९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

कोरोना प्रभावित व्यवसायीलाई ८२ अर्ब पुनर्कर्जा

सरकारले कोरोना संक्रमण रोक्ने उद्देश्यले जारी गरेको लकडाउनका बेला बन्द रहेको काठमाडौंको एक सटरको तालालाई खिया लाग्नबाट जोगाउन व्यवसायीले अपनाएको उपाय । कोरोना महामारीले समस्यामा परेका व्यवसायीलाई सहायता प्रदान गर्न राष्ट्र बैंकले पुनर्कर्जाको व्यवस्था गरे

नेपाल राष्ट्र बैंकले पहिलो चरणमा कोरोना महामारीबाट समस्यामा परेका उद्योगी, व्यवसायीलाई ८२ अर्ब रूपैयाँ पुनर्कर्जा वितरण गरेको छ।

बैंक तथा वित्तीय संस्थाले ऋणीलाई ऋण प्रवाह गरेबापत राष्ट्र बैंकसँग कर्जामा लिने शोधभर्ना पुनर्कर्जा हो। राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई सहुलियत प्रदान गर्न पुनर्कर्जाको व्यवस्था गरेको छ। चार महिनामा उक्त रकम वितरण गरेको राष्ट्र बैंकले दोस्रो चरणमा पुनः पुनर्कर्जा वितरण गर्न अर्को सूचना सार्वजनिक गरेको छ। राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार दोस्रो चरणमा पुनर्कर्जा लिन चाहनेले यही माघ १५ सम्म आवदेन गर्न सक्नेछन्।  

पहिलो चरणमा राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ ५० अर्ब र ग्राहक मूल्यांकनका आधारमा ३२ अर्ब रूपैयाँ उपलब्ध गराएको हो। कोरोना भाइरसको महामारीले समस्यामा परेका व्यवसायीलाई सहायता प्रदान गर्न राष्ट्र बैंकले पुनर्कर्जा कोषको पाँच गुणासम्म उपलब्ध गराउने घोषणा गरेको छ। कोषमा ४२ अर्ब रूपैयाँ रहेकाले करिब दुई खर्ब रूपैयाँ पुनर्कर्जामा जानसक्ने भट्टले बताए। 

राष्ट्र बैंकका अनुसार वाणिज्य, विकास बैंक र वित्तीय संस्थाले कोरोनाबाट प्रभावित कर्जामा ब्याज सहुलियतका लागि पुनर्कर्जाको माग गर्न सक्नेछन्। कुन क्षेत्रका व्यवसायीले पुनर्कर्जा पाउने भन्नेबारे राष्ट्र बैंकले यसअघि नै निर्धारण गरिसकेको छ। राष्ट्र बैंक अधिकारीहरूका अनुसार पहिलो चरणमा वितरण गरिएको भन्दा केही बढी रकम पुनर्कर्जामा वितरण गर्ने लक्ष्य भए पनि एकातिर पर्याप्त माग नआएको र अर्कोतर्फ केही माग मापदण्ड विपरीत आउँदा अनुमानभन्दा कम रकम वितरण हुन पुगेको हो। माग गरिएको रकममध्ये करिब १९ अर्ब रूपैयाँ मापदण्ड विपरीत हुँदा त्यो रकम वितरण हुन नसकेको बताइएको छ।

यसअघि गरिएको आह्वानमा कम्तीमा ७० प्रतिशत कर्जा लघु, घरेलु तथा साना उद्योगमा जानुपर्ने सर्त तोकिएको थियो। अहिले भने त्यस्तो व्यवस्थालाई परिवर्तन गरेर ऋणीलाई अधिकतम मात्रामा समेट्ने व्यवस्था गरिएको छ।  

त्यस्तै अहिले बैंक तथा वित्तीय संस्थाले पुनर्कर्जाको लागि आवेदन गर्न पाउने अधिकतम सीमालाई पनि खुम्च्याइएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म पुनर्कर्जाका लागि आवेदन गर्न पाउँथे। अहिले यो सीमालाई २० प्रतिशतमा झारिएको छ। बैंकका प्रत्येक शाखाबाट पाँचजनाले पुनर्कर्जा पाउने सर्त भने दोस्रो चरणमा कायमै राखिएको छ। पुनर्कर्जाका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय संस्थालाई १ देखि ३ प्रतिशत ब्याजमा रकम दिन्छ। बैंक तथा वित्तीय संस्थाले सोही रकमलाई ३ देखि ५ प्रतिशतसम्मको ब्याजमा कर्जा लगानी गर्ने व्यवस्था मिलाइएको छ। कोरोना प्रभावितलाई पुनर्कर्जा दिने व्यवस्थाअनुरूप विभिन्न क्षेत्रलाई अति, मध्यम र न्यून प्रभावितमा वर्गीकरण गरिएको छ। अति प्रभावित व्यवसायमा ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज, स्पालाई राखिएको छ।  

त्यस्तै होटल, पर्यटक आवास, ग्रामीण पर्यटन, होमस्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष सम्बन्धित व्यवसाय पनि कोरोनाबाट अति प्रभावित हुन्। स्किइङ, ग्लाइडिङ, वाटर र्‍याफ्टिङ, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहणलाई पनि राष्ट्र बैंकले अति प्रभावित व्यवसायको सूचीमा वर्गीकरण गरेको छ।  

अति प्रभावित सूचीमा राखिएका अन्य व्यवसायमा गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केबलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस हुन्।

चलचित्र उत्पादन, वितरण, सिनेमा हल, स्वदेशमा वा विदेशमा रोजगारी गुमेका वा लेअफमा (कटौतीमा) परेका श्रमिकलाई पनि सोही समूहमा राखिएको छ। त्यस्तै मूलभुत रूपमा सडेर, गलेर जाने तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, कुखुरापालन, पशुपन्छी, मौरी तथा मत्स्यपालन, तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय र वैदेशिक रोजगार तथा शैक्षिक परामर्श सेवा प्रदायकलाई अति प्रभावित व्यवसायमा राखिएको छ। मध्यम प्रभावित समूहमा प्लास्टिक, फलाम, स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग, नीजि तथा आवासीय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रिस्कुल र चाइल्ड केयर छन्।

यात्रुबाहक स्थल, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी, सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानुनी, लेखा, इन्जिनियरिङ लगायतका परामर्श सेवालाई पनि कोरोनाबाट मध्यम प्रभावित समूहमा राखिएको छ।  

अस्पताल, क्लिनिक, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, हेल्थ वा फिट्नेस सेन्टर, भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण, वन तथा खनिजजन्य उद्योग पनि सोही समूहमा समेटिएका छन्। त्यस समूहमा राखिएका अन्यमा निर्माण व्यवसायी, औषधि उत्पादन, छपाइ, प्रकाशन तथा सञ्चार गृह, निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय छन्।  

राष्ट्र बैंकले कोरोनाबाट न्यून प्रभावित व्यवसायमा उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत् आयोजना, अनलाइन (इकमर्स) मा संलग्न व्यवसाय, खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योगलाई राखेको छ।  

त्यस्तै दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण, आयातजन्य व्यापार, पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय, औषधि बिक्री वितरण, विज्ञापन सेवा, इन्टरनेट, दूरसञ्चार सेवा प्रदायक कम्पनी, मदिरा तथा सूर्तिजन्य उद्योग व्यापार, व्यवसाय, ट्रक, ढुवानी व्यवसाय, सुनचाँदीका गहना तथा बहुमूल्य पत्थरसम्बन्धी व्यवसाय छन्।

प्रकाशित: २४ पुस २०७७ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App