लेखनाथ क्षेत्रका साना तालमा सहकारी संस्थामार्फत व्यावसायिक माछापालन सुरु गरिएको छ । केही सहकारीले आम्दानी लिईसकेका छन् । केही सहकारीले भने व्यावसायिक उत्पादनको लागि अग्रसर भएका छन् ।
कास्कीकै तेस्रो ठूलो ताल रुपामा व्यावसायिक माछापालन सुरु गरिएको दुईदशकभन्दा बढी समय वित्यो । त्यसैको सिको गर्दै अन्य तालमा पनि सहकारी माफर्त माछापालन सुरु गरिएको हो । खास्टे तथा न्युरेनी, दिपाङ, गुँदे, मैदीतालहरुमा सामूहिक माछापालन सुरु गरिएको हो । केही सहकारीले तीन वर्षदेखि तालमा माछाका भुरा छाडेर उत्पादन लिईसकेका छन् । केही सहकारीले भने उत्पादन लिने संघारमा अझै भईनसकेको जनाएका छन् ।
खास्टे र गुँदें तालबाट सहकारीले व्यावसायिक उत्पादन लिईसकेका छन् । २०७३ माघमा खास्टे कृषि तथा मत्स्य सहकारी संस्था दर्ता भई व्यावसायिक माछापालन सुरु गरिएको हो । एक महिनाको अवधिमा खास्टे तालबाट सहकारीले झण्डै ७० हजारको माछा बिक्री गरेको छ । ‘उत्पादनको हिसाबले केही कम हो । जुन हिसाबले हुनुपर्ने हो त्यस अनुरुप भएको छैन ।’ खास्टे कृषि तथा मत्स्य सहकारी संस्थाका व्यवस्थापक विशाल राजभाटले भने–‘१५३ केजी माछा एक महिनामा बिक्री गर्यौं ।’ उनका अनुसार तालमा ग्रासकार्प, कमन, रघु, नैनी, तिलपिया लगायतका माछा छन् । खास्टेको क्षेत्रफल ३ सय रोपनी छ ।
लेखनाथकै गुँदें तालमा पनि व्यावसायिक उत्पादन सुरु गरिएको छ । तालमा बढीजसो जालो भएकोले जाल थाप्न सहज नभएको गुँदे बातावरण संरक्षण तथा मत्स्य सहकारी संस्थाले जनाएको छ । ‘अर्को वर्षदेखि व्यावसायिक रुपमा माछाको उत्पादन हुन्छ । यो वर्ष पनि ट्रायलमा निकाल्यौं ।’ गुँदे बातावरण संरक्षण तथा मत्स्य सहकारीका संस्थाका अध्यक्ष बमबहादुर घर्तीले भने–‘एक वर्षको बीचमा १५० केजी झिक्यौं । ’ उनका अनुसार तालमा जालो भएको कारणले जाल हाल्न समस्या हुँदा माछाको स्थिती कस्तो छ थाहा पानै मुश्किल भएकोले पनि उत्पादन लिन ढिलाई हुन पुग्यो । तालको जालो हटाउन सहकारीले विशेष गरी कपन कार्प, सिल्भर कार्प, विग हेड, नैनी लगायतका माछाका भुराहरु तालमा छाड्दै गएको जनाएको छ । उनका अनुसार ६ केजीसम्मको माछा जालमा परेको थियो । गुँदे १६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
मैदी र दिपाङ तालमा भने सहकारीले व्यावसायिक सुरु गरेपनि उत्पादन भने लिईसकेका छैनन् । मैदी ताल संरक्षण तथा विकास समाजले भुरा छाड्दै आएको छ । तालको संरक्षण र सम्बद्र्धन गर्ने काम समाजले गर्ने छ भने कृषि तर्फ मैदी कृषि सहकारी संस्थाले हेर्ने छ । समाजले व्यावसायिक कृषिजन्य उत्पादनको लागि संस्थालाई हस्तान्तरण गरेपछि व्यावसायिक उत्पादन तर्फ विशेष जोड दिईने संस्थाका अध्यक्ष भरत न्यौपानले बताए । ‘गत वर्ष १० लाखको माछाका भुरा छाड्यौं । यो वर्ष ४ लाखको भुरा छाड्दै छौं’ उनले भने–‘एक/दुई वर्ष झिक्दैनौं । त्यसपछि व्यावसायिक रुपमा उत्पादन लिने सोचमा छौं ।’ कृषि सहकारी संस्था नै २०७६ साल माघ ९ गते दर्ता गरिएको हो । मैदी ताल ५३ हेक्टर क्षेत्रफलमा छ ।
दिपाङ तालमा पनि दिपाङ मत्स्य तथा कृषि सहकारी संस्थाले संरक्षण गर्दै माछाबाट आम्दानी लिईसकेको छ । ‘हरेक मंगलबार जाल थापेर बुधबार निकाल्छौं । गतवर्ष मात्रै साढे दुईलाखको माछा बिक्री गर्यौं ।’ संस्थाका अध्यक्ष रामजी लामिछानेले भने–‘५ लाखको माछाका भुरा छाड्यौं ।’ उनका अनुसार तालमा जेलिएको जालो सफा गर्दै तालको पानीको सतह बढाउँदै लगिएको छ । ६३८ रोपनी क्षेत्रफलको ताल १ हजार रोपनी क्षेत्रफल पुर्याउने लक्ष्य छ ।
चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो । झण्डै दुई महिना चैत ११ गतेदेखि लकडाडन सुरु भएको थियो । झण्डै दुई महिनापछि तालबाट माछा झिकेर बिक्री वितरण सुरु गरिएको रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले जनाएको छ । ‘एक महिनामा रुपातालबाट १५ लाख रुपैयाँ बराबरको बिक्री गर्यौ ।’ रुपाताल पुर्नस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले भने–‘दुई सिफ्टमा झिकिएको छ । कर्मचारीको अभावले पनि झिक्न सकिएको छैन ।’ रुपाताल १३५ हेक्टर क्षेत्रफलको छ ।
तत्कालिन लेखनाथ नगरपालिका हुँदा रुपा र बेगनास बाहेक अन्य ताल संरक्षणको पर्खाइमा थिए । पाँचवटा तालहरु संरक्षण गर्न सहकारी संस्था मार्फत संरक्षणको पहलकदमी भएपछि तालको मुहार फेरिदैं गएको छ ।
प्रकाशित: २५ असार २०७७ ०९:२२ बिहीबार