१६ चैत्र २०८० शुक्रबार
अर्थ

मल माग गर्दै रौतहटमा किसानहरूको ट्रयाक्टर प्रदर्शन

पहिलोचोटि नाम सुनिएको किसानको मोर्चाले रौतहटको सदरमुकाम गौरमा ट्रयाक्टर प्रदर्शन गरेका छन्। आइटी आर्मीसित सम्बन्धित किसान मोर्चाको आह्वानमा सयौँ ट्रयाक्टरले रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म बाइस किलोमिटर लामो प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी नेताहरुले रौतहटबाट अर्को किसान आन्दोलनको सुरुआत भएको बताएका छन्। वि.सं. २००९ मा रौतहटबाट ऐतिहासिक किसान आन्दोलनको सुरुआत भएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल किसान संघले रौतहटमा सुरु गरेको किसान आन्दोलन सर्लाहीदेखि पर्सासम्म फैलिएको थियो।

किसानका समसामयिक मागको उठान गर्दै रौतहटबाट पुनः किसान आन्दोलनको सुरुआत भएको नेताहरुले बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका नेताहरु उपेन्द्र साह, राजकिशोर यादव, त्रिभुवन साह तथा निवर्तमान प्रदेश साँसद कुन्दन कुशवाहाले र्यालीलाई सम्बोधन गर्दै किसानको माग पूरा गराउन आन्दोलनको सुरुआत भएको बताएका छन्।

भारतमा हालै भएको किसान आन्दोलनको शैलीमा गरिएको ट्रयाक्टर प्रदर्शनका सहभागीहरुले धानखेतीको लागि युरिया मलको व्यवस्था तत्काल हुनुपर्ने माग गरेका छन्। यसैगरी किसानलाई पेन्सनको व्यवस्था हुनुपर्ने, कृषि बीमा लागू हुनुपर्ने, पर्याप्त कृषि ऋण उपलब्ध गराउनु पर्ने, ट्रेक्टरमा लाग्ने सम्पूर्ण कर खारेज हुनुपर्ने जस्ता मागहरु किसानहरुको रहेको सहभागीहरुले बताएका छन्।

कार्यक्रमका सहभागीहरुले किसानहरुको माग सम्बोधन गराउन चरणबद्ध रुपमा विभिन्न किसिमका आन्दोलनहरु गर्ने तयारी गरेको पनि बताएका छन्। किसानहरु अनेक समस्याबाट ग्रसित रहेको भए पनि कुनै पनि सरकारले किसानको समस्या समाधानका लागि ध्यान नदिएको सहभागीहरुको गुनासो रहेको छ। किसानको समस्या समाधान नभएसम्म आन्दोलन नरोकिने कम्युनिष्ट नेताहरुले बताएका छन्। प्रदर्शनमा सहभागी किसानहरुले नेपाल कम्युनिष्ट पार्टीको हँसिया–हथौडा अंकित झन्डा बोकेका थिए।

यसअघि आइटी आर्मी नामको संगठनले प्रदेश दुईका विभिन्न जिल्लामा मोटरसाइकल र्याली प्रदर्शन गर्नुका साथै जिल्ला समिति पनि गठन गरेको छ। सोही आइटी आर्मीको किसान मोर्चा रहेको बताइएको छ।

प्रकाशित: २३ भाद्र २०७८ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App