरन्तर रोजगारी पाएका छन्।
तेल उत्पादनका लागि चाहिने जडीबुटी संकलन गर्ने बेला र कागज कारखानाका लागि आवश्यक कच्चा पदार्थका लागि अर्घेली र लोक्ता खेती गर्ने र संकलन गर्ने बेला ७० जनासम्मलाई उनीहरूले गाउँमै रोजगारी दिँदै आएका छन्। तैपनि बैंकले उनीहरूलाई पत्याउँदैन।
यो गुनासो चिनीमायाको मात्रै होइन, कुखुरा व्यवसायबाट राम्रै आम्दानी गरिरहेकी सानुमायाले पनि बैंकबाट ऋण लिन निकै पापड बेल्नुपर्यो। उनी भन्दै थिइन्, ‘यदि श्रीमान् हुँदैनथे भने म एक्लैले बैंक धाएर त्यो रकम ल्याउन सक्दिनथें। मेरो व्यवसाय गर्ने धोको यत्तिकै मर्थ्यो।’
महिलालाई लगानी गर्न राज्य र परिवार दुवै तयार छैनन्, उनीहरूलाई लगानी गरेर जोखिम लिन उनीहरू चाहँदैनन्, तीन वर्षअघि काठमाडौंकै एकजना महिला उद्यमीले भनेको कुरा सम्झेँ।एकातीर उद्यम गर्छु भन्दा धितो राखेर ऋण लिनलाई महिलाका नाममा जग्गा छैन।
अर्कोतिर, महिलालाई लगानी गर्दा फिर्ता आउने नआउने कुराले बैंकहरू जोखिम लिन चाहँदैनन्। त्यसैले बिनाधितो र सहुलियत दरमा ऋण दिनैपर्ने सुविधालाई उनीहरूले महिलालाई अनेक झन्झट लगाइदिएर दुरुत्साहन गर्ने गरेको यी व्यवसायीले सुनाए।
उद्योग विभागका अनुसार, घरेलु तथा साना उद्योग महासंघमा दर्ता भएका चार लाख ३८ हजार घरेलु तथा साना उद्योगमध्ये ३० प्रतिशत महिलाका नाममा छन्। योसँगै दर्ता नभई चलेका पारिवारिक उद्योग एक लाखको हाराहारीमा भएको यही क्षेत्रमा काम गर्दै आएको संस्था होमनेट नेपालसँग तथ्यांक छ।
घरेलु तथा साना मझौला उद्योग सञ्चालनमा सहयोग पुर्याउन भनेर सरकारले ठूला दाताबाट सात अर्बभन्दा धेरै अनुदान सहयोग पाउँदै आएको छ। यो सहयोग नेपाल सरकारले नेपाल बैंक लिमिटेड, वाणिज्य बैंकमार्फत महिलालाई तीन प्रतिशतभन्दा माथि ब्याज लिन नपाउने गरी ऋण उपलब्ध गराउनुपर्ने नियम छ।केही कमर्सियल बैंकहरूले पनि यस्तो ऋण प्रवाह गर्छन्।
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले ६० हजार महिलाले विभिन्न बैंकहरूबाट सहुलियतपूर्ण कर्जा लिएर व्यवसाय गरिरहेको जानकारी दिए।कर्जा लिन नपाएको वा नसकेको महिलाहरूको गुनासो अहिलेसम्म कतैबाट नआएको उनको दाबी थियो। समूहको ग्यारेन्टीमा १५ लाखसम्म कर्जा लिन सक्ने उनले बताए। ‘यस्तो कर्जाको लगभग ६ प्रतिशत ब्याज राष्ट्र बैंकले नै तिर्छ भने कर्जा लिनेले दुई प्रतिशत ब्याज तिरे हुन्छ,’ सूचना अधिकारी पोख्रेलले भने।
यसैगरी महिला उद्यमशीलता बढाई स्वरोजगार बनाउन र रोजगारी सिर्जना गर्न सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेटमा सबै स्थानीय तहमा महिला उद्यमशीलता सहजीकरण केन्द्र स्थापना गर्ने व्यवस्था गरेपछि यसलाई कार्यान्वयन गर्न महिला उद्यमशीलता सहजीकरण केन्द्र सञ्चालन कार्यविधि, २०७७ आएको छ।
बजेट तथा नीति कार्यक्रम अनुसार गत वर्ष ७० वटा स्थानीय तहमा यो कार्यक्रम सुरु गर्ने लक्ष्य भए पनि एक–दुई स्थानीय तहमा मात्रै सुरु भएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला सशक्तीकरण महाशाखाका प्रमुख रोशनी श्रेष्ठले जानकारी दिइन्। यो वर्ष एक सयवटा स्थानीय निकायमा यो कार्यक्रम सुरु गर्न बजेट गइसकेको उनको भनाइ छ।
कार्यविधि अनुसार प्रत्येक स्थानीय तहका महिला तथा बालबालिका शाखा मातहतमा केन्द्र रहने र उपाध्यक्ष तथा उपप्रमुखहरू केन्द्रको अध्यक्ष हुने व्यवस्था छ।साथै, महिला उद्यमीलाई उद्यमशीलता तथा उद्यमसँग सम्बन्धित आवश्यक सेवासुविधाका विषयमा सहजीकरण र प्राविधिक सहयोग गर्न एक महिला उद्यमी सहजकर्ताको व्यवस्था पनि कार्यविधिले गरेको छ।तर, यी यस्ता व्यवस्था र सुविधाबारे एक त महिलालाई जानकारी छैन।
जानकारी भएर सुविधा लिन खोज्दा सरकारी निकाय र बैंकहरूले अनेक झमेला उनीहरूलाई लगाइदिन्छन्। यो दुरुत्साहनले उद्यम गर्न चाहने महिला कसरी अघि बढ्न सक्लान्? एकातिर सुखी नेपाली समृद्ध नेपालको नारा,अर्कातिर स्वरोजगार मात्रै होइन,रोजगार सिर्जना गर्न चाहनेमाथि गरिने यस्ता दुरुत्साहनले कसरी यो नारा सार्थक होला? यतातिर सोच्न सके बर्सेनि लाखौं महिला खाडीको कहरबाट जोगिन सक्थे कि!
प्रकाशित: २७ कार्तिक २०७८ ००:२७ शनिबार