७ वैशाख २०८१ शुक्रबार
अर्थ

बाबा साकोसको खुद नाफा ५७ लाख ३६ हजार

बाबा बचत तथा ऋण सहकारी संस्था लि. थिमि, भक्तपुरले आर्थिक वर्ष २०७७/७८ मा रु. ५७ लाख ३६ हजार ४ सय ५८ रुपैंया ९८ पैसा खुद नाफा गरेको छ। संस्थाको १६ औं वार्षिक सभामा दिइएको जानकारी अनुसार सो आ. व. मा ४ करोड ९२ लाख २ हजार १ सय रुपैयाँ शेयर पूँजी रहेको र ३५ कारोड ८७ लाख ७२ हजार ४ सय ४३ रुपैयाँ ८६ पैसा निक्षेप संकलन गरी २९ करोड ९७ लाख ६५ हजार ९ सय ६२ रुपैंया २६ पैसा लगानी भएको थियो।  

सहकारीको १६ औं साधारण सभाको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बाबा साकोसको वासलात, नाफा नोक्सानको सूचकांक विश्लेषण गर्दा प्रगति उन्मुख रहेको बताए। उनले कोभिड– १९ को महामारीका बीच पनि संस्थाले वासलात १० करोडमा बृद्धि गर्नु बाबा साकोस कुशल व्यवस्थापनबाट संचालन रहेको प्रमाणित भएको उल्लेख गरे।

मेयर श्रेष्ठले बाबा साकोसले नेपाल कोरिया नगरपालिका मैत्री अस्पताललाई कोभिड– १९ को महामारीको समयमा  स्वास्थ्य पेसन्ट मनिटर सहयोग गर्न यस भेगको सहकारीहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्नु, वातावरणीय क्षेत्रमा सुधार ल्याउन बायो–कल्चर वृक्षारोपण गर्नु, शिक्षा क्षेत्रको विकास गर्न स्नातकोत्तर तह उत्तीर्णलाई सम्मान गर्नु प्रशंसनीय रहेको उल्लेख गरे।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले वडा नंं. ४ मा कार्यालय स्थापना गरी कारोबार गर्दै रहेको बाबा साकोसले सदस्यहरु बीच आर्थिक कारोबारको विस्तारका साथै सामाजिक, सांस्कृतिक, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि योगदान गरेको चर्चा गर्दै संस्थाले अझ बढी प्रगति गर्न सकोस भनी कामना गरे।

जिल्ला विकास समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठले संस्थाको स्थापनाकालदेखि सदस्यहरुको आर्थिक विकासमा बाबा साकोसले उल्लेखनीय कार्य गर्दै आएको चर्चा गर्दै सफलताको कामना गरे।

संस्थाका अध्यक्ष ज्ञानराम श्रेष्ठले संस्थाको सदस्यहरुको सफलताको लागि केन्द्रित गरेर नै सबै कार्य सम्पादन गरी सहकारीको मूल्य, मान्यतालाई आत्मसात गरी कारोबार गर्दै आएको जानकारी दिए।

उनले पैसाको आधारमा नेपाल कोरिया नगरपालिका अस्पतालबाट दिने सेवा स्थगित नगर्न आग्रह गर्दै कानूनी प्रक्रिया मिलेमा बाबा साकोसले अस्पतालको लागि आपतकालिन ऋण लगानी गर्न संस्था इच्छुक रहेको बताए।

कार्यक्रममा संस्थाका सचिव ज्ञानहरि श्रेष्ठले आ. व. २०७७/७८ को प्रगति प्रतिवेदन तथा आ. व. २०७८/७९ को वार्षिक कार्ययोजना, कोषाध्यक्ष पे्रमरत्न मानन्धरले आ. व. २०७७/७८ को आर्थिक प्रतिवेदन तथा आ. व. २०७८/७९ को अनुमानित बजेट प्रस्तुत गरी पारित गरिएको थियो।

सभामा विभिन्न संकाय र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका शेयर सदस्यका छोराछोरीहरुलाई चाँदीको पदक, नगद, मायाको चिन्हसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित स्नातकोत्तर तह उत्तीर्ण हुनेहरुमा योगेश श्रेष्ठ, ललित मानन्धर, अनुज श्रेष्ठ, रमिता भासिमा, प्युरी जोशी खतोखो, सुनिता श्रेष्ठ, डा. विनय श्रेष्ठ, डा. अनिल शंखदेव र विपिन मानन्धर रहेका छन्।

प्रकाशित: ९ आश्विन २०७८ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App