८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

तरकारीसँगै यात्रु ओसार्छन् व्यवसायी

दाङ, – भारतबाट तरकारी ढुवानी गर्ने गाडीहरुले यात्रु ओसार्न थालेका छन् । भारतमा अलपत्र परेका नागरिकलाई महँगो भाडा असुलेर तरकारी ढुवानी गर्ने गाडीले दाङ ल्याएको स्थानीय प्रशासनले जानकारी दिएको छ । 

यसले जिल्लामा कोरोना संक्रमणको त्रास बढाएको छ । तरकारी ढुवानी गर्ने गाडीले यात्रु ओसार्न थालेपछि तुलसीपुरमा दुइटा पसल बन्द गरिएको छ भने एउटा गाडी नियन्त्रणमा लिइएको छ । दुईजना पसल सञ्चालक, गाडीका चालक र सहचालकलाई आइसोलेसनमा राखिएको छ ।  

‘भारतबाट आयात हुने तरकारीमा कोरोना संक्रमणको खतरा रहेको भन्दै स्थानीयले विरोध गरेपछि दुइटा पसल बन्द गरिएका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी हरिहरनाथ योगीले भने । सरकारले भारतबाट तरकारी आयातमा प्रतिबन्ध लगाउने निर्णय भने गरेको छैन । तर पनि भारतमा कोरोना संक्रमण बढ्दै गएकोले उताबाट आउने तरकारीमा संक्रमणको जोखिम रहने भन्दै स्थानीयले भारतीय तरकारीमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । 

घोराहीमा पनि भारतबाट आयातित तरकारी बिक्री भइरहेको छ । लकडाउनका कारण घरघरमा तरकारी पु-याउँदै आएका केही व्यवसायीले पनि भारतबाट आयातित तरकारी बिक्री गरिरहेका छन् । 

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्द रिजालले भारतबाट आयात हुने तरकारीका गाडीमार्फत मानिससमेत आउने गरेको बताए । भारतबाट जिल्ला भित्रने तरकारी नेपालगन्ज र कृष्णनगर नाकाबाट आउँछ । ‘केही तरकारी व्यवसायीले महँगो भाडा लिएर यात्रुसमेत ओसार्ने गरेको पाइएको छ,’ प्रजिअ रिजालले भने, ‘यस्तो बदमासी गर्नेलाई हामीले उच्च निगरानीमा राखेका छौं ।’ 

अहिले सरकारले सबै नाका बन्द गरेर नागरिक आवतजावतमा प्रतिबन्ध लगाएको छ । यही मौका छोपी तरकारी ढुवानीका नाममा व्यवसायीले यात्रुबाट महँगो भाडा असुलेर ओसार्ने गरेको प्रजिअ रिजालले बताए । ‘चेकपोस्ट आएपछि मान्छे ओराल्ने,’ रिजालले भने, ‘अनि चेकपोस्ट कटेपछि तिनै मान्छेलाई गाडीमा हालेर ल्याउने चलाखी भएको छ ।’ भारतमा रहेका कैयौं नेपाली चेकपोस्ट छलेर लुकिछिपी वारि आइपुग्छन् । अनि यिनै तरकारी ढुवानी गर्ने गाडीले ओसार्ने गर्छन् ।

प्रकाशित: ५ वैशाख २०७७ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App