विश्वव्यापी फैलिएको कोभिड–१९ पछि रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम भएको छ। वार्षिक २० हजारभन्दा बढीको संख्यामा पर्यटक आउने गरेकोमा कोभिड–१९ पछि थोरै मात्र पर्यटक आएका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा करिब ३ हजार पर्यटक मात्र जिल्ला भित्रिएका छन्।
निकुञ्जको तथ्यांक अनुसार २०७७ को साउनदेखि चैत मसान्तसम्म ३ हजार १ सय ४१ पर्यटक आएका छन्। जसमा २ हजार ९ सय ४१ नेपाली, १ सय ८२ विदेशी र १८ जना सार्क राष्ट्रका पर्यटक आएका छन्। निकुञ्जले स्वदेशी तथा विदेशी पर्यटकबाट ८ लाख १३ हजार १ सय रुपैयाँ राजस्व संकलन गरेको छ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पर्यटकको आगमन ठप्प भएको रसुवा होटल तथा पर्यटन व्यवसायी संघले जनाएको छ। जिल्लामा आउने पर्यटकको पहिलो रोजाइ लाङटाङ, दोस्रोमा गोसाइँकुण्ड र तेस्रोमा तामाङ सम्पदा मार्ग रहेका छन्। केही वर्ष पहिलेसम्म मेला पर्वको अवसरका मात्र पर्यटक भित्रने गरेका थिए।
अहिलेका युवा पुस्ता अन्य समयमा घुमफिर गर्न रुचाउने भएकाले हिउँ पर्ने समयबाहेक अन्य समयमा आउने गरेका छन्। तर पछिल्लो समय कोरोनाको कारण पर्यटकको आगमन बढ्न सकेको छैन। केही समय अघिसम्म स्वदेशी तथा विदेशी पर्यटक आइरहेका थिए।
सामूहिक रूपमा घुम्न मन पराउने युवाहरु न्यूनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका छन्। स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन्। आएका पर्यटक धार्मिकस्थल गोसाइँकुण्ड, तेस्रो गन्तव्यस्थल लाङटाङ ऐतिहासिकस्थल रसुवागढी, कालोगाउँको रूपले परिचित गत्लाङ र थुमनको नागथलीमा जाने स्वदेशी पर्यटक बढी पुग्ने गर्छन्।
पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल रहेका छन्। विश्व कै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन्। जिल्लामा साना–ठूला गरी डेड सयको हाराहारी होटल सञ्चालनमा रहेका छन्।
प्रकाशित: १४ वैशाख २०७८ १०:१० मंगलबार