८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

शीर्ष नेतालाई गाली गर्दै रेल्वे कम्पनीका महाप्रबन्धक

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजनीतिक दलका नेताहरूलाई सामाजिक सञ्जाल फेसबुकमा अशिष्ट रूपमा गालीगलौज गरेर स्टाटस लेखेका छन्।

सरकारले पदीय मर्यादा विपरीत काम गरेको भन्दै मंगलबार भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सरकारी पदमा बसेको व्यक्तिलाई तल्लो स्तरमा गएर स्टाटस लेख्ने अनुमति कानुनले नदिए पनि भट्टराईले यसको पालना गरेका छैनन्। अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका प्रियपात्र भट्टराईलाई ओली सरकारले जस्तो स्टाटस लेख्न पनि छुट दिएको थियो। भट्टराईले ओलीको विरोध गर्नेलाई तल्लो स्तरमा ओर्लेर लेख्छन्।

भट्टराईले बुधबार फेसबुकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्ष्य गरेर गालीगलौजको शैलीमा लेखेका छन्।

‘मलाइ स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रूपमा प्रचण्ड र माधव नेपालको भीषण दवाब रहेछ। गुरु भट्टराई देखेर तिन कान्ला हाम्फाल्नेहरूले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ?’ महाप्रबन्धक भट्टराईले फेसबुकमा लेखेका छन्, ‘म लाखौंको जागिर छोडेर ५० हजारको जागिर खान बाध्यताले आएको होला र ? त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो। मेरो आफ्नै व्यक्तिगत चाहना हैन।’ महाप्रबन्धक भट्टराईले फेसबुकमा नेपाल र प्रचण्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको आरोप लगाएका छन्।

‘माधव नेपाल र प्रचण्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको विपक्षमा जनहित र लोकतन्त्रको पक्षमा बोल्दा मेरो आचरण खराब भो ?’ उनले  फेसबुकमा प्रश्न गरेका छन्, ‘मैले त घोषित रूपमा भनेको हुँ, माधव नेपाल कहाँबाट चुनाव लड्छन, २ महिना म त्यहीँ बिताउनेवाला छु। मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाबकिताब गर्छु। त्यसपछि विपक्षी दलको सरकार बनाउन हिँड्ने यस्ता अराजनीतिक मान्छे कहाँ पुग्छन् प्रस्ट छ। म त घोषित रूपमा भन्दैछु– माकुने राजनीतिको क्यान्सर हो, काटेर फाल्न आवश्यक छ।’

पूर्वप्रधानमन्त्री ओलीले २०७७ जेठमा सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिँदै आएका इन्जिनियर गुरूप्रसाद भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले भट्टराईले नियुक्ति पाएका थिए।

प्रकाशित: २१ श्रावण २०७८ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App