पोखरा उद्योग वाणिज्य संघको ३३ औं अधिवेशन नजिकिदैं जाँदा अध्यक्षका प्रत्यासीहरु प्यानल घोषणा गर्दै अधिवेशनमा होमिएका छन् । अध्यक्षका प्रत्यासी विन्दु कोईराला सुवेदी तथा नारायण कोइरालाले आफ्नो प्यानल घोषणा गरेका हुन् ।
विन्दु अहिले उपाध्यक्ष हुन् । उनले स्वतन्त्र मार्फत प्यानल घोषणा गरिन् । अध्यक्षमा आफनो नाम उल्लेख गर्दै बरिष्ठ उपाध्यक्षमा भने पवनकुमार प्रजापतिलाई सर्वसम्मत दिने चर्चा छ । वाणिज्य तर्फको उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल, कोषाध्यक्षमा तारानाथ ढुंगाना र उपमहासचिवमा धर्मराज बास्तोलाको प्यानलसहित घोषणा गरिन् । यसैगरी सदस्यहरुमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तमसेवक कार्की सदस्य रहेको कोइरालाले बताइन् ।
अध्यक्षकी प्रत्यासी कोइरालाले १४ वर्षदेखि पोखरा उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गरेको जानकारी दिईन् । उनले उद्योग वाणिज्य संघको काममा विभिन्न तहमा रहेर सेवा गरेको भन्दै रोलक्रम अनुसार नै आफु अध्यक्ष हुनुपर्ने दावी गरिन् । उनले चुनावी नारा नै उद्योग व्यवसायीको रखवारी, नारी नेतृत्वको उम्मेदवारी तय गरेकी छन् । उम्मेदवारी घोषणासँगै प्यानलले १२ बुँदें प्रतिबद्धतापत्र समेत सार्वजनिक गरिएको छ ।
यसैगरी बर्तमान बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले दुईदिन अघि मात्रै आफ्नो प्यानल घोषणा गरेका थिए । बरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उपाध्यक्ष अन्तर्गत बाणिज्यतर्फ अर्जुन पोखरेल र उद्योगतर्फको उपाध्यक्ष चिनुकुमारी गुरुङ रहेकी छन् । महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशबबहादुर खत्रीको उम्मेदवारी सहितको प्यानल तयार भएको छ ।
सदस्यहरुमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला रहेका छन् । यसैगरी एशोसिएटतर्फ हरिहर सापकोटा र हर्कबहादुर अधिकारी रहेको प्यानल घोषणमा अध्यक्षका प्रत्यासी कोइरालाले सुनाए ।
यही पुस २४ र २५ गते हुने संघको अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र उपमहासचिवसहित पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार १० जना साधारण सदस्यका तर्फबाट,४ जना बस्तुगत,२ जना एसोसिएट र १ जनाले औद्योगिक सदस्यका तर्फबाट संघको कार्यसमितिमा प्रतिनिधित्व गर्नेछन् । संघमा विभिन्न ३ हजार १ सय सदस्य आवद्ध छन् ।
प्रकाशित: १६ पुस २०७७ ०९:३७ बिहीबार