८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

एउटै रेस्टुरेन्टमा १२ थरी मःमः

दुई युवाले मःमःका पारखीलाई एकै ठाउँमा १२ थरी मःमः उपलब्ध गराउने गरी रेस्टुरेन्ट खोलेका छन्। आग्रह अर्याल र सुनिम मैनालीले शनिबारबाट उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।  

विभिन्न प्रकारका मःमःको स्वाद पस्किन करिब ३० लाख रूपैयाँ लगानीमा यो रेस्टुरेन्ट सुरु गरेको अर्यालले बताए। ‘खाजाको रूपमा हाम्रो देशमा मःमः नै पहिलो प्राथमिकतामा छ,’ उनले भने, ‘मुलुकभरका प्रख्यात रेस्टुरेन्टमा मःमःको स्वाद बुझेर नयाँ परिकार पस्किन लागेका हौं।’

डिल्लीबजारस्थित पाँच सय वर्गफिट क्षेत्रफलको आउटलेटमा एकपटकमा २६ जनाले सेवा लिन सक्छन्। टेक अवे र होम डेलिभरी सेवा पनि लिन सक्ने अर्का सञ्चालक मैनालीले बताए। फूडमाण्डू डेलिभरी पार्टनरको रूपमा आवद्ध भएको छ।

सुरुआती चरणमा १५० रूपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्ने बताइएको छ।  

प्रत्येक परिकारमा तीन थरीको अचार/चटनी पाइने सञ्चालकको भनाइ छ। ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन्। रेस्टुरेन्टमा मःमः सँगै सफ्ट ड्रिंक्स, फ्रेन्च फ्राइ, चिकेन विङ्स लगायतको परिकार राखिएको छ।  

प्रकाशित: १२ वैशाख २०७८ ०४:२१ आइतबार

एउटै रेस्टुरेन्टमा १२ थरी मःमः